गणतन्त्र नेपालले पायो तेस्रो राष्ट्रपति, रामचन्द्र पौडेल सानदार मतभारसहित विजयी

बिहीबार, फागुन २५, २०७९
मयुर प्लाई

काठमाडौँ । नेपाली कांग्रेसका वरिष्ठ नेता एवं पूर्वसभामुख रामचन्द्र पौडेल राष्ट्रपतिमा निर्वाचित भएका छन् । मुलुकको तेस्रो राष्ट्रपतिका लागि आज भएको मतदानमा उनले प्रतिस्पर्धी एमालेका उपाध्यक्ष सुवासचन्द्र नेम्वाङलाई पराजित गरी निर्वाचित भएका हुन् । पौडेलले ‍३३ हजार ८ सय २ मतभार प्राप्त गरे । उनका प्रतिस्पर्धी नेम्बाङले १५ हजार ५ सय १८ मतभार प्राप्त गरे । 
राष्ट्रपति चुनावमा संघीय संसद्तर्फ ३१३ सांसद (२४ हजार ७ सय २७ मतभार) ले मतदान गरेका थिए भने प्रदेशतर्फ ५१८ (२४ हजार ८ सय ६४ मतभार) सांसदले मत दिएका थिए । चुनावी प्रक्रियामा सहभागी भएका सांसदहरुको कूल मतभार ४९ हजार ५ सय ९१ थियो । राष्ट्रपति निर्वाचित हुनका लागि २६ हजार ३ सय १५ आवश्यक पर्छ । राष्ट्रपति र उपराष्ट्रपति निर्वाचनमा संघीय सांसद र प्रदेश सभा सदस्यहरूको हाल कायम रहेको मतभार ५२ हजार ६ सय २८ थियो ।

20230309101452_RATL6025_11678345207.JPG
मतदानमा अनुपस्थित हुनेमा राप्रपाका १४ जना सांसद रहेका छन् । त्यस्तै नेमकिपाका प्रेम सुवाल पनि मतदानमा सहभागी भएनन् । त्यसैगरी माओवादी सांसद वर्षमान पुन र कांग्रेस सांसद चन्द्र भण्डाराी उपचारका लागि चीन र भारतमा छन् । त्यस्तै एमालेका फरार सांसद लक्ष्मी महतो कोइरी पनि मतदानमा सहभागी भएनन् । प्रदेशतर्फ पनि राप्रपाका २८ र नेमकिपाका ३ सांसद मतदानमा सहभागी भएनन् । त्यस्तै मधेश प्रदेशकी जसपा सांसद विन्दु यादव अनुस्थित थिइन् ।
२००१ साल असोज २९ गते तनहुँको ब्यासमा जन्मेका पौडेल आफ्नो ६३ वर्षे सक्रिय राजनीतिक यात्रा पार गर्दै राष्ट्रप्रमुख बनेका छन् । कांग्रेस पार्टीबाट छ दशक अनवरत प्रजातान्त्रिक आन्दोलनमा संलग्न रहेका पौडेल संवैधानिक राष्ट्रप्रमुखको रुपमा सबैको साझा भएर काम गर्ने जिम्मेवारीमा आइपुगेका छन् ।
पौडेल ६ पटक सांसद, ५ पटक मन्त्री र एकपटक प्रतिनिधिसभाको सभामुख बने । २०६६ सालमा प्रधानमन्त्री बन्नका लागि संसदमा १७ पटकसम्म चुनावी प्रतिस्पर्धामा भाग लिए पनि जित हासिल गर्न नसकेका पौडेल नौ दलीय सत्ता गठबन्धनले साझा उम्मेदवार बनाएपछि पहिलो प्रयासमै राष्ट्रपति बन्न सफल भए ।

20230309110621_RATL61641678345207.JPG
राष्ट्रपतिको निर्वाचनका लागि प्रतिनिधिसभा र राष्ट्रियसभा, र प्रदेशसभाका सदस्य मतदाता रहने व्यवस्था छ । राष्ट्रपति निर्वाचनमा सङ्घीय संसद्तर्फ तीन सय ३२ र प्रदेशसभा सदस्य पाँच सय ५० गरी कूल आठ सय ८२ मतदाता रहेका थिए । सङ्घीय सांसदको मतभार ७९ र प्रदेशसभा सदस्यको मतभार ४८ छ । निर्वाचनमा तीन सय १३ सङ्घीय सांसद र पाँच सय १८ प्रदेशसभा सदस्यले मतदान गरेका थिए । 
राष्ट्रपति पदको मतदानका लागि आज बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म मतदान भएको थियो । मतदानका लागि नयाँ वानेश्वरस्थित संसद् भवनको ल्होत्से कक्षमा सङ्घीय सांसद र प्रदेशसभा सदस्यका लागि बेग्लाबेग्लै मतदान केन्द्रमा कायम गरिएको थियो ।  

RS_KTM-_RATL6169(1)1678345210.jpg
 विसं २०६२–६३ को आन्दोलनको उपलब्धिका रुपमा मुलुकमा गणतन्त्र स्थापना भएसँगै राष्ट्रपति प्रणालीको अभ्यास सुरु भएको हो । राष्ट्रपतिको पदावधि निर्वाचित भएको मितिले पाँच वर्ष हुने र दुई पटक राष्ट्रपति निर्वाचित भइसकेको व्यक्ति निर्वाचनमा पुनः उम्मेदवार हुन नसक्ने संविधानमा उल्लेख छ ।

प्रकाशित मिति: बिहीबार, फागुन २५, २०७९  १७:१५
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार