आज राष्ट्रपति निर्वाचन, परिणाम पनि आजै

मतदान तथा मतगणना स्थल वरपर नौ सय प्रहरी परिचालन
बिहीबार, फागुन २५, २०७९

काठमाडौँ । आज मुलुकको सर्वाेच्च पद राष्ट्रपति चयनका लागि मतदान हुँदैछ । राष्ट्रपति चयनका लागि आज बिहान १० देखि दिउँसो ३ बजेसम्म मतदान तय गरिएको छ। राष्ट्रपति पदका लागि एमालेबाट सुवासचन्द्र नेम्वाङ र नौ दलीय गठबन्धबनबाट नेपाली कांग्रेसका रामचन्द्र पौडेलले उम्मेदवारी दिएका छन् । राष्ट्रपति निर्वाचनमा राष्ट्रियसभा, प्रतिनिधिसभा र प्रदेशसभाका सांसद मतदाता हुने संवैधानिक व्यवस्था छ । मतदान संघीय संसद् भवन नयाँ बानेश्वरमा हुनेछ ।

संसद भवन वरपर सुरक्षा व्यवस्था कडा
नेपाल प्रहरीले राष्ट्रपति निर्वाचनका लागि सुरक्षा व्यवस्था कडा बनाएको छ । जिल्ला प्रहरी परिसर काठमाडौंले मतदान केन्द्र, मतदाताको सुरक्षा, मतपेटिका, मतदान सामग्रीदेखि मतगणना स्थलको सुरक्षामा कुनै कमजोरी हुन नदिने तयारी गरेको छ ।
जिल्ला प्रहरी परिसर काठमाडौंले राष्ट्रपतिको निर्वाचनका लागि करिब ९ सय जना जनशक्ति परिचालन गरेको छ । मतदानमा बाधा अवरोध नहोस् भन्नका लागि नयाँ बानेश्वरको अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा प्रवेश गर्ने क्षेत्रमा पर्याप्त मात्रामा सिनियर अधिकारीको नेतृत्वमा सुरक्षाकर्मी खटाइएको छ ।
फरार सूचीमा रहेका मतदाताहरुलाई समेत निगरानी गरिने छ । ‘मतदान अगाडि सबै मतदाताको सहजीकरण गर्ने, उहाँहरुको बसोबासको क्षेत्रको सुरक्षा मिलाउने, मतपेटिकाको सुरक्षा, मतदान सामग्रीको सुरक्षा, लाइनको व्यवस्थापन, कुनै पनि प्रज्वलनशील पदार्थ तथा मोबाइल र क्यामेरा लान नदिनेगरी प्रबन्ध गरेका छौं । गोप्य मतदान हुने भएकाले फोटो खिच्न पाइँदैन’ प्रहरीले भनेको छ, ‘मतदान गरिसकेपछि पनि हलमा बसिरहन खोजे बाहिर निकालिनेछ । त्यहाँ फरार सूचीमा रहेका मतदाताहरुलाई निगरानी गरिनेछ । त्यस्ता व्यक्तिलाई जो जहाँ भेटिन्छ त्यहीबाट पक्राउ गरेर कानुनी दायरामा ल्याइनेछ ।’ मतदान तथा मतगणनामा एकैपटक एउटै पक्षको २ जना प्रतिनिधि बस्न दिइने छैन ।

प्रकाशित मिति: बिहीबार, फागुन २५, २०७९  ०३:३६
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार