दुर्गा प्रसाईको ‘कालोमोसो’ अभियान दस्ताका संयोजक चितवनबाट पक्राउ

बुधबार, फागुन २४, २०७९

काठमाडौँ । मेडिकल व्यवसायी दुर्गा प्रसाईको ‘कालोमोसो’ अभियान दस्ताका केन्द्रीय संयोजक शम्भु थापा चितवनबाट पक्राउ परेका छन् । थापालाई मंगलबार भरतपुरस्थित जिल्ला प्रशासन कार्यालय परिसरबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ।  बैंक तथा वित्तिय संस्थाविरुद्ध अफवाह फैल्याएको आरोपमा उनलाई पक्राउ गरिएको प्रहरी निरीक्षक सुवास भट्टले बताए । दुर्गा प्रसाई पछिल्लो समय बैंक तथा वित्तिय संस्थाको कर्जा नतिर्ने अभियान चलाइरहेका छन् । उनले फागुन १३ गते चितवनमा सभा गरेका थिए । 
त्यही कार्यक्रममा थापालाई कालोमोसो दस्ताको संयोजक घोषणा गरेका थिए । संयोजक थापाले पनि बैंक तथा वित्तिय संस्थाका प्रमुखहरुलाई मोसो दल्ने घोषणा गरेका थिए ।  कार्यक्रममा मोसो लेखिएका टिसर्टमा युवाहरु परिचालन पनि गरिएको थियो । दस्ताको धम्कीपछि बैंक तथा वित्तीय संस्थाले जिल्ला प्रशासन कार्यालय चितवनमा पुगेर ध्यानाकर्षण गराएका थिए । प्रहरीले बिहीबार म्याद थप गरेर थप अनुसन्धान अगाडि बढाउने तयारी गरेको छ । प्रसाईको धर्म, संस्कृति, राष्ट्र, राष्ट्रियता र नागरिक अभियानको चितवनका एक सदस्य मेघराज पौडेलले थापालाई पक्राउ गरिएको पुष्टि गरे । पक्राउ परेकाा थापालाई रिहा गर्न अभियानले आग्रह गरेको छ। 
 

प्रकाशित मिति: बुधबार, फागुन २४, २०७९  ११:५४
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार