काठमाडौंसहित मुलुकका अधिकांश पहाडी भेगमा वर्षा

बुधबार, फागुन २४, २०७९

काठमाडौँ । अहिले काठमाडौं उपत्यकासहित देशभरका पहाडी भूभागमा वर्षा भइरहेको छ । बुधबार बिहानैदेखि काठमाडौंसहित देशभरका पहाडी भूभागमा वर्षा हुँदा जनजीवन सामान्य प्रभावित बनेको हो ।
पश्चिमी वायुको सामान्य प्रभावका कारण वर्षा भएको हो । हाल सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश, लुम्बिनी प्रदेश र गण्डकी प्रदेश लगायत देशको पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।
बुधबार दिउँसो देशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहनेछ । देशका पहाडी भू–भागका थोरै स्थानहरुमा मेघ गर्जन-चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । वर्षाका कारण जनजीवन प्रभावित हुनुका साथै मौसम सफा नहुँदा आन्तरिक उडानसमेत प्रभावित बनेको छ । 
अहिले देशभरकै मौसम बदली भएको मौसमविद् बरुण पौडेलले जानकारी दिए । आज काठमाडौँमा बिहान ८ः४५ मिनेटसम्ममा ० दशमलव दुई मिलिमिटर वर्षा भएको छ ।
डोल्पा, हुम्लामा हिमपात भइरहेको, सर्लाहीलगायतका जिल्लामा अहिले हल्का वर्षा भइरहेको र देशका धेरै ठाउँमा बादल लागेको छ ।  आज पहाडी क्षेत्रका केही ठाउँमा आज मेघगर्जनसहित चट्याङ पर्ने अनुमान गरिएको छ । आज राति पनि पहाडी क्षेत्रको मौसम आंशिकदेखि सामान्य बदली हुने अनुमान छ । राति कोसी र गण्डकी प्रदेशका पहाडी क्षेत्रका एक–दुई ठाउँमा मेघ गर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ ।
यसैगरी कोसी, गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली क्षेत्रका एक–दुई ठाउँमा हल्का हिमपातको सम्भावना रहेको छ । 
भोलि पनि पहाडी क्षेत्रका केही ठाउँमा मेघगर्जन र चट्याङसहित हल्का पानी पर्ने र हिमाली क्षेत्रका एक दुई ठाउँमा हिमपात हुने सम्भावना छ । 

प्रकाशित मिति: बुधबार, फागुन २४, २०७९  ११:५०
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार