राष्ट्रपति निर्वाचन तयारीबारे गठबन्धनमा छलफल

भोलि बिहानसम्म काठमाडौं आइपुग्न सांसदहरुलाई आठ दलको निर्देशन 

मंगलबार, फागुन २३, २०७९

काठमाडौँ । आठ दलीय गठबन्धनले प्रतिनिधिसभा र राष्ट्रियसभाका सांसद तथा सबै प्रदेशसभा सदस्यलाई भोलि (फागुन २४ गते) बिहान ११ बजेसम्म काठमाडौँ आइपुग्न निर्देशन दिएका छन् । 
राष्ट्रपति निर्वाचनका मतदाता सांसदहरुलाई आठ दलीय गठबन्धनले यस्तो निर्देशन दिँदै मत बदर रोक्न सबै दलले आफ्ना सांसदलाई प्रशिक्षण दिने पनि निर्णय गरेका छन् । 
आठ दलीय गठबन्धनको आज बसेको बैठकले राष्ट्रपति पदको निर्वाचनबारेको छलफलमा शतप्रतिशत मत खसाल्नका लागि प्रयास गर्नेलगायत विषयमा छलफल गरेको थियो । 
नेपाली कांग्रेस संसदीय दलको कार्यालय, सिंहदरबारमा बसेको बैठकमा निर्वाचनको तयारीलगायत समसामयिक राजनीतिक विषयमा छलफल भएको हो ।
बैठकमा पर्सि बिहीबार (फागुन २५ गते) हुने राष्ट्रपतिको निर्वाचन परिचालनसँग जोडिएका विषयमा छलफल भएको कांग्रेस उपसभापति एवं कार्यदल संयोजक पूर्णबहादुर खड्काले जानकारी दिए । बैठकमा निर्वाचनमा राजनीतिक दलले गर्नुपर्ने प्राविधिक तयारीलगायत विषयमा समेत छलफल भएको उनको भनाइ छ ।
आठ दलीय गठबन्धनले आफ्ना साझा उम्मेदवार पूर्वसभामुख रामचन्द्र पौडेललाई विजयी गराउन यसअघि केन्द्र र सबै प्रदेशमा अभिुमुखीकरण कार्यक्रम सम्पन्न गरिसकेको छ । कांग्रेस उपसभापति खड्का संयोजकत्वको कार्यदलमा नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी नेपाल, लोकतान्त्रिक समाजवादी पार्टी नेपाल, नागरिक उन्मुक्ति पार्टी, जनमत पार्टी, राष्ट्रिय जनमोर्चाका नेताहरू सदस्य छन् । 
 

प्रकाशित मिति: मंगलबार, फागुन २३, २०७९  १७:४०
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार