सोसल मिडिया
Contact Us
युनिकोड
राष्ट्रपति निर्वाचनबारे सांसदलाई एमालेको अभिमुखीकरण काठमाडौँ । एमाले०का अध्यक्ष केपी शर्मा ओलीले संक्रमणकालीन न्यायसम्बन्धी कानुन टुङ्ग्याउन माओवादी केन्द्रबाधक बनेको आरोप लगाएका छन् । राष्ट्रपति पदको निर्वाचनका विषयमा शनिबार ललितपुरको च्यासलस्थित पार्टी मुख्यालयमा आयोजित सांसद प्रशिक्षण कार्यक्रममा ओलीले आफू प्रधानमन्त्री हुँदा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई संक्रमणकालीन न्यायसम्बन्धी कानुन टुङ्ग्याउनका लागि बारम्बार भन्दा पनि ऐन, कानुन बनाउन नदिएको आरोप लगाए । उनले बेपत्ता छानबिन तथा सत्य निरुपणसम्बन्धी आयोगलाई काम गर्न पनि माओवादीकै मान्छेहरुले व्यवधान खडा गरेको जिकिर गरे । ओलीले शान्तिप्रक्रियालाई अविलम्व टुङ्गाउनुपर्ने एमालेको धारणा रहेको भन्दै यस विषयलाई गम्भीरतापूर्वक लिन प्रधानमन्त्री प्रचण्डलाई सुझाव दिए । प्रशिक्षण कार्यक्रममा ओलीले पुस १० गते भएको सहमति तोड्दै राष्ट्रिय छलफलको कुरा गरेर प्रचण्डले छलि कुरा गरेको आरोप लगाए । अहिले पाइला पाइलामा संविधान मिच्नेहरुले नै संविधानमाथि खतरा भयो भन्दै वक्तव्यबाजी गरिरहेको टिप्पणी ओलीले गरे । राष्ट्रपतिका उमेदवार रामचन्द्र पौडेल सभामुख हुँदा सांसदको अधिकार खोसेको भन्दै ओलीले व्यक्तिगतरुपमा सम्मान गरे पनि सभामुखका रुपमा कामै नलाग्ने र राष्ट्रपतिका रुपमा सोच्नै नसकिने पात्र भएको तर्क गरे । ओलीले अहिले सरकारमा भएका दल र नेताहरु सत्तास्वार्थका लागि राष्ट्रिय हितविपरीत काम गरिरहेको भन्दै यसलाई एमालेले रोक्ने बताए । एमाले देश र जनताका साथै संविधानप्रति प्रतिवद्ध रहेकाले कुनै पनि भ्रममा नपर्न आफ्ना सांसदहरुलाई ओलीले आग्रह गरे । अभिमुखीकरण कार्यक्रममा एमाले अध्यक्ष केपी शर्मा ओलीले एमालेका तर्फबाट राष्ट्रपतिका उम्मेदवार बनेका सुवासचन्द्र नेम्वाङलाई जिताउन पार्टीले लिएको रणनीति, विपक्षी पार्टीका मतदाता तान्ने रणनीति र वर्तमान राजनीतिक अवस्थाका बारेमा जानकारी गराएका थिए । उनले राष्ट्रपतिको निर्वाचनमा एमालेका तर्फबाट उम्मेदवार बनेका सुवासचन्द्र नेम्वाङको जित सुनिश्चित भएको बताए । उनले लोकतन्त्रको रक्षा गर्नका लागि सबै राजनीतिक दलसँग एमालेले सहकार्य गर्ने बताए । राष्ट्रपतिका उम्मेदवार नेम्वाङले आफूलाई राष्ट्रपतिमा निर्वाचित भए पनि पहिलो दायित्व संविधानको रक्षा गर्ने बताए । अभिमुखीकरण कार्यक्रममा उपाध्यक्ष विष्णुप्रसाद पौडेल, महासचिव शङ्कर पोखरेल, उपमहासचिव पृथ्वीसुब्बा गुरुङ, सचिवद्वय गोकर्ण विष्ट, छविलाल विश्वकर्मा, टोपबहादुर रायमाझी लगायतको नेताहरूको सहभागी थियो । एमालेले राष्ट्रपतिमा नेम्वाङलाई उम्मेदवार बनाएको छ भने नेपाली कांग्रेसले वरिष्ठ नेता रामचन्द्र पौडेललाई उम्मेदवार बनाएको छ । राष्ट्रपतिको निर्वाचन यही फागुन २५ गते हुँदैछ ।