सुदूरपश्चिम प्रदेशसभाबाट भोलि मुख्यमन्त्रीले विश्वासको मत लिँदै

शनिबार, फागुन २०, २०७९
मयुर प्लाई

काठमाडौं । मुख्यमन्त्री कमलबहादुर शाहले भोलि सुदूरपश्चिम प्रदेशसभामा विश्वासको मत लिँदै छन् । प्रदेशसभा सचिवालयले जारी गरेको सूचनामा फागुन २१ गते अपराह्न १ बजे बस्ने बैठकमा मुख्यमन्त्री शाहले विश्वासको मत लिने कार्यसूची उल्लेख छ ।
विश्वासको मतका लागि मुख्यमन्त्री शाहले दलका शीर्ष नेतृत्वदेखि सत्ता साझेदार दल नेकपा (एकीकृत समाजवादी), नेकपा (माओवादी केन्द्र) र नागरिक उन्मुक्ति पार्टीसँग भेटघाट एवं छलफललाई तीव्रता दिएका छन् ।  केन्द्रमा बनेको दलको समीकरणका कारण मुख्यमन्त्री शाहले प्रदेशसभाबाट विश्वासको मत पाउने आशा गरेका छन् । 
नयाँ समीकरणअनुसार मुख्यमन्त्रीले प्रदेशसभामा कांग्रेसका १९, माओवादी केन्द्रका सभामुखबाहेक १०, नागरिक उन्मुक्ति पार्टीका सात, एकीकृत समाजवादीका चार सदस्यसहित ४० सदस्यको विश्वासको मत पाउने देखिएको छ । 
संविधानको धारा १६८ (३) बमोजिम गएको माघ २६ गते कांग्रेस संसदीय दलका नेता शाह मुख्यमन्त्रीमा नियुक्त भएका थिए । संविधानअनुसार उनले फागुन २६ गतेभित्र विश्वासको मत लिइसक्नुपर्छ ।  त्रिपन्न सदस्यीय सुदूरपश्चिम प्रदेशसभामा उनलाई विश्वासको मत पाउन २७ सदस्यको समर्थन आवश्यक पर्छ । प्रदेशसभामा अन्य दलमा नेकपा (एमाले) का १०, राष्ट्रिय प्रजातन्त्र पार्टीका एक र स्वतन्त्र एक सदस्य रहेका छन् । 
गत मङ्सिरको चुनाव लगत्तै मुख्यमन्त्रीमा नियुक्त एमाले संसदीय दलका नेता राजेन्द्रसिंह रावलले तोकिएको समयभित्र प्रदेशसभामा विश्वासको मत पाउन असफल भएपछि पदबाट राजीनामा दिएका थिए । 
एमाले, माओवादी केन्द्र, नागरिक उन्मुक्ति, राप्रपाका गरी बहुमत सदस्यको समर्थनमा रावल मुख्यमन्त्री नियुक्त भएका थिए । विश्वासको मत लिने बेला भने नागरिक उन्मुक्तिले विश्वासको मत दिन नमानेपछि रावल पदमुक्त भएका थिए । 

प्रकाशित मिति: शनिबार, फागुन २०, २०७९  ०७:४७
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार