बैंक तथा वित्तीय संस्थाविरुद्धको आन्दोलनमा कडा निगरानी राख्न गृहको निर्देशन 

शनिबार, फागुन २०, २०७९

काठमाडौँ । गृह मन्त्रालयले बैंक तथा वित्तीय संस्थाविरुद्ध हुने गैरकानूनी गतिविधि रोक्न जिल्ला प्रशासन कार्यालयलाई निर्देशन दिएको छ । झापाका दुर्गा प्रसाईंले बैंक तथा वित्तीय संस्थाहरुका अधिकारीलाई ऋणको सावा ब्याज माग्न अउँदा कालोमोसो दल्ने अभियान घोषणा गरेपछि गृह मन्त्रालयले  जिल्ला प्रशासन कार्यालयहरुलाई यस्तो निर्देशन दिएको हो । फागुन १ गते मेडिकल व्यावसायी दुर्गा प्रसाईंले झापामा पूर्व राजा ज्ञानेन्द्र तथा उनका परिवारका सदस्यहरुलाई उपस्थित गराई फागुन २० गतेबाट बैंक तथा वित्तीय संस्था विरुद्ध आन्दोलन गर्ने घोषणा गरेका थिए । उनको घोषणामा अधिकारीहरुलाई कालोमोसो दल्ने कार्यक्रमलाई प्राथमिकतासाथ राखिएको थियो । घोषणा आजदेखि काठमाडौंबाट सुरु गर्ने त्यति बेला नै जानकारी गराइएको थियो ।  यसै सन्दर्भमा गृह मन्त्रालयले मातहतका निकायहरुलाई निगरानी तथा कडाई गर्न निर्देशन दिएको हो । 
गृहसचिव विनोदप्रकाश सिंहले कतिपय ठाउँमा वित्तीय संस्थाका प्रतिनिधिलाई कालोमोसोसमेत दलेका घटना सार्वजनिक भएकाले यस्ता अवैध गतिविधि रोक्न निर्देशन दिइएको बताए । 
“त्यस्ता गतिविधि हुन नदिन र आवश्यक निगरानी बढाउन निर्देश गरिएको छ”, गृहसचिव सिंहले भने, “गृह प्रशासनको काम शान्ति सुरक्षा कायम गर्नु हो र निर्वाधरूपमा सेवा गर्ने वातावरण दिनु हो, सोहीअनुसारको निर्देशन गएको छ ।” पछिल्लो समयमा बैंक तथा वित्तीय संस्था र लघुवित्तविरुद्ध व्यावसायी तथा ऋणिहरुले आन्दोलन सुरु गरेका छन् । बैंक तथा वित्तीय संस्थाका कर्मचारीमाथि कालोमोसो दलिएको घटना सार्वजनिक पनि हुन थालेका छन् । 

प्रकाशित मिति: शनिबार, फागुन २०, २०७९  ०७:१५
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार