उपरथी प्रेम शाहीलाई नेपाली सेनाले बर्खास्त गर्‍यो

बिहीबार, फागुन १८, २०७९

काठमाडौँ । आर्थिक अनियमितता गरेको आरोपमा नेपाली सेनाले उपरथी प्रेमप्रकाश शाहीलाई बर्खास्त गरेको छ ।  अनियमिता आरोपमा छानबिन सकेपछि सैनिक अदालतले उनलाई बिहीबारदेखि लागु हुने गरी सेवाबाटै बर्खास्त गर्ने निर्णय सुनाएको हो । 
सेनाले अनियमितता आरोपमा शाहीविरुद्ध अदालती प्रक्रिया सुरु गरेको थियो । उक्त प्रकरणमा कोर्ट मार्सलले दोषी ठहर गर्दै शाहीलाई बर्खास्त गर्ने निर्णय लिएको हो । 
सैनिक प्रवक्ता कृष्णप्रसाद भण्डारीले शाहीलाई भविष्यमा सरकारी सेवामा अयोग्य नहुने गरी फैसला भएको बताए । अनियमितता भएको ठहरसहित सैनिक अदालतले बिगो भराउने पनि निर्णय लिएको छ ।
भण्डारीका अनुसार यही प्रकरणमा पक्राउ परेका अन्य दुईजना कर्णेललाई पनि कारबाही अघि बढाउने निर्णय भएको छ ।
शाहीले अनियमितता गरेको ठहर कोर्ट अफ इन्क्वाइरी (अनुसन्धान समिति)ले निष्कर्ष निकालेपछि दुईजना कर्णेल बुधबार समातिएका थिए ।
कोर्ट अफ इन्क्वाइरीको प्रतिवेदनपछि सैनिक मुख्यालयले शाहीविरुद्ध आइतबार कोर्ट मार्सल (सैनिक अदालत) गठन गरेको थियो ।
सैनिक मुख्यालयले शाहीसँगै अनियमिततामा जोडिएको जनाउँदै महासेनानी महेन्द्र शाह र प्रमुख सेनानी कुलदीप तिम्सिनालाई पक्राउ गरेर अनुसन्धान थालेको थियो । उनीहरुलाई सेवाबाट बर्खास्तको निर्णय भएको छैन ।
शाहीबारे छानबिनका लागि सिनियर उपरथीको नेतृत्वमा कोर्ट मार्सल गठन गरिएको थियो ।
शाहीमाथि सेनाले आर्थिक अनियमितताको आरोपमा कारबाही अगाडि बढाएको थियो ।
प्रारम्भिक अनुसन्धानमा दोषी रहेको ठहरपछि अदालती प्रक्रिया थालिएको थियो । उक्त अदालती प्रक्रियाबाट शाहीलाई दोषी मानेर संगठनबाटै निकालिएको हो ।

प्रकाशित मिति: बिहीबार, फागुन १८, २०७९  २०:३९
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार