सोसल मिडिया
Contact Us
युनिकोड
काठमाडौँ । सत्तारुढ आठ दलीय गठबन्धनका संघीय सांसदहरूका लागि आज अभिमुखीकरण कार्यक्रम आयोजना हुँदै छ। राष्ट्रपति निर्वाचनलाई लक्षित गर्दै नेपाली कांग्रेसको संयोजन र व्यवस्थापनमा आठ दलीय गठबन्धनले बिहीबार अभिमुखीकरण कार्यक्रम गर्न लागेको हो । दिउँसो १ बजे तीनकुनेस्थित रोयल ब्याङ्क्वेटमा कांग्रेस, माओवादी केन्द्र, जनता समाजवादी पार्टी (जसपा), नेकपा (एकीकृत समाजवादी), लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा), जनमत पार्टी, राष्ट्रिय जनमोर्चा र नागरिक उन्मुक्ति पार्टीका सांसदका लागि अभिमुखीकरण कार्यक्रम गरिने तय भएको हो । कार्यक्रममा राष्ट्रियसभा र प्रतिनिधिसभा सदस्यहरूलाई बोलाइएको छ । कार्यक्रममा आठ दलका शीर्ष नेताहरूले सम्बोधन गर्ने छन् । आगामी २५ फागुनमा हुने राष्ट्रपति निर्वाचनलाई लक्षित गरेर यसअघि नै अभिमुखीकरण कार्यक्रम तय गरिएको थियो । फागुन २४ गते संघ र प्रदेशका सबै सांसदहरुको बृहत् भेला गर्ने र भेलालाई आठ दलका शीर्ष नेताहरुले सम्बोधन गर्ने निर्णय पनि भएको छ। राष्ट्रपति निर्वाचनमा आठ दलीय गठबन्धनबाट नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल साझा उमेदवार छन् । नेकपा एमालेले उपाध्यक्ष सुवास नेम्वाङलाई उठाएको छ । निर्वाचनका संघीय संसदमा हाल कायम रहेका ३३२ र प्रदेशसभाका ५५० गरी कुल ८८२ मतदाता छन् ।
राष्ट्रपतिमा भोट माग्न नेकपा एसको कार्यालय पुगे नेम्वाङ राष्ट्रपतिमा पार्टीका उम्मेदवारलाई भोट माग्दै एमाले नेताहरू नेकपा एकीकृत समाजवादीको कार्यालयमा पुगेका छन् । राष्ट्रपतिका उम्मेदवार सुवासचन्द्र नेम्वाङ, एमाले उपाध्यक्ष विष्णु पौडेल, प्रवक्ता एवं उपमहासचिव पृथ्वीसुब्बा गुरुङलगायतका नेता नेकपा एसका अध्यक्ष माधवकुमार नेपाललाई भेट्न आलोकनगरस्थित पार्टी कार्यालय पुगेका हुन् । नेकपा एकीकृत समाजवादीले भने कांग्रेसबाट उम्मेदवार रहेका रामचन्द्र पौडेललाई समर्थन गरेको छ । नेकपा एसको बुधबारको सचिवालय बैठकले पौडेललाई भोट हाल्ने निर्णय गरेको छ । एमाले नेताहरुले आजै १ बजे राष्ट्रिय स्वतन्त्र पार्टीका नेताहरूसँग भेट गर्ने तालिका छ । यस्तै आजै दिउँसो साढे २ राष्ट्रिय प्रजातन्त्र पार्टीका नेताहरूलाई भेटेर भोट माग्ने नेताहरूले बताएका छन् ।