कोरोना प्रभावित नौ सय ४३ ले पाए ललितपुर महानगरबाट आर्थिक सहयोग

कागजात नपुगेका ८० जनालाई कागजजात पुर्‍याएर आउन अनुरोध
बुधबार, फागुन १७, २०७९

ललितपुर । कोरोनाका कारण प्रभावित नौ सय ४३ जनाले ललितपुर महानगरबाट राहत स्वरुप आर्थिक सहयोग प्राप्त गरेका छन् । आर्थिक सहयोगका लागि एक हजार २३ निवेदन दर्ता भएको थियो । आवश्यक कागजपत्र नपुगेका कारण ८० जनाले सहयोग पाएका छैनन् । कोरोना उपचार तथा राहत अन्तर्गत आर्थिक सहयोग वापत ६ करोड एकहत्तर लाख दश हजार प्रदान गरिएको कोरोना उपचार तथा राहत सहयोग सम्बन्धी प्रतिवेदनमा उल्लेख छ । महानगरले महानगरमा स्थायी बसोबास गर्नेलाई राहत स्वरुप आर्थिक सहयोग दिएको थियो ।

महानगरीय विपद् व्यवस्थापन समितिको मंगलबार बसेको बैठकमा नगर प्रमुख चिरीबाबु महर्जनले कागजात नपुगेकालाई कागजात पुर्‍याएर आउन १५ दिनको सूचना गर्ने बताए । उनले भने, ‘सूचना जारी गरौं, तोकिएको अवधिभित्र कागज पुगे, उहाँहरुले पाउनुहुन्छ, हामीले अन्याय गरेको ठहरिदैंन, उहाँहरुको विषयलाई अन्डर टेक गरेको ठहरिदैंन ।’ उक्त समितिको संयोजक महानगर प्रमुख हुने व्यवस्था छ । कोरोना राहत वापतको आर्थिक सहयोग बन्द गर्ने निर्णय बैठकले गरेको छ । नगरप्रमुख महर्जनले भने, ‘अहिले कोरोनो केस छैन, भविष्यमा यस्तो शीर्षकमा सहयोग गर्न नपरोस् , अब यो सहयोगलाई यही टुङ्ग्याएका छौं ’ कोरोना राहत सहयोग सम्बन्धी कार्यविधिमा समितिको बैठकले सहयोगलाई निरन्तरता नदिने विषयमा निर्णय गर्नुपर्ने उल्लेख छ ।

lm1677648063.jpg

कोरोनाका कारण मृत्यु भएका ३ सय ९२ लाई प्रति मृतक एक लाख २० हजार दिइएको छ । आइसियू र सिसियूमा बसेर उपचार गरी फर्केकालाई जनही ६० हजार प्रदान गरिएको छ । कोरोनाका कारण बिरामी भई उपचारका लागि अस्पताल गएकालाई ३० हजार वा त्यसो भन्दा कम (बिलको आधारमा) दिइएको प्रतिवेदनमा उल्लेख छ । समितिको बैठकमा समितिका सदस्य सचिव वरिष्ठ इन्जिनियर हरिश्चन्द्र लामिछानेले प्रतिवेदन पेश गरेका थिए । ललितपुर महानगरले कोरोना प्रभावितलाई आर्थिक सहयोग प्रदान गर्न कार्यविधि तयार पारेको थियो । उक्त कार्यविधिमा २०७८ साउन १ गतेदखि राहत स्वरुप आर्थिक सहयोग दिने उल्लेख छ । उप प्रमुखको संयोजकत्वमा गठित समितिले सहयोगका लागि दिइएको निवेदन उपर छलफल गरी नगर प्रमुखको पेश गरेको थियो ।

 

प्रकाशित मिति: बुधबार, फागुन १७, २०७९  १६:३४
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार