प्रदेश १ को प्रदेशसभा बैठक बस्दै, प्रदेशको नाम टुंगो लगाउने दलहरुको तयारी

बुधबार, फागुन १७, २०७९

मोरङ । प्रदेश १ को प्रदेशसभा बैठक आज बस्दैछ । आजको बैठकमा प्रदेशको नामकरणको विषय प्रवेश गराउने तयारी गरिएको छ ।
मुलुकका सात प्रदेशमध्ये प्रदेश १ ले अहिलेसम्म नामकरण गर्न सकेको छैन । प्रदेशसभामा प्रतिनिधित्व गर्ने दलहरुबीच सहमति जुट्न नसक्दा प्रदेश १ ले हालसम्म स्थायी नाम पाउन सकेको छैन ।
प्रदेशसभाको पहिलो कार्यकालमा नाम जुराउन नसकेको भनेर आलोचना हुँदै आएकोमा दोस्रो कार्यकालको प्रदेशसभाको पहिलो अधिवेशनबाटै नाम टुंगो लगाउन लागिएको हो । त्यसका लागि बिहान १० बजे सर्वदलीय बैठक बस्ने जानकारी दिइएको छ । उक्त बैठकमा छलफलपछि प्रदेशसभामा प्रक्रियाका लागि नाम प्रवेश गराउने दलहरुको तयारी छ ।
अघिल्लो कार्यकालमा दलहरुबीच पटक पटक छलफल भएपनि नाम टुंगिन सकेको थिएन । भूगोल र पहिचानको आधारमा प्रदेशको नामकरण हुनु पर्नेमा अधिकांश दल सहमत छन् । तर, तीनै दलबाट आएका विभिन्न नामको प्रस्तावमा सहमति जुट्न नसक्दा प्रदेशसभाको अघिल्लो कार्यकाल त्यतिकै बितेको थियो।
लिम्बुवान, खम्बुवान, किरात, कोचिला, कोसी, सगरमाथामध्ये कुनै एउटा नाम राखिनु पर्ने दलहरुले प्रस्ताव गरेका छन् । प्रस्ताव गरिएका यी नाममध्ये एउटामा सबै दल सहमत हुन नसक्दा प्रदेश १ को नामकरण विवादमै अझिल्दै आएको छ ।

प्रकाशित मिति: बुधबार, फागुन १७, २०७९  ११:२३
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार