देउवाले ओलीलाई पत्र लेख्दै राष्ट्रपतिमा रामचन्द्र पौडेलका लागि मागे भोट

मंगलबार, फागुन १६, २०७९

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पत्र लेख्दै राष्ट्रपति निर्वाचनका लागि मत मागेका छन् । देउवाले राष्ट्रपति पदमा रामचन्द्र पौडेललाई विजयी गराउन उपयुक्त हुने भन्दै ओलीसँग मत मागेका हुन् । ‘राष्ट्रपति केबल एउटा पद नभएर स्वयं आफैंमा उच्च गरिमायुक्त संस्था हो भन्ने हामी जान्दछौं । यस्तो संस्थाको नेतृत्व चयन गरिरहँदा सम्भव भएसम्म वृहत्तर सहमति निर्माण हुनसकोस् भन्ने आम अपेक्षा हुन्छ भने सहमति हुन नसक्दा प्रतिस्पर्धामा आवेगमुक्त सु–संस्कृत अभ्यासको खोजी हुन्छ,’ देउवाले ओलीलाई लेखेको पत्रमा भनेका छन्, ‘विमतिबीच पनि सहमतिको प्रयास अनि प्रतिस्पर्धाबीच पनि आपसमा मत माग्ने संस्कृति हाम्रो विशिष्ट पहिचान रहिआएको छ। यही पृष्ठभूमिमा माननीय पौडेलका लागि राष्ट्रपतिमा तपाईं समेतसँग मत माग्नु र विमतिबीचको प्रतिस्पर्धामा पनि हार्दिकता प्रकट गर्नु आफ्नो कर्तव्य ठानेको छु ।’
राष्ट्रपतिका उम्मेदवार पौडेल सालिन, बौद्धिक र सु–संस्कृत छविका व्यक्तित्व भएको चर्चा गर्दै देउवाले पत्रमा भनेका छन्, ‘पौडेल लोकतान्त्रिक आन्दोलनका एक अग्रज व्यक्तित्व त हुनुहुन्छ नै संविधानप्रदत्त संवैधानिक दायित्व राजनीतिक आग्रहहरुभन्दा पर रहेर निभाउन सक्ने सबल व्यक्तित्व हुनुहुन्छ।’ 
देउवाले संविधानको रक्षा र संघीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्न र सुदृढ गर्न आजको राष्ट्रिय कार्यभार भएको बताउँदै पौडेल निर्विवाद अभिभावकत्व निभाउन सुयोग्य साबित हुने दाबी गरेका छन् ।
‘संविधानको रक्षा र संघीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत र सुदृढ गर्ने आजको राष्ट्रिय कार्यभार कुशलतापूर्वक सम्पादन गर्दै देशको आर्थिक(सामाजिक रुपान्तरणतर्फ गतिशील ढंगले अघि बढ्नु हामी सबैको साझा दायित्व हो । यो दायित्व तपाईं, हामीले निभाइरहँदा निर्विवाद अभिभावकत्व निभाउन पौडेल सुयोग्य साबित हुनुहुने विश्वास म यहाँलाई दिलाउन चाहन्छु,’ देउवाले ओलीलाई लेखेको पत्रमा भनेका छन् ।

प्रकाशित मिति: मंगलबार, फागुन १६, २०७९  ११:२७
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार