राष्ट्रपति र चितवन २ को उपनिर्वाचनबारे छलफल गर्न रास्वपाको केन्द्रीय कमिटी बैठक बस्दै

सोमबार, फागुन १५, २०७९

काठमाडौँ । राष्ट्रपति निर्वाचनको विषयमा ध्रुवीकृत भएको राजनीतिक अवस्था तथा चितवन–२ मा आगामी वैशाख १० गते हुने उपनिर्वाचनको विषयमा छलफल गर्न राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समिति बैठक बस्दै छ । आजको बैठकले यी दुवै विषयमा बृहत् छलफल गरी ठोस निर्णय लिने अपेक्षा गरिएको छ । पार्टी कार्यालय वसुन्धारामा बिहान ११ बजे बैठक बस्ने गरी तय भएको हो । बैठकमा मुलुकको पछिल्लो राजनीति समीकरण, आसन्न राष्ट्रपति पदको निर्वाचन र चितवन–२ को उपनिर्वाचनबारे छलफल हुने छ । चुनावपछि बनेको गठबन्धनको महत्वपूर्ण घटक रास्वपाले आफ्ना नेताको नागरिकता विवादका कारण सांसद तथा उपप्रधानमन्त्री पद गुमाएपछि सरकारबाट बाहिरिएको छ । सरकारबाट बाहिरिए पनि उसले समर्थन भने कायमै राखेको छ । एमाले अध्यक्ष केपी ओलीसँग निकट जस्तो देखिएको रास्वपा राष्ट्रपनि निर्वाचनमा एमाले एक्लिएपछि कुन गठबन्धनको पक्षमा लाग्छ भन्ने एकिन भइसकेको छैन । राष्ट्रपतिका उम्मेदवार रामचन्द्र पौडेलले रास्वपाका अध्यक्ष रवि लामिछानेलाई भेट गरी आफूलाई सहयोग गर्न आग्रह गरेपनि एमालेका उम्मेदवार सुवास नेम्वाङले रास्वपासँग भोट मागेको सार्वजनिक भएको छैन । एमाले अध्यक्ष ओलीले रास्वपालाई पनि आफ्नो दलका उम्मेदवारलाई मत दिन पत्र भने लेखिसकेका छन् । रास्वपाका संसदमा १९ सिट रहेको छ । 

प्रकाशित मिति: सोमबार, फागुन १५, २०७९  १२:१६
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार