परराष्ट्रमन्त्रीलाई जेनेभा जानबाट रोकेपछि एमाले रुष्ट, सचिवालय बैठक बस्दै 

सोमबार, फागुन १५, २०७९

काठमाडौं । सत्तारुढ नेकपा एमालेले सचिवालय बैठक बोलाएको छ । राष्ट्रिपनि निर्वाचनको विषयमा सत्तारुढ पार्टीबीच देखिएको बेमेलको अवस्थाको बारेमा छलफल गर्न एमालेले सचिवालय बैठक बोलाएको हो । गठबन्धन दलबीचको बेमेलकै कारण प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफ्ना परराष्ट्रमन्त्री विमला राई पौड्याललाई जेनेभा जानबाट रोकेपछि एमालेले सरकारलाई कसरी अगाडि बढाउने भन्ने विषयमा छलफल गर्न सचिवालय बैठक बोलाएको हो । परराष्ट्रमन्त्री पौड्याललाई अन्तिम समयमा जेनेभा जान रोक लगाइएपछि एमाले सरकारबाट बाहिरिनुपर्ने आवाज उठेको छ । राष्ट्रपतिको निर्वाचन नहुँदासम्म सरकार नछाड्ने एमालेले आन्तरिक निर्णय लिएको छ । बैठक बिहान ११ बजे केन्द्रीय कार्यालय च्यासल ललितपुरमा बस्ने छ ।
मन्त्रिपरिषदबाट स्विकृत परराष्ट्रमन्त्रीको भ्रमण प्रधानमन्त्रीको ठाडो आदेशमा रोकिएको सन्दर्भमा आज ११ बजे पार्टी सचिवालयको बैठक बस्न लागेको हो । सरकारमा रहने कि नरहने भन्ने विषयमा आजको बैठकमा छलफल हुनसक्ने 
बताइएको छ । बैठकमा पछिल्लो राजनीतिक घटनाक्रमका साथै राष्ट्रपति निर्वाचन लगायतका विषयमा छलफल हुने छ । एमालेले पार्टीका उपाध्यक्ष सुवास नेम्वाङलाई राष्ट्रपति पदको उम्मेदवार बनाएको छ । उनको प्रतिस्पर्धा आठ दलीय गठबन्धनका साझा उम्मेदवार नेपाली कांग्रेसका रामचन्द्र पौडेलसँग हुनेछ । राष्ट्रपतिको निर्वाचन यही फागुन २५ गते हुँदैछ । एमालेको समर्थनमा गत पुस १० गते प्रधानमन्त्री बनेका माओवादी अध्यक्ष प्रचण्डले कांग्रेससहितको आठ दलीय गठबन्धन बनाएपछि एमाले उनीसँग रुष्ट छ । सोही आठ दलीय गठबन्धनले कांग्रेसका पौडेललाई राष्ट्रपतिको साझा उम्मेदवार बनाएको हो । त्यसलगत्तै एमालेमा सरकारबाट हट्ने कि नहट्ने भन्ने भइरहेको छ । राप्रपाले भने सरकारबाट बाहिरिंदै समर्थन पनि फिर्ता लिइसकेको छ । 
 

प्रकाशित मिति: सोमबार, फागुन १५, २०७९  १०:१२
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार