नेम्वाङलाई मत माग्दै ओलीले १७ जनालाई लेखे चिठ्ठी 

आइतबार, फागुन १४, २०७९

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रपतिका उम्मेदवार सुवास नेम्वाङलाई मत दिन आग्रह गर्दै नेपाली कांग्रेस बाहेक संसदमा प्रतिनिधित्व गर्ने सबै दल र स्वतन्त्र सांसदलाई पत्र लेखेका छन् ।
फागुन २५ गते हुने राष्ट्रपति पदको निर्वाचनका लागि नेपाली कांग्रेसका रामचन्द्र पौडेल र नेकपा एमालेबाट सुवास नेम्वाङले शनिबार मनोनयन दर्ता गराएका छन् । नेकपा एमालेले नेम्वाङलाई भोट माग्दै संसदमा प्रतिनिधित्व गर्ने दलका नेता र स्वतन्त्र सांसदहरुलाई पत्र पठाएको थियो ।
अध्यक्ष केपी शर्मा ओलीको हस्ताक्षर भएको पत्र संसदमा प्रतिनिधित्व गर्ने राजनीतिक दल र स्वतन्त्र सांसद गरी १७ जनालाई पठाइएको एमाले केन्द्रीय कार्यालयका सचिव डा. भीष्म अधिकारीले जानकारी दिए ।
कांग्रेस बाहेकका सबै दललाई औपचारिक पत्र पठाएर नेम्वाङलाई मत दिन भनिएको छ ।

kp-oli-madhav_DuYJBI9xcy1677327107.jpg
राप्रपा, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), नेपाल मजदुर किसान पार्टी नेमकिपा, हाम्रो नेपाली पार्टी र संघीय समाजवादी अनिर्णित छन् । राप्रपाको प्रतिनिधिसभामा १४ र प्रदेश सभामा २८ सांसद छन् । आठ दलीय गठबन्धनले कांग्रेसका रामचन्द्र पौडेललाई राष्ट्रपतिको उम्मेदवार बनाएपछि राप्रपाले सरकारलाई दिएको समर्थन फिर्ता लिंदै सरकारबाट बाहिरिसकेको छ ।
प्रतिनिधिसभामा १९ सिट रहेको रास्वपाले पनि राष्ट्रपतिमा कसलाई समर्थन गर्ने भन्ने निर्णय गरिसकेको छैन । राष्ट्रपतिका उम्मेदवार पौडेलले शनिबार रास्वपा सभापति रवि लामिछानेलाई भेटेर मत मागेका थिए ।
प्रतिनिधिसभामा एक र प्रदेश सभामा तीन सांसद रहेको नेमकिपाका नेता प्रेम सुवालले सबै परिस्थिति हेरेर निर्णय गर्ने बताए । निर्णय लिन बाँकी हाम्रो नेपाली पार्टीका दुई प्रदेश सभा सदस्य र संघीय समाजवादी पार्टीको एक प्रदेश सभा सदस्य छन् ।

प्रकाशित मिति: आइतबार, फागुन १४, २०७९  १०:२६
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार