सोसल मिडिया
Contact Us
युनिकोड
काठमाडौं । आठ दलीय गठबन्धनको तर्फबाट नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले राष्ट्रपतिमा उम्मेदवारी दर्ता गराएका छन् । चुनावअघिकै गठबन्धन ब्युँताएर माओवादीसहित आठ दलले राष्ट्रपतिमा कांग्रेस नेता पौडेललाई अगाडि सारेका हुन् । पौडेलको उम्मेदवारीमा शेरबहादुर देउवा, माधवकुमार नेपाल, नारायणकाजी श्रेष्ठ, रञ्जिता श्रेष्ठ, अब्दुल खान, अशोक राई प्रस्तावक रहेका छन् । महन्थ ठाकुर, चित्रबहादुर केसी, पूर्णबहादुर खड्का र हितराज पाण्डे समर्थक रहेका छन् । यसअघि एमालेको तर्फबाट सुवास नेम्वाङले उम्मेदवारी दर्ता गराइसकेका छन् ।
आज उम्मेदवारको मनोनयनपत्र दर्ता मुलुककोे सर्वोच्च पद राष्ट्रपतिको यही फागुन २५ गते हुने निर्वाचनका लागि आज उम्मेदवारको मनोनयनपत्र दर्ता भइरहेको छ । नयाँ बानेश्वरस्थित सङ्घीय संसद् भवन परिसरमा स्थापना भएको निर्वाचन अधिकृतको कार्यालयमा अपराह्न ३ बजेसम्म उम्मेदवारको मनोनयनपत्र दर्ता गर्ने कार्यक्रम राखिएको छ । राष्ट्रपतिको उम्मेदवार बन्न पाँच÷पाँच जना प्रस्तावक र समर्थक हुनुपर्ने कानुनी व्यवस्था छ । मुलुकको राष्ट्राध्यक्षका रुपमा रहने राष्ट्रपति पदको निर्वाचनका लागि यही फागुन २५ गते बिहान १० देखि ३ बजेसम्म मतदानको समय तोकिएको छ । संविधानमा नेपालमा एक राष्ट्रपति रहने र राष्ट्रपतिले नेपालको राष्ट्रिय एकताको प्रवद्र्धन गर्ने उल्लेख छ । संविधानको पालना र संरक्षण गर्नु राष्ट्रपतिको प्रमुख कर्तव्य हुनेछ । मुलुकमा २०६२÷६३ को आन्दोलनको उपलब्धिका रुपमा गणतन्त्र स्थापना भएसँगै राष्ट्रपतीय प्रणालीको अभ्यास भएको हो । राष्ट्रपतिको निर्वाचन सङ्घीय संसद् (प्रतिनिधिसभा र राष्ट्रियसभा) र प्रदेशसभाका सदस्य मतदाता रहेको निर्वाचक मण्डलबाट हुनेछ । राष्ट्रपति निर्वाचनको मतदाताको सङ्ख्या सङ्घीय संसद्को तीन सय ३२ र सातै प्रदेशका प्रदेशसभा सदस्यको पाँच सय ५० गरी कूल आठ सय ८२ कायम छ । सङ्घीय सांसदको मतभार ७९ र प्रदेशसभा सदस्यको मतभार ४८ छ । सङ्घीय संसद्को सदस्य हुन योग्य, ४५ वर्ष उमेर पूरा भएको र कुनै पनि कानुनले अयोग्य नभएको व्यक्ति मात्र राष्ट्रपतिको उम्मेदवार बन्न सक्नेछन् । राष्ट्रपतिको पदावधि निर्वाचित भएको मितिले पाँच वर्ष हुने र दुई पटक राष्ट्रपति निर्वाचित भइसकेको व्यक्ति निर्वाचनमा पुनःउम्मेदवार हुन नसक्ने संविधानमा उल्लेख छ । राष्ट्रपति निर्वाचनका लागि बानेश्वरस्थित संसद् भवन परिसरमा सङ्घीय संसद् सदस्य र प्रदेशसभा सदस्यका लागि छुट्टाछुट्टै मतदान केन्द्र हुनेछ ।