सत्ता गठबन्धनलाई निरन्तरता दिने एमालेको निर्णय

शनिबार, फागुन १३, २०७९

काठमाडौँ । नेकपा एमालेले राष्ट्रपतिको निर्वाचनसम्मका लागि अहिलेकै सत्ता गठबन्धनलाई निरन्तरता दिने निर्णय गरेको छ ।  ललितपुरको च्यासलस्थित एमाले केन्द्रीय कार्यालयमा बसेको सचिवालय बैठकले राष्ट्रपतिको निर्वाचन आगामी फागुन २५ गते भएकाले उक्त समयसम्म अहिलेकै सत्ता गठबन्धनलाई निरन्तरता दिने निर्णय गरेको हो । 
“यही फागुन २५ गतेसम्म राष्ट्रपति चयनको मिति तोकिएकाले त्यो बेलासम्म यही गठबन्धनलाई निरन्तरता दिन्छौँ”, एमाले प्रचार विभाग प्रमुख पृथ्वीसुब्बा गुरुङले भने, “पुस १० गते जे सहमति भएको थियो । त्यही सहमतिअनुसार अगाडि बढ्ने निर्णय गरेका छौँ ।” 
गत पुस १० गते नेकपा माओवादी केन्द्रसहित सत्तारुढ दलसँगको छलफलमा  एमालेले राष्ट्रपति पाउने सहमति भएअनुसार नै एमालेले पार्टीका उपाध्यक्ष सुवासचन्द्र नेम्बाङलाई राष्ट्रपतिको उम्मेदवार बनाउने निर्णय प्रचार विभाग प्रमुख गुरुङको भनाइ छ । “हामीले पुस १० गतेको सहमतिअनुसार नै हाम्रो पार्टीका तर्फबाट उपाध्यक्ष नेम्बाङलाई उम्मेदवार बनाएका छौँ”, उनले भने, “हामी पुस १० गते जे निर्णय भएको थियो । त्यसैमा जानु पर्दछ भन्ने हाम्रो जोड छ ।”
कांग्रेसबाहेक अन्य दलसँग राष्ट्रपति उम्मेदवारी विषयमा छलफल गर्ने
पार्टीका तर्फबाट राष्ट्रपतिका उम्मेदवार बनेका पार्टी उपाध्यक्ष नेम्वाङलाई जिताउनका लागि नेपाली कांग्रेसबाहेकका राजनीतिक दलसँग छलफल गर्ने निर्णय पनि एमालेले गरेको छ । 
“पार्टीले उठाएको राष्ट्रपतिका उम्मेदवार नेम्वाङलाई समर्थन गर्नका लागि कांग्रेसको आफ्नो उम्मेदवार भएका कारण कांग्रेसबाहेक सबै पार्टीलाई आजै हामीले सहयोगका लागि पत्राचार गर्ने छौँ”, उनले भने, “सबै पार्टीसँग सहयोगका लागि निरन्तररुपमा छलफल जारी राख्ने छौँ । कांग्रेसबाहेक सबै दललाई राष्ट्रपतिमा हामीलाई सहयोग गर्नका लागि सहमतिमा ल्याउने प्रयत्न गर्ने छौँ ।”
नेम्वाङ गत मङ्सिरमा सम्पन्न भएको प्रतिनिधिसभाको निर्वाचनमा इलाम क्षेत्र नं २ बाट निर्वाचित भएका थिए । बैठकले पार्टीको अर्थ तथा विभागको सचिवमा डा दीपकप्रकाश भट्टलाई जिम्मेवारी दिने निर्णय गरेको छ । बैठकले एमालेका केन्द्रीय सदस्य दुर्गा प्रसाईंलाई हटाएको छ । 

प्रकाशित मिति: शनिबार, फागुन १३, २०७९  १४:१२
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार