१८ खर्बको लागतमा मेट्रोरेल निर्माण हुने अनुमान

बालेन्द्रलाई मेट्रोरेलको नेतृत्व लिन चिरीबाबुको अनुरोध 

ललितपुर महानगर काठमाडौं महानगरको सहयात्री बन्ने प्रतिबद्धता 
शुक्रबार, फागुन १२, २०७९

ललितपुर । ललितपुर महानगर प्रमुख चिरीबाबु महर्जनले उपत्यकाका लागि मेट्रोरेल निर्विकल्प भएको बताउँदै काठमाडौं महानगरलाई यसको नेतृत्व लिन अनुरोध गरेका छन् । काठमाडौं महानगरका  प्रमुख बालेन्द्र शाहलाई भेट्न काठमाडौ महानगर कार्यालय पुगेका चिरीबाबुले संघीय सरकारसँग सहकार्य गर्दै काठमाडौं महानगरले मेट्रोरेलका लागि लिने नेतृत्वको ललितपुर महानगर सहयात्री बन्ने प्रतिबद्धता व्यक्त गरे । 
उनले भने, ‘उपत्यका दुई महानगरबीच समन्वय र सहकार्य भए ठूला योजना सम्पन्न गर्न सक्छौं, ललितपुर काठमाडौंको सहयात्री बन्छ, काठमाडौं महानगरले यसको नेतृत्व गर्नुपर्छ ।’ 
ललितपुर नगर प्रमुख महर्जनले उपत्यका अन्य नगरपालिकासँगको हातेमालो अपरिहार्य भएकोमा पनि जोड दिएका छन् । 

333088558_905180533851603_6416919033421502749_n1677225537.jpg
मेट्रोरेलको विकल्प खोज्नु अब समय र स्रोतसाधनको दुरुपयोगमात्र ठहरिने महानगर प्रमुख महर्जनले प्रष्ट पारे । उनले भने, ‘धेरै खर्च लाग्छ, धेरै समय लाग्छ भनेर मेट्रोरेलका बारेमा निर्णय नगर्नु किमार्थ ठिक हुँदैन’ काठमाडौं उपत्यकालाई बस्नयोग्य सहर बनाउनका लागि मेट्रोरेल नल्याई सुखै छैन ।’
उनले मेट्रोरेलका बारेमा निर्णय गर्न अब ढिला गर्न नहुने बताउँदै बेलैमा निर्णय नगरे उपत्यका बस्न अयोग्य सहर बन्ने दाबी महर्जनले गरे । उनले भने, ‘सन्ततिले हामीलाई धिक्कार्छन् ।’ 
काठमाडौं महानगरका प्रमुख बालेन्द्र शाहले मेट्रोरेल उपत्यकाका लागि अत्यावश्यक भएको बताउँदै अन्य नगरपालिकासँग मेट्रोरेलका सन्दर्भमा अब योजनाबद्ध रुपमा छलफल सुरु गर्ने बताए  । उनले भने, ‘अब मेट्रोरेलका बारेमा अन्य नगरपालिका र सरोकारवाला निकायसँगको छलफल सुरु गरौं ।’ 

332614135_5836298219772974_8871070980445448670_n1677225533.jpg
काठमाडौं महानगरले पनि मेट्रोरेलका बारेमा अनौपचारिक रुपमा सोधखोज गरिरहेको काठमाडौं महानगर प्रमुख शाहले जानकारी दिए । उपत्यकाकालाई बस्न योग्य सहर बनाउन मेट्रोरेल अत्यावश्यक भएको प्रष्ट पार्दै यो दीर्घकालिन योजनाले उपत्यकावासीको जीवनस्तर उन्नत हुने उनको भनाई थियो । बालेन्द्रले भने, ‘योजना बनाउँदा कम्तीमा ५० वर्षलाई हेरेर बनाउनुपर्छ, राम्रो त एक सय वर्षलाई सोचेर बनाउनु राम्रो हो, दुई चार वर्षे योजनाले दीर्घकालिन प्रभाव पार्दैन र नागरिकलाई खुशी र सुख दिन सक्दैन ।’ 
उपत्यकालाई बस्न योग्य सहर बनाउन सहर बनाउन मेट्रोरेल ल्याउनै पर्ने ललितपुर महानगरका सल्लाहकार इन्जिनियर वदन न्याछ्योँले बताए । उनले भने, ‘उपत्यकाकोे ट्राफिक व्यवस्थापन गर्न तत्काल काम शुरु नगर्ने हो भने अबको पाँच वर्षपछि ट्राफिक जामले निम्त्याउने समस्या विकराल हुन्छ, उपत्यका ‘गतिहीन’ सहरमा परिणत हुने कुरा निश्चित छ ।’ 

331407618_5892370890853652_2858217738551105516_n1677225487.jpg
न्याछ्योँले  २० वर्षदेखि मेट्रोेरेलको आवश्यकता र यसले उपत्यकावासीलाई कसरी समृद्ध बनाउँछ भन्ने सन्दर्भमा पैरवी गर्दै आएका छन् ।   
एक तथ्यांक अनुसार ट्राफिक जाममा बित्ने उत्पादक समयको ह्रासले वार्षिक करीब रु. १.६२ खर्बको नोक्सान भएको अनुमान छ । यो तथ्यांक नेपालको ग्राहस्थ उत्पादनको लगभग ५.६ हुन आउँछ । उनले भने, ‘एक वर्षमा हुने नोक्सानबाट नै मेट्रोरेल बन्छ ।’ 
काठमाडौंं उपत्यकाको वातावरण सुधारसहित व्यवस्थित सहर निर्माणका लागि मेट्रोरेलसहितको एकिकृत यातायात व्यवस्थापनसहित मेट्रोरेल अबको आवश्यकता भएको इन्जिनियर वदनलालको भनाई थियो । 
उपत्यकाको ट्राफिक व्यवस्थापन र ट्राफिक समस्याको दीर्घकालिन समाधानका लागि नेपाली विज्ञहरुको एक अन्तर्राष्ट्रिय समूह “वृहत काठमाडौं उपत्यका मेट्रोरेल प्रबद्र्धन समूह” केही समयदेखि कार्यरत छ । उक्त समूहको संस्थापकमा डा. विनोद अमात्य (यूके), ई. वदन न्याछ्योँ (नेपाल), डा. पुरु श्रेष्ठ (यूएस), डा. श्रीगोविन्द शाह (नेपाल), ई. अनन्त वैद्य (यूएस), ई सुरेन्द्र जोशी (नेपाल) का साथै अन्य विज्ञहरु पनि छन् । यो समूहले काठमाडौं उपत्यका क्षेत्रमा मेट्रोरेल प्रणालीको आधारमा दीर्घकालिन विकास तथा एकिकृत यातायात व्यवस्थापनको विकासको “रणनीतिक अवधारणापत्र” तयार गरेको छ । 

333023063_1416657179077982_7004392634911736378_n1677225533.jpg
ललितपुर महानगर प्रमुख चिरीबाबु महर्जन मेट्रोरेलको नेतृत्व गर्न काठमाडौं महानगर प्रमुखबालेन्द्रलाई आफूले लेखेको पत्र र उक्त अवधारणापत्र सहित पुगेका थिए । मेट्रोरेल ल्याउन झण्डै बीस बर्ष लाग्ने बताइएको छ । त्यसैगरी करीब १८ खर्ब लाग्ने अनुमान गरिएको छ ।

333088558_905180533851603_6416919033421502749_n1677225537.jpg

प्रकाशित मिति: शुक्रबार, फागुन १२, २०७९  १३:३९
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार