राष्ट्रपति उम्मेदवार मनोनयनको दिन नजिकिएसँगै दलहरुको छलफल तीव्र  

बिहीबार, फागुन ११, २०७९

काठमाडौं । राष्ट्रपति निर्वाचनका लािग उम्मेदवारी मनोनयनको दिन नजिकिएसँगै दलहरुले भेटघाटलाई तीब्रता दिएका छन् । दलका नेताहरू आफ्नै तहबाट छलफल गरिरहेका छन् । दोस्रो तह तथा शीर्ष तहमा निरन्तर छलफल भइरहेको छ । राष्ट्रपति निर्वाचनका लागि पर्सि शनिबार उम्मेदवारी मनोनयनको दिन हो । आगामी २५ गते हुने राष्ट्रपति पदको निर्वाचन हुने कार्यक्रम छ । निर्वाचन आयोगले राष्ट्रपति–उपराष्ट्रपति निर्वाचनका लागि मतदाता नामावली पनि सार्वजनिक गरिसकेको छ ।  
राष्ट्रपतिको उम्मेदवार टुंगो लगाउन राजनीतिक दलका नेताहरु आज पनि सक्रिय छन् । सरकारको नेतृत्वकर्ता दल माओवादी केन्द्रले आज कांग्रेस, एकीकृत समाजवादी र जसपासँग छुट्टाछुट्टै छलफल गर्ने र आजै साँझ पुरानो पाँच दलीय सत्ता गठबन्धनको संयुक्त बैठक बस्ने तयारी गरेको छ ।
हिजो साँझ नेपाली कांग्रेस र माओवादी केन्द्रबीच छलफल भएको थियो । उक्त छलफलपछि नेताहरुले पुरानो सत्ता गठबन्धन व्युँताउने विषयमा सहमति नजिक पुगेको बताएका थिए । सोही बैठकमा भएको कुराकानी अनुसार आज माओवादी–जसपा र माओवादी–एकीकृत समाजवादीबीच छलफल गर्ने तयारी भएको हो । 
कांग्रेस सभापति शेरबहादुर देउवा र माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड मध्ये को पहिला प्रधानमन्त्री हुने भन्ने विवादले १० पुसमा पाँचदलीय गठबन्धन टुटेको थियो । प्रचण्डलाई प्रधानमन्त्री बनाउन एमाले सहमत भएपछि नयाँ गठबन्धन बन्यो, जसमा राष्ट्रिय स्वतन्त्र पार्टी, राप्रपा, जनता समाजवादी, जनमत र नागरिक उन्मुक्ति पार्टी पनि सहभागी भए । तर दुई महिनामै यो गठबन्धन भत्किएर पाँच दलीय गठबन्धन ब्यूँतिने परिस्थिति बन्दै गएको छ ।

कांग्रेस कार्यसम्पादन समितिमा पनि उम्मेदवारबारे छलफल हुने 
राष्ट्रपति निर्वाचनका लागि उम्मेदवार छनोट गर्ने विषयमा छलफल गर्नका लागि नेपाली कांग्रेसले केन्द्रिय कार्यसम्पादन समितिको बैठक बोलाएको छ । बैठकमा भावी राष्ट्रपतिको उम्मेदवार बारेमा कांग्रेसको औपचारिक धारणा सार्वजनिक गर्नेछ । 
कांग्रेसले आज बस्ने कार्यकारणीको बैठकबाट राष्ट्रपतिको उम्मेदवारी दिने औपचारिक निर्णय गर्ने अनुमान गरिएको छ । 

प्रकाशित मिति: बिहीबार, फागुन ११, २०७९  ११:३९
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार