उमेर विवादपछि डीआईजी अशोक सिंहले दिए राजीनामा

बुधबार, फागुन १०, २०७९

काठमाडौँ । नेपाल प्रहरीका डीआईजी अशोक सिंहले राजीनामा दिएका छन् । बुधबार दिउँसो प्रहरी प्रधान कार्यालय कर्मचारी प्रशासन शाखामा पुगेर उनले राजीनामा बुझाएका हुन् ।  उमेर विवादका कारण बर्खास्तमा पर्ने अवस्था आएपछि सिंहले त्यसअघि नै राजीनामा दिएका हुन् ।  राजीनामाअघि सिंहले प्रहरी महानिरीक्षक धीरजप्रताप सिंहलाई भेटेका थिए । यस्तै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई पनि भेटेका थिए ।  कानुनी परामर्शसमेत गरेका उनलाई कानुनविदले मुद्दा मामिलामा लाग्नुभन्दा राजीनामा दिनु उचित हुने राय दिएपछि यो निर्णय लिएका हुन् । 
सिंहको जन्म मिति फरक–फरक रहेको लगायत आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेपछि छानबिन अघि बढिसकेको छ ।  अख्तियारले जन्म मितिबारे प्रहरी प्रधान कार्यालयलाई सोधेको थियो । प्रहरी कितावखानामा रहेको रेकर्डमा उनको नागरिकता र शैक्षिक प्रमाण पत्रमा भएको मिति डेढवर्ष बढी फरक परेको पाइएको छ ।
जन्म मिति फरक परे पनि सिंहले जन्म मितिमा कीर्ते भने गरेका होइनन् । उनको नागरिकता २०४२ जेठ २२ गते जारी भएको थियो ।
नागरिकता प्रमाणपत्र जारी हुँदा उनी १८ वर्ष पूरा भएका थिए । तर नागरिकतामा वर्ष मात्रै उल्लेख भएका कारण उनको महिना र गते जारी भएको मिति नै कायम भएको हो । 
२०५० मंसिरमा उनले आवेदन दिएका थिए । आवेदन दिँदा नै उनी २६ वर्ष पूरा भइसकेका थिए । तर उनको सिट रोलमा जन्म मिति २०२५ पुस १६ गते उल्लेख छ । 
सिंहको नागरिकतामा १८ वर्ष उमेर पूरा भएको मात्रै उल्लेख भएकाले उनको जन्म मिति २०२४ जेठ २२ गते कायम भएको हो । तर अर्को प्रमाण पत्रमा पूरा जन्म मिति भएको अवस्थामा त्यसलाई आधार मान्ने उल्लेख छ । यस्तो अवस्थामा जन्म मितिको अन्तर एक वर्षभित्रको हुनु पर्नेछ । एक वर्षभन्दा बढीको उमेर अन्तर भएमा भने जुनमा उमेर बढी छ सोहीलाई आधार मान्ने उल्लेख छ । 
सिंहको नागरिकता अनुसार उनी डीआईजी बढुवा नै नहुनु पर्ने हो। एसपी र एसएसपीको उमेर हद ५५ वर्षे छ । एसएसपी हुँदै उनी ५६ वर्ष पुगिसकेका थिए ।
नागरिकता अनुसार जेठ २२ गते ५५ वर्ष पूरा भइसकेका सिंह गत असारमा डीआईजीमा बढुवा भएका थिए ।  प्रहरी नियमावली अनुसार उनलाई बर्खास्त गर्न सक्ने भएकाले त्यसअघि नै सिंहले राजीनामा दिएका हुन् ।

प्रकाशित मिति: बुधबार, फागुन १०, २०७९  १८:१६
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार