टर्कीमा फेरि अर्को शक्तिशाली भूकम्प, दुई सातामा हजारौँ परकम्प

मंगलबार, फागुन ९, २०७९

टर्की । शक्तिशाली भूकम्पका कारण हजारौँ मानिसको ज्यान गएको केही सातापछि दक्षिणी टर्कीमा सोमवार फेरि अर्को भूकम्प गएको छ । उक्त भूकम्पमा परेर हालसम्म तीन जनाको ज्यान गएको पुष्टि भएको छ । सोमवारको भूकम्प ६.४ म्याग्निट्यूडको भएको बताइएको छ ।
पछिल्लो भूकम्पका कारण टर्की र सिरियामा गरी ६८० जनाभन्दा बढी घाइते भएको पुष्टि भएको छ ।
टर्कीको विपद् तथा आपत्कालीन मामिलासम्बन्धी निकाय अफादले त्यहाँको समयानुसार सोमवार साँझ ८ः०४ बजे भूकम्प गएको र त्यसपछि दर्जनौँ परकम्पहरू पनि मापन गरिएको जनाएको छ ।

पहिलेको भूकम्प र मृत्यु
उक्त क्षेत्रमै फेब्रुअरी ६ तारिखमा गएको ७.८ म्याग्निट्यूडको भूकम्पले टर्की र सिरियामा गरी ४४ हजारभन्दा बढी मानिसको ज्यान लिएको थियो ।
सोमवारको भूकम्पमा परी मृत्यु हुनेहरू अन्टाक्या, डफ्न र समन्डगीका बासिन्दा हुन् ।
टर्कीका आन्तरिक मामिलामन्त्री सुलेमान सोयलुले मानिसहरूलाई जोखिम भएका भवनमा प्रवेश नगर्न आग्रह गरेका छन् । उनले पछिल्लो भूकम्पका कारण टर्कीमा २१३ जना घाइते भएको बताए ।
प्रत्यक्षदर्शीले रोयटर्स समाचारसंस्थालाई अन्टाक्यामा भवनहरूमा थप क्षति भएको बताएका छन् ।
दक्षिणी टर्कीको हाटाईका मेयरले मानिसहरू भग्नावशेषमा फसेको बताएका छन् ।

हजारौँ परकम्प
‘मलाई गोडामुनि नै पृथ्वी फुट्छ जस्तो लाग्यो’, आफ्नो सातवर्षीय छोरालाई बोकिरहेकी स्थानीयवासी मुना अल(ओमरले भावुक हुँदै रोयटर्सलाई भनिन् ।
भूकम्प गएका बेला उनी मध्य अन्टाक्याको एउटा पार्कमा बनाइएको आश्रयस्थलमा पालमुनि थिइन् । टर्कीका अधिकारीहरूले फेब्रुअरी पहिलो साताको भूकम्पपछि उक्त देशमा ६,००० भन्दाबढी परकम्पहरू आएको विवरण रहेको बताएका छन् ।
त्यस क्षेत्रमा रहेको बीबीसीको टोलीले सोमवारको भुइँचालो यसअघिका परकम्पहरूको तुलनामा धेरै शक्तिशाली भएको महसुस भएको बताएको छ ।

सिरियाको अवस्था
सिरियन अब्जर्भेटरी फर ह्यूमन राइट्सले भूकम्पपछि ४७० जना घाइते अस्पताल पुगेको बताएको छ । पछिल्लो भूकम्प इजिप्ट र लेबननमा पनि महसुस भएको थियो ।
अफादले सोमवारको भूकम्पपछि ३२ वटा परकम्प गएको जनाएको छ । त्यसमध्ये सबैभन्दा ठूलो ५.८ म्याग्निट्यूडको थियो । उक्त क्षेत्रमा भूकम्पका कारण डर र अत्यास पैदा भएको छ ।
एम्बुलेन्स र उद्धारटोलीहरू सडकमा लाइन लागेर सबैभन्दा नराम्ररी प्रभावित क्षेत्रमा पुग्न प्रयास गरिरहेका छन् ।
राहतमा कठिनाइ
गत फेब्रुअरी ६ मा गएको भूकम्पमा नभत्किएका कतिपय संरचनाहरू अहिले भत्किएका छन् । त्यसमा एउटा पुल पनि पर्छ ।
सडकमा गहिरा चिराहरू परेका छन् । त्यसले गर्दा कतिपय ठाउँमा आपत्कालीन सेवा पुर्‍याउन सकिएको छैन ।
एएफपीका एक पत्रकारले हाटाई प्रान्तको राजधानी अन्टाक्यामा निम्तिएको अत्यासपूर्ण दृश्यबारे रिपोर्टिङ गरेका थिए । उक्त सहरलाई यसअघिकै भूकम्पले ध्वस्त पारेको थियो । त्यहाँ पछिल्लो भूकम्पले सहरमा धुलोको मुस्लो उडाएको थियो । त्यहाँ कैयौँ भवनहरू भत्किएका छन् भने धेरै घाइतेहरूले सहयोग मागेका छन् ।–एजेन्सी 

प्रकाशित मिति: मंगलबार, फागुन ९, २०७९  १०:५८
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार