सोसल मिडिया
Contact Us
युनिकोड
काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले मुलुकको समृद्धि र जनताको सुख हासिल गर्ने राष्ट्रिय आकाङ्क्षा पूरा गर्ने अभियानमा एकजुट भई योगदान गर्न आह्वान गरेका छन् । प्रजातन्त्र दिवसमा अवसरमा आज जारी गर्नुभएको शुभकामना सन्देशमा नेपाली जनताको एकताबद्ध संघर्षबाट निरङ्कुश जहानियाँ राणा शासनको अन्त्य भएको दिनलाई नेपालको इतिहासमा उज्यालो नयाँ युगको आरम्भ विन्दुका रुपमा स्थापित गरेको बताएका छन् । शुभकामना सन्देशमा ओलीले प्रजातन्त्र प्राप्तिको लामो र बलिदानपूर्ण संघर्षमा आफूलाई समर्पित गर्नुहुने अमर सहिद शुक्रराज शास्त्री, गङ्गालाल श्रेष्ठ, दशरथ चन्द, धर्मभक्त माथेमालगायत सम्पूर्ण आदरणीय ज्ञात–अज्ञात सहिदप्रति श्रद्धाञ्जली पनि अर्पण गरेका छन् । “समाज, राजनीति र शासन प्रणालीमा जहानियाँ निरङ्कुशता एवं बर्बरताबाट मुक्ति पाएको र लामो अन्धकार चिरेर प्रकाशमय सुन्दर बिहानी प्राप्त भएको विन्दुका रुपमा हामी यस दिनलाई स्मरण गर्दछौँ”, सन्देशमा भनिएको छ, “संविधानसभाद्वारा संविधान निर्माणपछि भएको पहिलो आमनिर्वाचनबाट बनेको हाम्रो पार्टी नेकपा (एमाले)को सरकारले मुलुकलाई गरिबीबाट सम्पन्नतातिर, अविकाशबाट विकासतिर, अव्यवस्थाबाट सुव्यवस्थातिर अगाडि बढाइरहेको थियो ।” अन्तर्राष्ट्रिय सम्बन्धका क्षेत्रमा राष्ट्रको स्वाभिमान र स्वाधीनताको उचाइ बढाउँदै प्रजातन्त्र प्राप्त भएको दिनले जनताको संघर्षबाट प्राप्त लोकतन्त्रको आधारभूमिमा टेकेर मुलुकलाई समृद्ध बनाउने दिशामा अग्रसर भएको सन्देशमा छ । संविधानसभामार्फत जनताको संविधान निर्माण गरी तदनुरुपका संरचनालाई बलियो बनाउँदै सुशासन र विकासको दिशामा अघि बढिरहेको उल्लेख छ । अध्यक्ष ओलीले सन्देशमा भनेका छन्, “हामीले प्रजातान्त्रिक आन्दोलनमार्फत देशको गरिमा र यश विस्तार गर्ने जनताको चाहनालाई सफलताको दिशामा अभिमुख गराउन आर्थिक विकास र सामाजिक न्यायसहितको परिपूर्ण लोकतन्त्रलाई जनस्तरसम्म विस्तार एवं सुदृढ गर्दै मुलुकलाई अघि बढाएका थियौँ ।”