सोसल मिडिया
Contact Us
युनिकोड
काठमाडौँ । सरकारले देशका विभिन्न आठ स्थानलाई औद्योगिकग्राम घोषणा गरेको छ । सरकारी घोषणा अनुसार मण्डनदेउपुर–६, बेथानचोक–२, लिखु–४, रघुगङ्गा–२, तातोपानी–४, रिब्दीकोट–३, रुरुक्षेत्र–४ र अपिहिमाल–४ मा औद्योगिकग्राम निर्माण हुनेछन् । लगानी (इन्भेष्टमेन्ट) कम्पनी स्थापना गर्दा पालना गर्नुपर्ने विषय तथा शर्त नेपाल राजपत्रमा प्रकाशित गर्न स्वीकृति दिइएको छ । संवैधानिक परिषद् (विकास, कर्तव्य अधिकार र कार्यविधि) सम्बन्धी (पहिलो संशोधन) विधेयक, २०७९ फिर्ता लिने र बर्डफ्लु रोग नियन्त्रणका क्रममा आर्थिक वर्ष २०७८÷७९ मा नष्ट गरिएका वस्तुको लागि राहत प्रदान गर्न कार्यविधि संशोधन गरिएको छ । २०८० सालमा दिइने सार्वजनिक बिदा निर्धारण गरेको छ ।
परराष्ट्रमन्त्री जेनेभा जाने यही फागुन १५ देखि १८ गतेसम्म स्वीट्जरल्याण्डको जेनेभामा आयोजना हुने संयुक्त राष्ट्रसङ्घीय मानवअधिकार परिषद्को ५२औँ सत्रमा परराष्ट्रमन्त्रीको नेतृत्वको प्रतिनिधिमण्डललाई भाग लिन स्वीकृति दिएको छ ।
मन्त्रिपरिषद्ले तत्कालीन जिल्ला पञ्चायत सचिवालय जिल्ला पशु सेवा शाखा कार्यालय गोरखाका नाममा रहेको जिल्ला गोरखा साविक सिर्दिवास गाविस वडा नं ८ को ४–६–२–२ रोपनी जग्गा चुमनुब्री गाउँपालिकाको प्रशासकीय भवन निर्माणका लागि उपयोग गर्न स्वीकृति दिएको छ । ललितपुर जिल्ला साविक लुभु वडा नं ३ ‘क’ को २–२–०–० रोपनी सरकारी जग्गा लुभु प्राथमिक स्वास्थ्य केन्द्रको भवन निर्माणार्थ महालक्ष्मी नगरपालिकालाई उपयोग गर्न स्वीकृति दिएको छ । मोरङ जिल्ला साविक लेटाङ गाविस वडा नं १ को ०–४–१६ बिघा सार्वजनिक जग्गा ३० वर्षका लागि प्रहरी चौकी बुधबारे लेटाङलाई प्रयोग गर्न स्वीकृति दिने र काठमाडौँ जिल्ला साविक थानकोट गाविस वडा नं २ को २३–०–०–० रोपनी सरकारी जग्गा चन्द्रागिरि नगरपालिकालाई १५ (पन्ध्र) शय्याको आधारभूत अस्पताल निर्माणार्थ उपयोग गर्न स्वीकृति दिएको छ । यही फागुन २८ देखि चैत ४ गतेसम्म संयुक्त राज्य अमेरिकाको वाशिङ्टन डिसीमा हुने यातायात क्षेत्र व्यवस्थापनसम्बन्धी कार्यक्रममा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव केशवकुमार शर्मालाई सहभागी हुन स्वीकृति दिने पनि सरकारको निर्णय छ । सरकारले नेपाल इञ्जीनियरिङ परिषद्को अध्यक्ष पदमा ई डा पदमबहादुर शाही, उपाध्यक्ष पदमा ई डा विकास अधिकारी र सदस्यमा ई डा रेश्मा श्रेष्ठलाई मनोनयन गरेको छ । यही फागुन ११ देखि १२ गतेसम्म स्वीट्जरल्याण्डमा हुने बिरामीको सुरक्षासम्बन्धी सम्मेलनमा स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री पदम गिरीलाई सहभागी हुन स्वीकृति दिने निर्णय पनि मन्त्रिपरिषद्ले गरेको छ । सरकारले स्वास्थ्य सेवाका विभिन्न समूहका अधिकृतहरूलाई स्वास्थ्य सेवाका एघारौँ तहमा बढुवा नियुक्ति गरी पदस्थापन गर्ने भएको छ ।