असावधानीले दुर्गम गाउँमा कोरोना सङ्क्रमण

मंगलबार, वैशाख २१, २०७८

पाँचथर । जिल्लाको सदरमुकाम फिदिमबाट करिब ७० किलोमिटर उत्तरपूर्वमा रहेको याङवरक गाउँपालिका–१ च्याङथापूमा सोमबार आठ जनामा कोभिड–१९ को सङ्क्रमण पुष्टि भयो ।  यो सुदूर गाउँमा एक वृद्धको चौरासीको पूजामा झापामा रहेका आफन्तलाई निम्ता गरिएको थियो । निम्ता मान्न आएका आफन्तसँगको सम्पर्कले उक्त गाउँमा सङ्क्रमण फैलिएको पाइएको हो । वैशाख ११ गते यहाँका एक वृद्धको चौरासीको पूजाका लागि झापाबाट वृद्धका दुई आफन्त साविक च्याङथापू गाविस–१ नाम्रेक आएका थिए ।
याङवरक गाउँपालिका–१ का वडाध्यक्ष मोहनकुमार ढुङ्गेलका अनुसार चौरासीको पूजा सबैले खुशीसाथ मनाए । भोलिपल्टबाट आ–आफ्नो बाटो लाग्न थाले । यहाँ पूजाको आयोजना गरेका स्थानीयवासी र झापा फर्किसकेका आफन्त सबैमा कोभिड–१९ सँग मिल्ने लक्षण देखिएपछि परीक्षण गराइयो । ‘उहाँहरू तल (झापा) झरेर परीक्षण गराउँदा कोभिड–१९ को रिपोर्ट पोजेटिभ देखियो’, वडाध्यक्ष ढुङ्गेलले भने, ‘पाहुना आएकाहरूमा सङ्क्रमण देखिएपछि यहाँका आफन्तलाई बाहिरफेर ननिस्कन भनेका थियौँ । हिजो एन्टिजेन परीक्षण गर्दा आठ जनामा सङ्क्रमण पुष्टि भयो ।’  यहाँका सङ्क्रमितलाई ज्वरो आइरहेको र होमआइसोलेशनमा बस्न भनिएको वडाध्यक्ष ढुङ्गेलले बताए । ‘गाउँपालिका अध्यक्षसँग परामर्श गरेर कसरी राख्ने भन्ने निक्र्यौल गर्छौ’, उनले भने ।  चौरासीको पूजा लगाएका ८४ वर्षीय वृद्धलाई स्वास्थ्य समस्या  बढी भएको पाइएको वडाध्यक्ष ढुङ्गेलले बताए । ‘पूजा लगाउने व्यक्तिले श्वास फेर्न समस्या भएको बताउनुभएकाले अस्पताल लैजाने तयारी गरेका छौँ’, ढुङ्गेलले भने ।  यता सदरमुकाम फिदिममा सोमबार १५ जनाको एन्टिजेन परीक्षण गर्दा एक जनामा कोभिड–१९ सङ्क्रमण भेटिएको स्वास्थ्य कार्यालय पाँचथरका प्रमुख नारद सुवेदीले जानकारी दिए । आइतबार फिदिममै एक कर्मचारी र एक सैनिकमा सङ्क्रमण भेटिएको थियो । आज बिहानसम्म जिल्लामा कूल सङ्क्रमितको सङ्ख्या ११ पुगेको सुवेदीको भनाइ छ । जिल्लाका अरु पनि सङ्क्रमित भए पनि बाहिर, निजी प्रयोगशालामा परीक्षण गराएकाहरूको रेकर्ड स्वास्थ्य कार्यालयसँग नहुने सुवेदीले बताए ।–रासस
 

प्रकाशित मिति: मंगलबार, वैशाख २१, २०७८  १३:५६
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार