सत्ता गठबन्धन भत्किन सक्ने ओलीको आशंका 

मंगलबार, फागुन २, २०७९

काठमाडौं । एमाले अध्यक्ष केपी शर्मा ओलीले सत्तारूढ गठबन्धन भत्किने सक्नेतर्फ संकेत गरेका छन् । अनेरास्ववियुको २३ औँ राष्ट्रिय महाधिवेशनको आज उद्घाटन गर्दै अध्यक्ष ओलीले सत्तारूढ गठबन्धन भत्किनेप्रति आशङ्का व्यक्त गरेका हुन् । उनले संसद्को बनावट अस्थिरताको कारक हुने खालको रहेको भन्दै गठबन्धन भत्किनेप्रति शङ्का व्यक्त गरेका छन् । उनले देशभित्रका र बाहिरका शक्तिहरू देशलाई बरबाद पार्न लागेका जिकिर पनि गरे । एमाले देशलाई बरबाद पार्नबाट रोक्ने गेटपाले भएको भन्दै अध्यक्ष ओलीले सबैभन्दा पहिले एमालेलाई प्रहार हुनसक्ने बताए ।  
उनले देशमा स्थिरता र स्थायित्व हुन नदिका लागि अनेक प्रकारका षड्यन्त्रहरू भइरहेको दाबी पनि गरेका छन् । अध्यक्ष ओलीले विगतमा नेपालको शिक्षालाई बुर्जुवा शिक्षा भनेर प्रचार गरिनु गलत भएको बताए । कसैले पनि संस्थागतरूपमा शिक्षालाई बुर्जुवा शिक्षाको उपमा दिएर बहिष्कार गर्न नभनेको भए पनि कुनै व्यक्तिको लहडको भरमा त्यसो भनिएको उनको भनाइ छ । अध्यक्ष ओलीले आउँदो स्ववियु चुनावमा अनेरास्ववियु विजयी हुने कुरामा विश्वास व्यक्त गरेका छन् । उनले नेपाल विद्यार्थी सङ्घले अनेरास्ववियुसँग प्रतिस्पर्धा गर्न नसक्ने र अन्य विद्यार्थी सङ्गठनहरू भर्खरै सिक्दै गरेका भनी ओली टिप्पणी गरे। 

‘अस्थिरता ल्याउन प्रयास’
एमाले अध्यक्ष ओलीले देशमा अस्थिरता ल्याउन प्रयास भइरहेको बताएका छन् । 
अध्यक्ष ओलीले मुलुकमा अस्थिरता ल्याउन विभिन्न शक्तिले चलखेल गरिरहेको आरोप लगाए । “हामीले लिएको समृद्ध नेपाल र सुखी नेपाली राष्ट्रिय आकाङ्क्षा गलत हुन सक्दैन”, उनले भने । 
अध्यक्ष ओलीले एमाले मुलुकको पालेको रुपमा रहेको उल्लेख गरे । उनले देश बनाउने विषय भएकाले राजनीति सोझो रेखामा नजाने भनाइ राखे ।
अध्यक्ष ओलीले अखिललाई अनुशासित, गतिशिल र एकताबद्ध सङ्गठन बनाउन आग्रह गरे । “अखिल नेपालको विद्यार्थी आन्दोलनको मूलधार मात्र नभई राजनीतिक भूमिका खेलेको संस्था हो”, उनले भने । 
एमाले महासचिव शङ्कर पोखरेलले नेपालको राष्ट्रिय राजनीतिलाई कमजोर पार्न विदेशी चलखेल भइरहेको आरोप लगाए । एमाले स्थायी कमिटी सदस्य भानुभक्त ढकालले स्ववियु निर्वाचनसँग महाधिवेशन जोडिएकाले विद्यार्थीले जायज माग उठाउनुपर्ने बताए । 
एमाले केन्द्रीय सदस्य तथा अखिलका पूर्वअध्यक्ष माधव ढुङ्गेलले नेपालको  राजनीतिक आन्दोलनमा विद्यार्थीले महत्वपूर्ण भूमिका निर्वाह गरेको स्मरण गरे । अखिल अध्यक्ष सुनिता बरालले महाधिवेशलाई विद्यार्थी आन्दोलनको रुपान्तरणको रुपमा लैजाने उल्लेख गरिन् ।  
महाधिवेशनमा देशभरिबाट एक हजार पाँच सय ८८ प्रतिनिधि सहभागी छन् । महाधिवेशन सात वर्षपछि हुन लागेको हो । महाधिवेशनले आगामी दुई वर्षका लागि नयाँ नेतृत्व चयन गर्नेछ । 
 

प्रकाशित मिति: मंगलबार, फागुन २, २०७९  १९:५५
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार