यातायात मजदुर र सरकारबीच ५ बुँदे सम्झौता 

उच्चस्तरीय कार्यदलमार्फत समस्या समाधानको खोजी गरिने
मंगलबार, फागुन २, २०७९

काठमाडौँ । आन्दोलनमा उत्रिएका यातायात मजदुर संगठन र सरकारबीच ५ बुँदे सम्झौता भएको छ ।
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा मंगलबार बिहान भएको वार्तामा ५ बुँदे सम्झौता भएको हो । सम्झौताअनुसार माघ २९ मा गठित यातायात सुधार कार्यदलको प्रतिवेदन प्राप्त नहुँदासम्म यातायात सुचारु गर्न सम्बद्ध निकायहरूलाई अनुरोध गर्ने, नयाँ बसपार्क क्षेत्रमा लुटपाटमा संलग्नलाई कारबाही गर्ने र निर्दोषलाई रिहाइ गर्ने लगायत विषय समेटिएका छन् । 
यातायात मजदुरले गरेको आन्दोलनका विषयलाई लिएर सरकार, यातायात व्यवसायी र यातायात मजदुरबीच सिंहदरबारमा वार्ता भएको हो । उपप्रधानमन्त्री एवम् भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठको संयोजकत्वमा आज बिहान बसेको बैठकले यातायात मन्त्रालयले बनाएको उच्चस्तरीय कार्यदलमार्फत यातायात क्षेत्रका समस्या समाधान गर्ने निर्णय गरेको हो । 
कार्यदलको बैठक बसेर यातायात व्यवसायी तथा मजदुरले राखेका जायज माग सम्बोधन गर्नेबारे बैठकमा छलफल भएको थियो । 
छलफलमा यातायात क्षेत्रको समस्या समाधानका लागि मन्त्रालय गम्भीर रुपमा लाग्ने उपप्रधानमन्त्री श्रेष्ठले प्रतिवद्धता व्यक्त गरेका थिए । सरकारसँगको सहमतिपछि आज मध्यह्नदेखि उपत्यकामा सार्वजनिक यातायात बन्दका कार्यक्रम स्थगित गरिएको थियो । बैठकमा मन्त्रीसहित भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव यातायात व्यवस्था विभागका महानिर्देशक तुलसीनाथ गौतम, काठमाडौँ उपत्यका ट्राफिक कार्यालयका प्रमुख मीरा चौधरी, नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका अध्यक्ष विजय स्वाँर, यातायात मजदुरका नेताको सहभागिता रहेको थियो । 
यातायात मजदुरको आन्दोलनका कारण सोमबार बालाजु क्षेत्रमा तनावग्रस्त बनेको थियो । दुईवटा प्रहरी भ्यानमा आगो लागेको र नयाँ बसपार्कस्थित  लोह्त्से मल तोडफोड तथा चोरी भएको थियो ।

यस्ता छन् सम्झौताका ५ बुँदा

१. उपत्यकाबाटबाहिर सञ्चालन हुने सवारीसाधनका सम्बन्धमा उठेका विषयहरूका सम्बन्धमा मिति २०७९–१०–२९ मा गठित यातायात सुधार कार्यदलको प्रतिवेदन प्राप्त नहुन्जेलसम्म यातायात सुचारु सञ्चालनको व्यवस्थापनका लागि सम्बद्ध निकायहरूलाई अनुरोध गर्ने । 

२. मिति २०७९–११–०१ गते काठमाडौँस्थित गोंगबु नयाँ बसपार्कमा मजदुरहरूले गरेको कार्यक्रममा भएको घटना दुःखपूर्ण रहेको र लुटपाट तथा आक्रमणमा संलग्न दोषीलाई कारबाही गर्ने र आन्दोलनका क्रममा मिति २०७९–११–१ र २ गते पक्राउ परेका निर्दोष व्यक्तिहरूलाई तत्काल रिहाइ गर्ने ।

३. क मिति २०७९–१०–११ गते समग्र यातायात क्षेत्र सुधारका लागि उच्चस्तरीय यातायात सुधार सुझावका लागि कार्यदल गठन भएकोले सो कार्यदलले यातायातसँग सरोकार राख्ने सबै सम्बद्ध पक्षसँग छलफल गरी सुझाव लिने ।

ख) मिति २०७९–१०–२९ मा गठित यातायात सुधार कार्यदलमा सरोकारवाला सम्बद्ध महासंघ, संघ र संगठनका प्रतिनिधिहरूलाई आवश्यकताअनुसार आमन्त्रण गर्ने ।

४. मिति २०७९–११–०२ गते आव्हान गरिएको सार्वजनिक यातायात हडताल कार्यक्रम स्थगन गर्ने र यातायात सुधार सुझाव कार्यदलको प्रतिवेदन प्राप्त नहुन्जेलसम्म यसअघि आह्वान गरिएका सबै कार्यक्रम स्थगन गर्ने ।

५. काठमाडौँ महानगरपालिका र ल्होत्से बहुउद्देश्यीय प्रा.लि.बीच गोंगबुस्थित नयाँ बसपार्कको लागि भएको सम्झौताका सम्बन्धमा काठमाडौँ महानगरपालिकाबाट प्राप्त प्रतिवेदन अध्ययन गर्ने, काठमाडौँ महानगरपालिकाले यसको अनुगमन गर्ने साथै उक्त प्रा.लि., महानगरपालिका र सम्बद्ध मजदुर संघसंगठन र यातायात व्यवसायी महासंघहरूबीच छलफल गर्ने र यसको संयोजन भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले गर्ने । 

प्रकाशित मिति: मंगलबार, फागुन २, २०७९  १९:२६
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार