भूकम्पका कारण टर्की र सिरियामा झन्डै ४० हजारको मृत्यु

मंगलबार, फागुन २, २०७९

टर्की । गत साता गएको भूकम्पका कारण टर्की र सिरियामा झन्डै ४० हजार जनाको मृत्यु भएको अधिकारीहरूले बताएका छन् । टर्कीको विपद् व्यवस्थापन आयोगका अधिकारीहरूका अनुसार त्यहाँ अहिलेसम्म मृत्यु हुने मानिसको सङ्ख्या ३२,००० जति पुगेको छ । संयुक्त राष्ट्रसङ्घका अनुसार सिरियामा कम्तीमा ५,७०० जनाको मृत्यु भएको पुष्टि भइसकेको छ । राष्ट्रसङ्घले विपद्‌मा परेर मृत्यु हुने मानिसको सङ्ख्या बढेर दोबर हुनसक्ने चेतावनी दिएको छ । राष्ट्रसङ्घका अनुसार टर्की र सिरियामा उद्धार गर्ने चरण लगभग 'सकिने क्रममा छ' र त्यहाँ अब उक्त ज्यान जोगिएका मानिसहरूको हेरचाह र पुनर्स्थापनामा ध्यान केन्द्रित गरिने छ ।
राष्ट्रसङ्घका अनुसार अधिकारीहरूले आवास, खाद्यान्न अनि स्वास्थ्य सेवामा ध्यान केन्द्रित गर्न थालेका छन् । यद्यपि त्यहाँ अझै केहीको जीवितै उद्धार भइरहेको छ ।
आइतवार भूकम्प गएको १३९ घण्टापछि हाटाई प्रान्तको एक भवनको भग्नावशेषबाट सात महिनाका बालकलाई जीवितै उद्धार गरिएको थियो । त्यस्तै १४७ घण्टा पछि हाटाई मै १२ वर्षकी बालिका र १५० घण्टापछि एक जना ६४ वर्षकी महिलाको सफल उद्धार गरिएको थियो ।  भूकम्पले उत्तरी सिरियामा ठूलो क्षति पुर्‍याएको छ । त्यहाँ राहत सामग्री र अन्य सहायता वितरण गर्न दिन सिरिया सरकार थप दुईवटा नाका खोल्न सहमत भएको छ ।

vu ta1675954720.jpg
‘यसबाट ठूलो फरक पर्नेछ । अहिले हामी केवल एउटा नाका प्रयोग गरिरहेका छौँ’, संयुक्त राष्ट्रसङ्घका महासचिवका एक प्रवक्ताले बताए । गृहयुद्धका कारण यसअघि ठूलो क्षति बेहोरेको सिरियामा भूकम्पपीडित मानिसहरू सहायता नपाएकाले निकै आक्रोशित भएका छन् ।
बशर अल–असद नेतृत्वको सरकारले पश्चिमा देशले सिरियामाथि लगाएका प्रतिबन्धहरूका कारण उद्धारकार्य राम्ररी गर्न नसकिएको दाबी गरेको छ ।
यद्यपि अन्तर्राष्ट्रिय सहयोग संस्थाहरूले सिरिया सरकारमा विद्यमान अव्यवस्था र देशका सबै क्षेत्रमा काम गर्न उसको अनिच्छाका कारण समस्याहरू देखा परेको बताएका छन् ।

चुनौती
टर्की र सिरियामा यो साता तापमान कम हुने अनुमान गरिएको छ जसले उद्धार कार्यमा जुटेका अनि घरबारविहीन अवस्थामा पुगेका सर्वसाधारणहरूको कठिनाइ बढाउने छ । यसैबीच अमेरिकी सरकारले सिरियाका राष्ट्रपति बसर अल असदलाई विद्रोहीहरूको नियन्त्रणमा रहेको उत्तरी सिरियामा थप सहायता पुर्‍याउन दिन आग्रह गरेको छ ।
सिरियाको गृहयुद्धको क्रममा एक दशकभन्दा बढी समयदेखि मानिसहरूलाई भग्नावशेषबाट बाहिर निकाल्ने कुरामा पोख्त ह्वाइट हेल्मेट सङ्गठनका अनुसार त्यहाँका सर्वसाधारणहरूले निराश अनि आफूहरूलाई बेवास्ता गरिएको महसुस गरेका छन् । टर्कीका अधिकारीहरूका अनुसार सोमवार भत्किएका भवन निर्माणको सम्बन्धमा ११३ जनालाई पक्राउपुर्जी जारी गरिएको छ ।

tar1675684759.jpg

नेपालले पनि पठायो सहयोग
यसैबीच भूकम्पबाट प्रभावित क्षेत्रमा नेपालले २२ टनभन्दा बढी अत्यावश्यक सामग्री पठाएको छ ।
परराष्ट्र मन्त्रालयका अनुसार नेपालले सोमवार औषधि, चिकित्सकीय सामग्री, न्यानो कपडा र अन्य अत्यावश्यक सामग्री पठाएको हो । टर्किश एअरलाइन्सको उडानमार्फत् राहत सामग्री पठाइएको हो।
गत साता प्रधानमन्त्री पुष्पकमल दाहालको अध्यक्षतामा बसेको एक आकस्मिक बैठकले टर्कीलाई सहयोग गर्ने निर्णय गरेको थियो । सन् २०१५ मा नेपालमा भूकम्प जाँदा टर्कीले नेपाललाई सहयोग गरेको थियो ।
टर्कीको गाजियान्टेप प्रान्तमा आएको पहिलो भूकम्प ७.८ म्याग्निट्यूडको थियो । नेपालमा सन् २०१५ मा आएको विनाशकारी भूकम्प पनि ७.८ म्याग्निट्यूडकै थियो । टर्कीमा परकम्पका रूपमा आएको दोस्रो भुइँचालो ७.५ म्याग्निट्यूडको थियो । यस्तो भुइँचालोलाई ठूलो मानिन्छ । टर्कीमा आएको पहिलो भूकम्पको केन्द्रबिन्दु जमिनको सतहभन्दा केवल १८ किलोमिटर मुनि थियो । त्यसैले भवनहरू र अन्य भौतिक संरचनामा ठूलो क्षति पुग्यो ।
लन्डनस्थित यूनिभर्सिटी कलेजका जोखिम तथा विपद् न्यूनीकरण विभाग प्रमुख प्राध्यापक जोआना फोरे–वाकर भन्छिन्,‘विगत १० वर्षमा दुई वटा मात्रै त्यति म्याग्निच्युडका र त्यसभन्दा अघिल्लो दशकमा चार वटा त्यस्ता विनाशकारी भूकम्प गएका छन् ।’
तर भूकम्पको शक्तिका कारण मात्रै विनाश निम्तिने होइन । यो भूकम्प बिहान सबेरै आएका बेलामा मानिसहरू घरभित्रै सुतिरहेका थिए । घर तथा भवनहरू कति बलिया छन् कुराले पनि भूकम्पका कारण हुने क्षति फरक पर्न सक्छ ।
पोर्ट्स्मथ यूनिभर्सिटीका ज्वालामुखी र जोखिम सञ्चारसम्बन्धी अध्यापन गरिरहेकी डा. कार्मेन सोलाना सिरिया र दक्षिण टर्कीमा भूकम्प प्रतिरोधात्मक संरचनाहरूको अवस्था निकै खराब रहेको बताउँछिन् ।
‘त्यसकारण अब जीवन बचाउने कुरा प्रतिकार्यमा निर्भर रहन्छ। बाँचिरहेका मानिसहरूको उद्धारका लागि २४ घण्टा निकै महत्त्वपूर्ण हुन्छ र ४८ घण्टा पछि जीवितै उद्धार गर्न सकिने सम्भावना निकै कम हुन्छ’, उनले भनिन् । यो यस्तो क्षेत्र हो जहाँ विगत २०० वर्षयता ठूलो भूकम्प आएको थिएन । त्यसैले पनि पनि यहाँ भूकम्प आउँदा गरिनुपर्ने तयारीको मात्रा भूकम्प आइरहने क्षेत्रभन्दा निकै कम थियो ।–बीबीसी 

प्रकाशित मिति: मंगलबार, फागुन २, २०७९  १५:३३
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार