सार्वजनिक बिदापछि ‘जनयुद्ध दिवस’ले वैधानिकता पायो : प्रधानमन्त्री प्रचण्ड

सोमबार, फागुन १, २०७९

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले फागुन १ गते मनाइने जनयुद्ध दिवसले वैधानिकता पाएको बताएका छन् । माओवादी केन्द्रका अध्यक्षसमेत रहेका प्रधानमन्त्री प्रचण्डले सोमबार पार्टी मुख्यालय पेरिसडाँडामा आयोजित कार्यक्रममा ढिलै भए पनि जनयुद्ध दिवस वैधानिक तवरबाट स्थापित भएको दाबी गरे । प्रधानमन्त्री प्रचण्डले जनयुद्ध दिवस माओवादीको मात्र नभई राष्ट्रकै सम्पत्ति भएको टिप्पणी गरे ।
‘वैधानिक तवरबाट स्थतापित गरिनुपर्थ्यो । ढिलै भए पनि हिजो सरकारबाट जनयुद्ध दिवस मनाउने निर्णय भयो । एक दिन बिदा दिने निर्णय गरियो’, प्रधानमन्त्री प्रचण्डले भने, ‘यो निर्णय आफैंमा ऐतिहासिक हो । परिवर्तनन ल्याउने प्रमुख आन्दोलन र औचित्य सिद्ध गर्नुका निम्ति ऐतिहासिक आवश्यकतालाई मनन गरेर नै मन्त्रिपरिषदबाट यो निर्णय गरेको हुँ । अब यो माओवादीको मात्र भएन, नेपाल राष्ट्रकै सम्पती बन्न पुग्यो ।’

May be art of 3 people and people standing
जनयुद्धको जगमा स्थापित अधिकार र उपलब्धि राष्ट्रका साझा सम्पत्ति भएको उनले बताए । जनयुद्ध नेकपा माओवादीले नेतृत्व गरेको भएपनि जनयुद्ध पहिचान, अधिकार, मुक्ति, न्याय र स्वतन्त्रता चाहने सम्पूर्ण मुक्तिकामी एवं परिवर्तनप्रेमी नेपालीहरूको साझा दिवस भएको उनले दाबी गरे ।

May be an image of 8 people and people standing
माओवादी आन्दोलनका विभिन्न पक्षलाई एकताबद्ध हुन आह्वान प्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले माओवादी आन्दोलनका विभिन्न पक्ष (धार) लाई सामाजिक न्याय र रुपान्तरणका निम्ति एकताबद्ध भएर अगाडि बढ्न अपिल गरेका छन् । उनले मुलुकको समृद्धिका लागि माओवादीका विभिन्न धारबीच एकता आवश्यक रहेकोमा जोड दिए । “यो हामी सबैका निम्ति खुसी र गर्वको कुरा पनि हो, केही समयदेखि आन्दोनललाई एकताबद्ध गर्ने प्रक्रिया अगाडि बढेको छ”, उनले भने, “सबैले आआफ्नो ढङ्गले त्यो एकता प्रक्रियालाई निष्कर्षमा पु¥याउने प्रतिबद्धता पनि गरेका छन् ।”
आफैँले पनि धेरै समूहको नेतृत्वसँग पनि पार्टी एकताका लागि विभिन्न छलफल चलाएको उल्लेख गर्दै उनले छिट्टै पार्टी एकताको प्रक्रिया अगाडि बढ्ने विश्वास व्यक्त गरे । “त्यसले माओवादी नेता कार्यकर्तामा मात्र होइन आम नेपाली जनतालाई पनि फेरि एक पटक नयाँ ढङ्गले उत्साहित गर्नेछ, नयाँ ढङ्गले सङ्गठित गर्ने काम हुनेछ”, प्रधानमन्त्री प्रचण्डले  भने । 
अध्यक्ष प्रचण्डले माओवादी आन्दोलनभित्रका मात्रै होइन, कम्युनिष्ट र समाजवादी आन्दोलनका शक्तिहरुसँग पनि समाजवादी मोर्चा बनाएर जाने सैद्धान्तिक सहमति बनेको पनि बताए । “भोलिको नेपालको नेतृत्व लिन विकल्पका रुपमा छिट्टै एउटा समाजवादी मोर्चा अगाडि आउनेछ”, उनले भने, “यसका लागि तपाईंहरुले आआफ्नो ठाउँबाट पहल गर्नुपर्ने छ ।”

May be an image of 6 people, people standing, monument and outdoors

अर्थतन्त्र र राजनीतिको गम्भीर चुनौतीको वर्तमान अवस्थामा आफूले सरकारको नेतृत्व लिएको जनाउँदै उहाँले आफूहरुलाई असफल हुने कुनै छुट नभएको बताए । “अर्थतन्त्र र राजनीतिको स्थिति के छ तपाईं हामी सबैलाई थाहा छ । यो सबै सन्दर्भमा मैले सरकारको नेतृत्व गर्ने अवसरलाई चुनौतीपूर्ण अवसरका रुपमा लिएको छु”, प्रधानमन्त्री प्रचण्डले भने, “हामीलाई असफल हुने बिल्कुल छुट छैन । हामीले सामाजिक न्यायको क्षेत्रमा सुशासनका क्षेत्रमा र आर्थिक विकासको क्षेत्रमा फड्को मार्नै पर्ने छ ।”
 

प्रकाशित मिति: सोमबार, फागुन १, २०७९  १३:५६
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार