सोसल मिडिया
Contact Us
युनिकोड
काठमाडौं । सरकारले अस्ट्रेलियाका लागि नेपाली राजदूत महेश दाहाललाई फिर्ता बोलाउने निर्णय गरेको छ । मन्त्रिपरिषद्को आइतबार (वैशाख १९ गते) को निर्णय अनुसार राजदूत दाहाललाई फिर्ता बोलाउने निर्णय भएको हो । दाहाललाई एमाले र माओवादी मिलेर बनेको तत्कालीन नेकपाले २०७६ जेठमा राजदूत बनाउने निर्णय गरेको थियो । मन्त्रिपरिषद्को सिफारिसअनुसार राष्ट्रपति विद्यादेवी भण्डारीले दाहाललाई २०७६ असोज २८ गते राजदूतमा नियुक्त गरेकी थिइन् । तत्कालीन राजदूत लक्की शेर्पालाई फिर्ता बोलाएर नेकपाका कार्यकारी अध्यक्ष तथा हाल माओवादी केन्द्र पार्टीका अध्यक्ष पुष्पकमल दाहालको सिफारिसमा दाहाललाई राजदूतका लागि सिफारिस गरिएको थियो । नेकपालाई सर्वोच्च अदालतले पुरानै अवस्थामा ल्याएर एमाले र माओवादी पार्टी बनाइदिएपछि एमाले नेतृत्वको केपी ओली सरकारले माओवादी कोटाका राजदूत दाहाललाई फिर्ता बोलाउने निर्णय गरेको हो । प्रधानमन्त्री ओली र माओवादी केन्द्रका अध्यक्षबीच विवाद बढिरहँदा राजदूत दाहाललाई सरकारले फिर्ता बोलाउने निर्णय गरेको हो । सत्ता भागबण्डाको राजनीति उत्कर्षमा पुगेसँगै सरकारले माओवादी सिफारिसमा रहेका गण्डकी र सुदूरपश्चिमका प्रदेश प्रमुख फेर्ने निर्णयका साथमा अस्ट्रेलियास्थित राजदूत महेशराज दाहाललाई फिर्ता गर्ने निर्णय गरेको हो । परराष्ट्र स्रोतका अनुसार, जापानस्थित राजदूत प्रतिभा राणा र ओमानस्थित राजदूत शर्मिला पराजुली ढकालको राजदूत पदावधि पुरा भएर पनि ‘अनिश्चितकालका लागि’ म्याद थप गरिएको छ । मन्त्रिपरिषद्मा परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले ल्याएको राजदूत फिर्ताबारेको प्रस्तावमा कुनै छलफल भने भएकै थिएन । फरक राजनीतिक पृष्ठभूमि र सिफारिसमा नियुक्ति पाएका भए पनि जापानस्थित राजदूत राणा (राप्रपा) र ओमानस्थित ढकाल (तत्कालीन फोरम लोकतान्त्रिक) को म्याद थप गरिएको छ । परराष्ट्र मन्त्रालयले ‘कार्यसम्पादन मूल्यांकन’ आधारमा राजदूत नियुक्ति वा हेरफेर गर्न सक्ने भन्दै आए पनि अहिलेसम्म यो मूल्यांकनको आधार देखिएको छैन । यीबाहेक म्यानमारस्थित राजदूत भीम उदास (कांग्रेस), साउदी अरेबियास्थित राजदूत महेन्द्रप्रसाद सिंह राजपूत (माओवादी), बहराइनस्थित राजदूत पदम सुन्दास (माओवादी) को सिफारिसमा गएका हुन्, उनीहरुको कार्यकाल पूरा भइसकेको आधारमा यिनका बारेमा भने केही निर्णय बाहिर आएको छैन ।