नेता–कार्यकर्तामा ऊर्जा थप्न प्रचण्डले भने, ‘आगामी निर्वाचनबाट माओवादी फेरि शक्तिशाली हुन्छ, भविष्य उज्ज्वल छ’

शनिबार, माघ २८, २०७९

काठमाडौं । प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नेता–कार्यकर्तालाई उत्साह थप्न माहिर नै मानिन्छन । शनिबार राजधानीमा पनि उनले नेता–कार्यकर्तालाई भविष्यको बाटो उज्ज्वल भएको बताउँदै पार्टी काममा सक्रिया भएर लाग्न प्रेरित गरे । उनले भने, ‘माओवादी पार्टी क्रमशः एकता र रूपान्तरणको प्रक्रियामा गएको भन्दै पार्टीको भविष्य उज्ज्वल छ ।’ 
पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा शनिवार नेपाल दलित मुक्ति मोर्चाको केन्द्रीय समिति बैठकमा उनले निर्वाचनपछि सरकारको नेतृत्व गर्ने अवसर पाए पनि चुनौतीपूर्ण भएको भन्न छुटाएनन् । सत्ता गठबन्धनमा समस्या आएकोतर्फ उनको संकेत थियो । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सरकारबाट बाहिरिन, नागरिक उन्मुक्ति पार्टीले सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्रीलाई विश्वासको मत नदिनु तथा एमालेले राष्ट्रपतिमा अड्को थाप्नुलाई उनले सत्ता गठबन्धनमा दरार आउनुका रुपमा उल्लेख गर्न चाहे । 
सम्बोधनका क्रममा उनले भने, ‘एक्लो प्रधानमन्त्रीले मात्रै गरेर सबै चीज हुँदैन, केन्द्र, प्रदेश र स्थानीय तहका सरकार सबैले राम्रो गर्दा देशमा राम्रो परिणाम आउँछ। पार्टीका पनि सबै नेता–कार्यकर्ताले जनताको हितअनुसार काम गरेर देशलाई परिणाम दिनै पर्छ।’
सामाजिक न्याय, सुशासन र समृद्धि सरकारको प्राथमिकता भएको उल्लेख गर्दै यो लक्ष्य हासिल गर्न सिंगो देशलाई एकताबद्ध बनाएर लैजानुपर्ने बताए ।


उनले भने, पार्टीको स्थायी समिति बैठकले सरकारलाई प्रभावकारी बनाउन पार्टीको तर्फबाट भूमिका खेल्ने निर्णय गरेको छ। पार्टीको २ महिने संगठनात्मक अभियान चलाउँदै छौँ । जनता र कार्यकर्ताका कुरा सुनेर आउन भनिएको छ। अर्कोतिर पार्टी एकता र समाजवादी मोर्चाको तयारी गरिरहेका छौँ। सम्भव हुने पार्टीहरूसँग तत्काल पार्टी एकता गर्छौँ, तत्काल एकता सम्भव नहुने पार्टीहरूसँग समाजवादी मोर्चा बनाएर एकताको आधार तयार पार्छौँ।’
प्रधानमन्त्री प्रचण्डले भनेका छन्, “निर्वाचनपछि हामीले सरकारको नेतृत्व गर्ने अवसर पाएका छौँ। यो हाम्रा लागि चुनौतीपूर्ण अवसर हो। यसको भरपुर सदुपयोग गरेर देश र जनताका निम्ति राम्रो परिणाम दिनैपर्दछ। एक्लो प्रधानमन्त्रीले मात्रै गरेर सबै चीज हुँदैन, केन्द्र, प्रदेश र स्थानीय तहका सरकार सबैले राम्रो गर्दा देशमा राम्रो परिणाम आउँछ। पार्टीका पनि सबै नेता–कार्यकर्ताले जनताको हितअनुसार काम गरेर देशलाई परिणाम दिनैपर्छ।”
उनले थपे, “अहिले पनि अप्ठ्याराहरू छन्, चुनौतीहरू छन्। ती सबैलाई हामी छिचोल्छौँ र अगाडि बढ्छौँ। अर्को निर्वाचनसम्म जाँदा हाम्रो पार्टी फेरि शक्तिशाली भएर आउँछ। देशको बैकल्पिक शक्ति हामी नै हौँ भन्ने तथ्य परिणामबाट पनि स्थापित हुन्छ। त्यसरी हेर्दा मैले माओवादी पार्टीको भविष्य उज्जवल नै देखिरहेको छु, हामी फेरि उचाइका साथ अघि बढ्छौँ।”

प्रधानमन्त्री प्रचण्डले पुस २६ मा प्रतिनिधिसभाबाट प्राप्त मतले माओवादी आन्दोलनलाई न्याय भएको बताए । उनले भने, “पुस २६ को प्रतिनिधिसभामा जुन विश्वासको मत प्राप्त भयो। त्यो इतिहासकै अभूतपूर्व रह्यो। त्यसले माओवादी आन्दोलनप्रति न्याय भएको छ, यसको नेतृत्वप्रति न्याय भएको छ। त्यो मत प्रधानमन्त्रीलाई प्राप्त मत मात्र होइन, परिवर्तनको नीति र नेतृत्वलाई प्राप्त मत हो। यसले उत्पीडित वर्त, जाति, क्षेत्र, लिंगप्रति पनि न्याय भएको मैले महसुस गरेको छु।”
प्रचण्डले भने, “संसदमा झण्डै शतप्रतिशत मत प्राप्त गर्नु सामान्य कुरा होइन। यसको ऐतिहासिक महत्व छ। भोलि कसरी जान्छ अहिल्यै भन्न सकिँदैन। तर, एउटा इतिहास त लेखियो। यसलाई कसैले मेट्न वा उल्टाउन सक्दैन। त्यसले के प्रमाणित गरेको छ भने माओवादी नेतृत्वले मात्र देशलाई एकतावद्ध गर्नसक्छ, सबै दलहरूलाई मिलाएर लैजान सक्छ। माओवादी नेतृत्वले मात्र राष्ट्रिय सहमति कायम गर्न सक्छ। त्यसैले हाम्रो आन्दोलन र नेतृत्व देशको सर्वमान्य भएको छ।”
उनले भने, “हिजो ठूलो आन्दोलन र बलिदानी गर्‍यौँ। त्यसको बलमा धेरै अधिकार प्राप्त भएका छन्। त्यो पर्याप्त छैन, तर ती केही पनि होइनन् भन्ने होइन। अहिले फेरि परिवर्तनविरोधी शक्तिहरू जनताका अधिकार कुण्ठित गर्न लागिरहेका छन्। उत्पीडितहरू आफै नजागी, आफै अग्रसर नभइकन दयाले कसैले अधिकार दिँदैन।”
“दलित समुदायको संघर्ष र भूमिकाबिना राजनीतिक परिवर्तन सम्भव थिएन । नेपालको क्रान्तिकारी आन्दोलनमा दलितहरूको महत्वपूर्ण छ” प्रधानमन्त्रीले भने, “शान्तिप्रक्रियामा आएपछि हाम्रो विचार र संस्कृतिमा स्खलन, हिजोका क्रान्तिकारी निर्णय र संस्कारबाट हामी पछाडि फर्केजस्तो अनुभूति हुन्छ । प्रगतिशील संस्कारहरू मिचिएका छन्। सामन्ती पितृसत्तात्मक सोंच ब्यूतिन खोज्दैछ, पूरानो वर्ग र सत्ता आफू फेरि हावी हुन कोशिस गरिरहेको छ। यसलाई रोक्न उत्पीडितहरू जागरूक हुनैपर्छ। आफ्नो अधिकार प्राप्तिका लागि योगदान गर्ने पार्टी, नीति र नेतृत्वको पक्षमा उभिनुपर्छ।” 

प्रकाशित मिति: शनिबार, माघ २८, २०७९  १८:५६
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार