सोसल मिडिया
Contact Us
युनिकोड
टर्की । टर्कीमा विनाशकारी भूकम्प गएको पाँच दिनसम्म पनि भत्किएका भवन र संरचनाका भग्नावशेषबाट मानिसहरूको जीवितै उद्धार भइरहेको छ । भूकम्पको केन्द्रबिन्दु रहेको गाजियान्टेपमा एकजना गर्भवती महिला र उनकी सानी छोरीको ११५ घण्टापछि जीवित उद्धार गरिएको हो । भत्किएको भवनबाट ती महिला र बालिकालाई निकाल्दै गरेको भिडिओ सामाजिक सञ्जालमा राखिएका छन् । टर्कीमा गत सोमवार बिहानै ७.८ म्याग्निच्युडको भूकम्प आएको थियो । अपराह्न पुन ७.५ म्याग्निच्युडको दोस्रो भूकम्पले थप क्षति पुर्याएको थियो । दुवै भूकम्पमा परि टर्की र सिरियामा मृत्यु हुनेहरूको सङ्ख्या २४,००० नाघेको छ । भूकम्प प्रभावित क्षेत्रहरूबाट ११० घण्टा पछिसम्म पनि एक जना किशोरी सहित कैयौँ मानिसहरू जीवितै उद्धार गरिएका विवरण आएका छन् । जर्मन विपद् प्रतिकार्य संस्थाले भग्नावशेषमा च्यापिएकी एकजना बालिकालाई ११० घण्टापछि जीवितै उद्धार गरेको भिडिओ सार्वजनिक गरेको छ । टर्कीको मानवीयता सहायता संस्थाले समेत एकजना पुरुषलाई स्ट्रेचरमा हालेर एम्बुलेन्समा लैजाँदै गरेको भिडिओ सार्वजनिक गरेको छ। पहिलो र सबैभन्दा शक्तिशाली भूकम्पको केन्द्रबिन्दु रहेको गाजियान्टेपमा शनिवार समेत परकम्पहरू महसुस भएका छन् । पछिल्लो परकम्प ४.६ म्याग्निच्युड मापन गरिएको छ ।
पछिल्लो अवस्था सिरियाका सरकारी सञ्चार माध्यमहरूका अनुसार दमास्कसले अब आफ्ना नियन्त्रण रेखा हुँदै विद्रोही नियन्त्रित क्षेत्रमा अन्तर्राष्ट्रिय सहायता पठाउने अनुमति दिएको छ । राष्ट्रसङ्घीय महासचिवका एकजना प्रवक्ताले बताए अनुसार उनीहरू विद्रोही पकड क्षेत्रमा ‘सक्दो छिटो’ थप सहायता पुर्याउने प्रयास गरिरहेका छन् । उनले यति बेला सिरियामा रहेको भन्दा ‘थप जटिल आपत्कालको कल्पना गर्न कठिन रहेको’ बताएका छन् । सिरियामा मात्र ५३ लाख मानिसहरू घरबारविहीन बनेको आशङ्का गरिएको छ । संयुक्त राष्ट्रसङ्घले ठन्डी मौसमकाबीच सीमाका दुवैतर्फ झन्डै नौ लाख मानिसहरूलाई तत्काल तातो खाना आवश्यक पर्ने जनाएको छ ।
आवास, पानी, इन्धन र विद्युत् आपूर्तिको अभावका कारण टर्की र सिरियामा अझै कैयौँले ज्यान गुमाउन सक्ने विश्व स्वास्थ्य सङ्गठनले जनाएको छ । टर्कीका राष्ट्रपति रेजेप तय्यीप एर्दोआन र सिरियाका राष्ट्रपति बसर अल असदले सोमवार आ(आफ्नो देशमा भूकम्प प्रभावित क्षेत्रहरूको भ्रमण गरेका छन् । एर्दोआनले भूकम्पप्रति सरकारको प्रारम्भिक प्रतिक्रिया आफूले सोचे जस्तो छिटो नभएको स्वीकार गरे । विद्रोहीहरूको नियन्त्रणमा रहेको उत्तरी सिरियामा खटिएका एक चिकित्सकले चिकित्सकीय सहायता बढाउन देशहरूलाई आग्रह गरेका छन् ।