आर्थिक लाभ लिने किसिमको अडियो भेटिएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक प्रेमनाथ ठाकुर निलम्बित

शुक्रबार, माघ २७, २०७९

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक प्रेमनाथ ठाकुर निलम्बनमा परेका छन् । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले महाप्रबन्धक ठाकुरलाई निलम्बनको लागि पत्र पठाएको जानकारी दिएको छ ।
एक विदेशी एयरलाइन्सका प्रतिनिधिसँग आर्थिक लाभ लिने उद्देश्यले कुराकानी भएको सामग्री फेला परेकाले अनुसन्धानको लागि निलम्बन गरिएको हो । उनले थाई स्माइल एयरलाइन्सका प्रतिनिधिसँग लाभ लिने उद्देश्यले कुराकानी गरेको देखिएको छ ।
संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीको मन्त्रिस्तरीय निर्णयका आधारमा महाप्रबन्धकलाई निलम्बनका लागि प्राधिकरणका महानिर्देशकलाई पत्राचार गरिएको मन्त्रालयका सहसचिव राजेन्द्र कुमार केसीले जानकारी दिए । महाप्रबन्धक ठाकुरमाथि मन्त्रालय र अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पनि अनुसन्धान थाल्ने भएको छ।
ठाकुरले थाई स्माइल एयरलाइन्सका प्रतिनिधिसँग गैरकानुनी लाभ लिने उद्देश्यले गरेको कुराकानीको श्रव्य सामग्री प्राप्त भएकाले जाँचबुझ गर्ने सिलसिलामा निलम्बनका लागि नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशकलाई पत्राचार गरिएको हो । केही दिनपहिले मात्रै अख्तियारले विमानस्थलको आन्तरिकतर्फका प्रमुख पूर्ण चुडाललाई घुस बापतको रकमसहित पक्राउ गरेको थियो ।
महाप्रबन्धक ठाकुरले थाइ स्माइल एयरलाइन्ससँग घुस मागेका छन् । हाल बन्द रहेको थाइ एयरवेजले पाएको ग्राउन्ड ह्यान्डलिङलाई निरन्तरता दिन ठाकुरले एयरवेजका एक अधिकारीसँग ‘अन्डरटेबल’ रकम मागेका हुन् ।
अडिओमा ठाकुरले एयरवेजका अधिकारीसँग गरेको कुराकानी सुनिएको छ । उक्त कुराकानीका दौरान एयरवेजका अधिकारीले रकमको विषयमा आफूले माथिल्लो निकायमा कुरा गरेको, तर इन्भोइस (रसिद) विना दिन नमिल्ने जवाफ आएको बताउँछन् ।
त्यसपछि ठाकुरले यसको सबै जिम्मा आफूले एक व्यवसायीलाई दिएको उल्लेख गर्छन् । महाप्रबन्धक ठाकुरले घुसको रकम पनि उसैले बताउने उल्लेख गरेका छन् ।
‘उसले नै सबै मिलाउँछ, इन्भाइसका लागि पनि उसलाई नै भन्नुस्,’ उनले भनेका छन् ।
ठाकुरले थाइ एयरवेजको वेलफेयर फन्ड (कल्याणकारी कोष) बाट सो रकम उपलब्ध गराउन सकिने भन्दै यसका लागि बोससँग कुरा गर्नसमेत सुझाव पनि दिन्छन् । तर, एयरवेजका अधिकारीले इन्भोइसबिना रकम निकासा गर्न गाह्रो हुने गुनासो गर्छन् ।
 

प्रकाशित मिति: शुक्रबार, माघ २७, २०७९  १३:५७
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार