बागलुङमा पनि आजदेखि निषेधाज्ञा

मंगलबार, वैशाख २१, २०७८

बलेवा । कोरोना सङ्क्रमणको दर बढ्दै गएपछि बागलुङमा आजदेखि १० दिनका लागि निषेधाज्ञा जारी भएको छ । जिल्ला कोभिड–१९ व्यवस्थापन समितिको बैठकले वैशाख २१ गतेदेखि निषेधाज्ञा जारी गर्न जिल्ला सुरक्षा समितिलाई सिफारिश गरेपछि निषेधाज्ञा जारी भएको हो । समितिको निर्णयअनुसार बागलुङ नगरपालिकामा वैशाख महिनाभर निषेधाज्ञा जारी भएको छ । यसअघि बागलुङ नगरपालिका र बागलुङ उद्योग वाणिज्य संघले निषेधाज्ञाका लागि प्रशासनमा अनुरोध गरेका थिए । निषेधाज्ञाको समयमा सरकारी कार्यालय भने आंशिक खुल्नेछन् ।  कार्यालय प्रमुखले आलोपालो प्रणालीमा भीडभाड कम हुने गरी कार्यालय सञ्चालन गरेर अत्यावश्यक सेवा दिन समितिले निर्देशन दिएको छ ।

सङ्क्रमित जनप्रतिनिधिको मृत्यु

बागलुङमा कोरोना सङ्क्रमित एक महिलाको मृत्यु भएको छ । जिल्लाको ताराखोला गाउँपालिकाका ३० वर्षीया जनप्रतिनिधि महिलाको उपचारका क्रममा गए राति धवलागिरि अस्पतालमा मृत्यु भएको हो ।  श्वासप्रश्वासमा समस्या आएपछि अस्पताल आएकी उनको वैशाख १९ गते गरिएको जाँचमा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको थियो । अस्पतालको सघन उपचारकक्षमा राखेर उनको उपचार भइरहेको थियो । श्वासप्रश्वासकै समस्याका कारण उनको मृत्यु भएको अस्पतालका डा.शैलेन्द्र विक पोखरेलले बताए । उनी गाउँ कार्यपालिका सदस्य हुन् ।–रासस
 

प्रकाशित मिति: मंगलबार, वैशाख २१, २०७८  ०८:४४
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार