शक्तिशाली भूकम्पका कारण टर्की र सिरियामा करिब २०० जनाको मृत्यु

सोमबार, माघ २३, २०७९

अंकारा । शक्तिशाली भूकम्पका कारण करिब २०० जनाको निधन भएको टर्की र सिरियाको ठूलो भूभागमा उद्धारकर्ताहरूले खोज तथा उद्धारको काम जारी राखेका छन् । सात दशमलव आठ म्याग्निच्यूडको भूकम्पले टर्कीको गाजीयान्टेप प्रान्तलाई केन्द्रविन्दु बनाउँदा कैयौँ भवनहरू भत्किएका थिए । उक्त क्षेत्रमा लाखौँ सिरियाली शरणार्थीहरूको बसोबास छ । हालसम्म द्वन्द्व प्रभावित उत्तरी सिरियामा एक सयभन्दा बढी मृत्यु पुष्टि भएका छन् । उक्त भूकम्पको धक्का लेबनान र गाजामा समेत महसुस गरिएको थियो । टर्कीले सङ्कटकाल घोषणा गरेको छ । उसले अन्तर्राष्ट्रिय सहयोगका लागि अपिल गरेको छ।
राष्ट्रपति रेजेप तयीप एर्दोआनले सामाजिक सञ्जाल ट्विटरमार्फत् सन्देश दिँदै यो विपद्‌बाट सबै एकैसाथ पार लाग्ने बताएका छन् ।
उनले भनेका छन्, “हामी अपेक्षा गर्छौँ कि सकेसम्म चाँडो र कम क्षतिसहित हामी यो विपद्‌बाट पार पाउनेछौँ ।”
उनले प्रभावित क्षेत्रहरूमा खोज तथा उद्धार टोली तत्कालै पठाइएको भन्दै अरू युनिटहरूलाई पनि सतर्क अवस्थामा राखिएको बताए ।
भूकम्प गएको स्थान दक्षिण(पूर्वी टर्कीस्थित गाजीयान्टेप सिरियासँगको सीमानजिकै पर्छ । अमेरिकाको जियोलोजिकल सर्भेका अनुसार टर्कीको स्थानीय समयअनुसार बिहान ४ बजेर १७ मिनेटमा ७.८ म्याग्निच्युडको भूकम्प गएको हो ।

क्षतिको विवरण आउने क्रम जारी
भूकम्पको धक्का राजधानी अङ्कारासहित टर्कीका विभिन्न सहरहरूमा महसुस भएका विवरणहरू प्राप्त भएको छ । कैयौँ भवनहरू भत्किएका र त्यहाँ केही मानिस फसेका हुनसक्ने विवरणहरू सार्वजनिक भइरहेका छन् । त्यहाँ एउटा सपिङ मल भत्किएको छ।

टर्की गाजामा घरहरु करिब ४५ सेकेन्ड हल्लिएको थिए । टर्कीका भूकम्पविद् भूकम्प ७.४ म्याग्निट्युडको रहेको अनुमान गरेका छन् । उनीहरूका अनुसार केही मिनेटमै दोस्रो धक्का महसुस भएको थियो । टर्की विश्वको सबैभन्दा सक्रिय भूकम्पीय क्षेत्रहरू मध्ये एक हो । सन् १९९९ मा देशको उत्तर(पश्चिममा शक्तिशाली भूकम्प गएपछि १७,००० भन्दा बढी मानिसले ज्यान गुमाएका थिए । यसैबीच संयुक्त राज्य अमेरिकाले उक्त विपद्का विवरणबाट आफू गम्भीर रूपमा चिन्तित रहेको जनाएको छ । अमेरिकी राष्ट्रपति जो बाइडनले कसरी मद्दत पुर्‍याउन सकिन्छ भनेर विश्लेषण गर्न देशको अन्तर्राष्ट्रिय सहायता निकायलाई निर्देशन दिएका छन् ।

प्रकाशित मिति: सोमबार, माघ २३, २०७९  १२:१२
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार