रवि लामिछानेले पुनः कायम गरे नेपाली नागरिकता

आइतबार, माघ १५, २०७९

काठमाडौं । रवि लामिछानेले नेपाली नागरिकता पुनः कायम गरेका छन् । आइतवार दिउँसो जिल्ला प्रशासन कार्यालय काठमाडौं पुगेर लामिछानेले नागरिकता पुन कायम गरेका हुन् ।
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रहेका लामिछाने नागरिकता पुर्नकायमका लागि निवेदन दिन जिल्ला प्रशासन कार्यालय काठमाडौं थिए । शुक्रवार सर्वोच्च अदालतको संवैधानिक इजलासले रवि लामिछानेले नागरिकता पुनर्प्राप्ति नगरेको किटान गरेपछि सांसददेखि पार्टी सभापति पद गएको थियो ।
चितवन–२ बाट निर्वाचित लामिछानेको नागरिकताकै कारण सांसद पद खोसिएपछि सरकारबाट समेत बहिरिनु परेको थियो । उनी पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा उपप्रधान तथा गृहमन्त्री बनेका थिए । मन्त्री बनेको ३२ दिनमै उनी पदमुक्त बनेका थिए ।
अमेरिकी नागरिकता त्यागेपछि नेपाली नागरिकताको पुनः प्राप्तिका लागि उनी कानुन बमोजिम प्रक्रिया पूरा गर्न जिल्ला प्रशासन कार्यालय काठमाडौंमा पुगेका थिए ।
काठमाडौंका प्रमुख जिल्ला अधिकारी घनश्याम उपाध्यायाले लामिछानेले नागरिकता ऐन २०६३ को दफा ११ र नागरिकता नियमावलीको नियम ११ बमोजिम कागजात पेश गरेपछि नागरिकता प्रदान गरिएको बताए ।
यसैबीच राष्ट्रिय स्वतन्त्र पार्टीले रवि लामिछानेलाई आजै पुनः पार्टी सभापति बनाउने तयारी गरेको छ । शुक्रबार सर्वोच्च अदालतले अमेरिकाबाट फर्किएपछि नागरिकता पुनः प्राप्तिको प्रक्रिया पूरा नगरेको फैसला गरेपछि लामिछानेको गृहमन्त्री, सांसद र राष्ट्रिय स्वतन्त्र पार्टीको सभापति पद गुमेको थियो ।
सर्वोच्चको फैसलापछि लामिछानेले आइतबार नै जिल्ला प्रशासन कार्यालय पुगेर नागरिकता पुनः प्राप्ति गरेसँगै रास्वपाले पार्टी सभापतिमा लामिछानेलाई फर्काउने तयारी गरेको हो । लामिछानेको नागरिकता विवादमा सांसद पदसँगै पार्टी सभापति पद पनि गुमेसँगै पार्टीले हाल डोलप्रसाद अर्याललाई कार्यवाहक सभापति र संसदीय दलको नेता बनाएको छ ।

लामिछानेले नागरिकता लिएपछि सञ्चारकर्मीलाई कुनै प्रतिक्रिया दिएनन् । जिल्ला प्रशासन कार्यालय परिसरमा समर्थकहरूको ठूलो भीड जम्मा भएको थियो । 
जिल्ला प्रशासन कार्यालय काठमाडौं पुगेर लामिछानेले अमेरिकी नागरिकता लिएपछि स्वतः खारेज भएको नेपाली नागरिकता सक्रिय गराएका हुन् ।
लामो समय अमेरिका बसेर फर्किएका लामिछानेले अमेरिकी नागरिकता लिएपछि उनको नेपाली नागरिकता स्वतः खारेज भएको फैसला सर्वोच्च अदालतले शुक्रवार गरेको थियो । अदालतले उनले नेपाली नागरिकता पुनः प्राप्तिको प्रक्रिया पूरा नगरेको ठहर गरेपछि लामिछाने नागरिकता लिन प्रशासन कार्यालय पुगेका हुन् ।
नागरिकता ऐन र नियमावलीमा नेपालको नागरिकता पुनः प्राप्तिका लागि विदेशको नागरिकता त्यागेको निस्सा सहित मन्त्रालय र सम्बन्धित जिल्ला प्रशासन कार्यालयमा निवेदन दिनुपर्ने उल्लेख छ । यस्तो निस्सा दर्ता भएकै दिनदेखि नेपालको नागरिकता कायम हुने कानुनी व्यवस्था छ ।  लामिछानेले अन्य सेवाग्राही सरह लाइन लागेर नागरिकता लिएको उनका वकिलले बताएका छन् ।
“अब त नेपाली नागरिक हुनु भयो। अब आजै निर्वाचन आयोग पुगेर पार्टी सभापति पद पनि जगाउने भन्ने कुरा भएको छ,” रविका कानुनी सल्लाहकारले भने । 
लामिछानेले नागरिकता पुनः लिइसकेपछि अब उनलाई मन्त्री लगायत सार्वजनिक पद लिन बाटो खुलेको छ। नेपालको कानुनले सांसद नभए पनि छ महिनासम्म मन्त्री बन्न सक्ने सुविधा दिएको छ । लामिछाने फेरी मन्त्री बन्ने वा नबन्ने र उनको सांसद पद रिक्त भएपछि हुन लागेको उपनिर्वाचनमा भाग लिने वा नलिनेबारे निर्णय आइसकेको छैन । सर्वोच्चले उनको नागरिकताबारे फैसला गरेपछि शुक्रवार र शनिवार उनका समर्थकहरूले राजधानी काठमाडौंमा प्रदर्शन गरेका थिए । 
नागरिकता विवाद के हो
आफूले कहिल्यै पनि नेपालको नागरिकता त्याग नगरेको बताउँदै आएका लामिछानेले आफ्नो अमेरिकी नागरिकता सन् २०१८ मा रद्द गराएका थिए ।
लामिछानेले अमेरिकी नागरिकता त्यागेर फेरि नेपाली नागरिकता लिएको नदेखिएको र पहिलाकै नागरिकता देखाएर निर्वाचन आयोगमा दल दर्ता गरेको भन्ने दाबी सहित उनी विरुद्ध अदालतमा मुद्दा दायर भएको थियो । 
आमनिर्वाचनको मुखमा निर्वाचन आयोगमा परेको लामिछानेविरुद्धको उजुरीमा सुरुमा आयोगले केही कागजपत्र झिकाएको थियो । त्यसबेला प्रहरीले पनि अनुसन्धान थालेको जनाएको थियो । तर निर्वाचन परिणाम प्रकाशित भइसकेपछि आयोगले उम्मेदवारको अयोग्यतासम्बन्धी उजुरीको निर्णय आफ्नो क्षेत्राधिकारभित्र नपर्ने बताउँदै पन्छिएको थियो । त्यसपछि उक्त विषय अदालत पुगेको हो । रविराज बसौला र युवराज पौडेलले दायर गरेको रिटमा लामिछानेको सांसदको शपथ पनि रोकिनुपर्ने माग गरिए पनि अदालतले अन्तरिम आदेश नदिएपछि सांसद पदको शपथ लिए ।
माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई प्रधानमन्त्री बन्न समर्थन जनाउने लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीको निर्णयसँगै नयाँ सरकारमा लामिछाने उपप्रधान तथा गृहमन्त्री नियुक्त भएका थिए । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति समेत रहेका लामिछाने चितवन–२ बाट सांसद निर्वाचित भएका थिए ।
उक्त दलबाट प्रतिनिधिसभामा २० जना निर्वाचित भएका थिए ।

प्रकाशित मिति: आइतबार, माघ १५, २०७९  १४:३८
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार