वाग्मतीका नवनियुक्त ८ मन्त्रीले लिए शपथ

बुधबार, माघ ११, २०७९

हेटौंडा । वाग्मती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्मकट्टेलले मन्त्रिपरिषद् विस्तार गरेका छन् । जम्मकट्टेलको सिफारिसमा प्रदेश प्रमुख यादवचन्द्र शर्माले नवनियुक्त मन्त्रीहरूको नियुक्तिपछि शपथग्रहण गराएका छन् । वुधवार वाग्मती प्रदेशका ८ मन्त्रीले शपथग्रहण गरेका हुन् ।
एमालेले ४, माओवादी केन्द्रले मुख्यमन्त्रीसहित ४ मन्त्री र राप्रपाले ३ वटा मन्त्रालय लिएको छ । शपथ लिनेहरुमा एमालेबाट मकवानपुरमा एकालाल श्रेष्ठ श्रम रोजगार तथा यातायात मन्त्री, ललितपुरका रामेश्वर श्रेष्ठले स्वास्थ्य मन्त्री र काठमाडौंका केशव पोखरेलले पशुपन्छी तथा कृषि मन्त्री रुपमा शपथ लिएका छन् ।  एमालेका संसदीय दलका नेता चितवनका जगन्नाथ थपलिया यसअघि नै आर्थिक मामिला तथा योजना मन्त्री भैसकेका छन् ।
त्यसैगरी माओवादी केन्द्रबाट सिन्धुपाल्चोकका युवराज दुलाल भौतिक मन्त्री, सिन्धुलीका गंगा नारायण श्रेष्ठ आन्तरिक मामिला तथा कानुन मन्त्री र मकवानपुरकी कुमारी मोक्तानले फेरि पनि सामाजिक विकास मन्त्रीका रुपमा शपथ लिएका छन् । त्यस्तै राप्रपाबाट डम्बर तामाङ पर्यटन, उद्योग तथा सहकारी मन्त्री र राजु विष्ट वन तथा वातावरण मन्त्री रुपमा शपथ लिएका  छन्। यसअघि नै बिना विभागीय मन्त्री भएका राप्रपाका उद्धव थापाले खानेपानी, उर्जा तथा सिंचाई मन्त्रालय पाएका छन् ।
११ वटा मन्त्रालय रहने टुंगो लागेपछि मुख्यमन्त्री शालिकराम जम्कट्टेलले आज मन्त्रिपरिषद विस्तार गरेका हुन् । मंगलबार १४ मन्त्रालयलाई कटौती गरेर ११ वटा कायम गर्ने मन्त्रालयको संख्या निर्धारण गर्न बनेको कार्यदलको प्रतिवेदनलाई मन्त्रिपरिषदको बैठकले स्विकृत गरेको थियो ।

कर्णालीका नवनियुक्त मन्त्रीले लिए शपथ
कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्माले मन्त्रिपरिषद्लाई पूर्णता दिएका छन् । मुख्यमन्त्री शर्माले आज थप चार मन्त्री नियुक्त गरी मन्त्रिपरिषद्लाई पूर्णता दिएका हुन् । पुस २८ गते विना विभागीमन्त्रीका रुपमा सत्तारुढ दल माओवादी केन्द्रबाट मङ्गलबहादुर शाही र नेकपा एमालेबाट विनोदकुमार शाहलाई नियुक्त गरी तीन सदस्य मन्त्रिपरिषद् गठन भएको थियो ।
आज सत्ता साझेदार दल माओवादीबाट भीमप्रकाश शर्मा, कृष्णबहादुर जिसी र एमालेबाट टेकराज पछाई, जीतबहादुर मल्ललाई मन्त्रीमा नियुक्ति गर्नुका साथै कार्यविभाजन गरी मन्त्रिपरिषद् गठन हुन प्रदेश प्रमुख तिलक परियारसमक्ष सिफारिस गरेका थिए ।
उक्त सिफारिसपश्चात् नवनियुक्त मन्त्रीहरूलाई कर्णाली प्रदेश प्रमुख तिलक परियारले आज साँझ पद तथा गोपनीयताको शपथ ग्रहण गराएका छन् । नवनियुक्त मन्त्रीहरूले शपथ ग्रहण गरेलगत्तै आजै पदभार ग्रहण गरेका छन् ।
नवगठित मन्त्रिपरिषद्मा विनोदकुमार शाहले आर्थिक मामिला तथा योजना, मङ्गलबहादुर शाहीले भौतिक पूर्वाधार, ऊर्जा तथा जलस्रोत, भीमप्रकाश शर्माले भूमि व्यवस्था, कृषि तथा सहकारी, कृष्णबहादुर जिसीले आन्तरिक मामिला तथा कानुन, टेकराज पछाईले सामाजिक विकास र जीतबहादुर मल्लले उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयको जिम्मेवारी पाएका छन् ।

प्रकाशित मिति: बुधबार, माघ ११, २०७९  १९:४४
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार