सरकारले अवकाशप्राप्त चिकित्सक–स्वास्थ्यकर्मीलाई एक वर्षका लागि करारमा नियुक्ति गर्ने 

सोमबार, वैशाख २०, २०७८

काठमाडौं । सरकारले स्वास्थ्य जनशक्तिको अभाव हुन नदिन अवकाशप्राप्त चिकित्सक–स्वास्थ्यकर्मीलाई एक वर्षका लागि करारमा भर्ना लिने भएको छ । कोभिड–१९ र समसामयिक विषयमा आज देशवासीका नाममा सम्बोधन गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले स्वास्थ्य जनशक्तिको अभाव हुन नदिन संघ, प्रदेश र स्थानीय तहमा अवकाशप्राप्त चिकित्सक–स्वास्थ्यकर्मीलाई एक वर्षका लागि करारमा भर्ना गर्न सकिने बताएका हुन् । कोभिड–१९ को पहिचान, निदान, उपचार, बिरामीको ओसारप्रसार र शव व्यवस्थापनमा प्रत्यक्षसंलग्न चिकित्सक, स्वास्थ्यकर्मी, चालक तथा सहचालक र सफाइकर्मीका साथै कर्मचारीहरूलाई शुरु तलब स्केलको ५० प्रतिशत जोखिम भत्ता, परिवारको उपचार र बिमाको व्यवस्था गरिने पनि प्रधानमन्त्री ओलीले बताएका छन् ।  सरकारी तथा अन्य कार्यालयमा एक चौथाई कर्मचारीबाट कार्यसम्पादन गराउन शुरु गरिएको पनि उनले जानकारी दिए ।  ठूला अस्पताल तथा मेडिकल कलेजमा अक्सिजन प्लान्टको स्थापना गरिने जनाउँदै उनले भने, ‘सञ्चालनमा नआएका अक्सिजन प्लान्टलाई शीघ्र मर्मत गरी सञ्चालनमा ल्याइनेछ ।’  लिक्विड अक्सिजन तथा अक्सिजन जेनेरेटर खरिद गरेर मौज्दात राखिने बताउँदै प्रधानमन्त्री ओली भने, ‘देशभरका अक्सिजन प्लान्टबाट उत्पादित अक्सिजन हाललाई अस्पताल र उपचारको प्रयोजनका लागि मात्र प्रयोग गर्नेगरी अन्य क्षेत्रमा आपूर्ति गर्न रोक लगाइएको छ ।’
 

प्रकाशित मिति: सोमबार, वैशाख २०, २०७८  १८:४०
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार