गण्डकी प्रदेश सरकारले १२ मन्त्रालयलाई घटाएर ७ मा झार्ने

शुक्रबार, माघ ६, २०७९

पोखरा । गण्डकी प्रदेश सरकारले अहिले रहेका १२ वटा  मन्त्रालयलाई घटाएर ७ मन्त्रालय बनाउन गृहकार्य सुरु गरेको छ । काँग्रेस नेतृत्वको प्रदेश सरकारले भागवण्डा मिलाउन मन्त्रालयको संख्या बढाएको थियो । मन्त्रालयको संख्या बढाउने अघिल्लो सरकारको कदमलाई लिएर तीब्र आलोचना  भएको थियो । गत पुस २५ गते मुख्यमन्त्री खगराज अधिकारीसहित तीन मन्त्रीले पद तथा गोपनीयताको शपथ लिएका थिए ।  तीन जना मन्त्री पनि बिना विभागीय हुन् । सरकारमा सत्ता गठबन्धन एमाले, माओवादी र राप्रपाबाट तीन जना सहभागी भएका छन् । सरकारमा माओवादी केन्द्रका हरिबहादुर चुमान, एमालेबाट सीताकुमारी सुन्दास र राष्ट्रिय प्रजातन्त्र पार्टीका पञ्चराम गुरुङ सहभागी भएका छन् । प्रदेश सरकारले नयाँ मुख्यमन्त्री पाएको ११ दिन बितिसकेको छ । तर, मन्त्रिपरिषद्ले भने अझै पूर्णता पाउन सकेको छैन ।
“मन्त्रालयको सङ्ख्या घटाएरमात्र मन्त्रिमण्डल विस्तार गर्ने मुख्यमन्त्रीको सुरुदेखि नै जोड छ”, सरकारमा सहभागी एमालेकी सीताकुमारी सुन्दासले भनिन् ।
सत्तारुढ दलमा मन्त्रालयकाे स‌ख्या घटाएर मन्त्रीलाई जिम्मेवारी दिने विषयमा छलफल भइरहेको छ ।
यो विषय दुई–तीन दिनभित्रै टुङ्गोमा पुयाउने तयारी सत्ता गठबन्धनको छ । हाल रहेका १२ मन्त्रालयलाई घटाएर सातमा पुर्‍याउने मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको तयारी छ । मन्त्रालयको जिम्मेवारी नतोकिँदा मन्त्रीहरू कामविहीन भएका छन भने विभागीय मन्त्री नहुँदा मन्त्रालयका कामकारबाही पनि प्रभावित भएका छन् ।

 

प्रकाशित मिति: शुक्रबार, माघ ६, २०७९  ०६:२९
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार