लुम्बिनीका मुख्यमन्त्री लीला गिरीलाई विश्वासको मत

बिहीबार, माघ ५, २०७९

देउखरी ।  लुम्बिनी प्रदेशका मुख्यमन्त्री लीला गिरीले आज प्रदेशसभामा विश्वासको मत प्राप्त गरेका छन् । प्रदेशसभाको आज बसेको चौथो बैठकमा मुख्यमन्त्री गिरीले विश्वासको मत प्राप्त गरेका हुन् । नेपालको संविधानको धारा १८८ को उपधारा (१) तथा लुम्बिनी प्रदेशसभा नियमावली, २०७९ को नियम १४५ को उपनियम (४) बमोजिम मुख्यमन्त्रीले विश्वासको लिँदा उनको पक्षमा ५७ मत परेको छ । यस्तै विपक्षमा २८ मत परेको छ । आठ राजनीतिक दल र दुई स्वतन्त्र सदस्य गरी ५७ जनाले पक्षमा मतदान गरे ।
मुख्यमन्त्री गिरीको पक्षमा एमाले २९, माओवादी केन्द्रका आठ, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) र नागरिक उन्मुक्ति पार्टीका चार–चार, जनता समाजवादी पार्टी (जसपा), लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) र जनमत पार्टीका तीन–तीन, नेकपा (एकीकृत समाजवादी)का एक र दुई स्वतन्त्र सदस्य छन् । माओवादी केन्द्र संसदीय दलका नेता जोखबहादुर महराको आमाको निधन भएका कारण उनी मतदानमा उपस्थित भएनन् ।
सरकार गठनमा पक्षमा नरहेको एकीकृत समाजवादी पार्टीका प्रदेशसभा सदस्य भगवती घिमिरेले मुख्यमन्त्री गिरीलाई विश्वासको मत भने दिएकी छन् । सभामुख र उपसभामुख निर्वाचनमा समर्थन गरेका नेपाली कांग्रेस, एकीकृत समाजवादी र राष्ट्रिय जनमोर्चा मुख्यमन्त्रीलाई विश्वासको मतमा भने विपक्षमा उभिएका छन् ।
मुख्यमन्त्री गिरीले प्रदेशलाई समृद्ध बनाउन साझा उद्देश्यका साथ अघि बढ्ने प्रतिबद्धता व्यक्त गरे । “प्रदेशको समृद्धि र विकास हामी सबैको साझा लक्ष्य उद्देश्य हुन् । त्यसलाई अघि बढाउने प्रतिबद्धता व्यक्त गर्दछु”, उनले भने, “सबै दललाई मिलाएर अघि बढ्ने छु ।”

 

प्रकाशित मिति: बिहीबार, माघ ५, २०७९  २०:३४
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार