सोसल मिडिया
Contact Us
युनिकोड
काठमाडौं । नेपालमा गत २४ घण्टामा थप ७,४४८ जनामा कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । तीमध्ये काठमाडौं उपत्यकामा फेला परेका सङ्क्रमितको संख्या सर्वाधिक छ । मन्त्रालयका अनुसार सो अवधिमा थप ३७ जनाको कोभिडसम्बन्धी कारणले मृत्यु भएको विवरण प्राप्त भएको छ । सोमवार पुष्टि भएका सङ्क्रमितहरू १६,६५८ पीसीआर र ५१८ एन्टिजन परीक्षण गर्दा पहिचान भएका हुन् । सङ्क्रमण र मृत्यु दुवै नेपालमा हालसम्मको सर्वाधिक संख्या हो । सोही अवधिमा थप २,०२१ जना सङ्क्रमणमुक्त भएपछि हाल सक्रिय सङ्क्रमितको संख्या ५४ हजा ४१ रहेको मन्त्रालयको तथ्याङ्क छ । मन्त्रालयले आइतवार अपराह्ण २४ घण्टाको अवधिमा ७,२११ सङ्क्रमित थपिएको जनाएको थियो । सोमवार सबैभन्दा बढी सङ्क्रमित काठमाण्डू जिल्लामा २,९२२ जना थपिएका छन् । त्यसैगरी उपत्यका अरू दुई जिल्ला ललितपुरमा ५२२ जना र भक्तपुरमा २२२ जनामा पनि कोभिड–१९ पुष्टि भयो । अहिले उपत्यकामा कुल ३,७६६ जना सङ्क्रमित थपिएका हुन् । त्यस्तै रूपन्देहीमा ६१९, बाँकेमा ४४०, मोरङमा ३६२ र कास्कीमा ३५५ जना सङ्क्रमित सोमवार थपिएका छन् । अहिले हाल १२ जिल्लामा ५०० भन्दा बढी सक्रिय सङ्क्रमित छन् भने थप २१ जिल्लामा २०० भन्दा बढी सक्रिय सङ्क्रमित रहेको मन्त्रालयको तथ्याङ्क छ । थपिएका सङ्क्रमितमध्ये ६० जना भारतबाट नेपाल प्रवेश गर्ने क्रममा नाकामा गरिएको परीक्षणमा भेटिएका हुन् । सोमवार पुष्टि भएका सङ्क्रमितमध्ये १५६ जना नौ वर्षसम्मका, ४३९ जना १० देखि १९ वर्षका र ३,५५९ जना २० देखि ३९ वर्षका रहेको मन्त्रालयको तथ्याङ्कले देखाएको छ । कुल सङ्क्रमितमध्ये ५७८ जना आईसीयू एवम् १४२ जना भेन्टिलेटरमा उपचाररत रहेका छन् ।
अझ कडाइ गर्ने प्रमको सङ्केत सोमबार देशवासीका नाममा सम्बोधन गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले महामारीको दोस्रो लहरको रोकथाम र नियन्त्रणका लागि सरकारका सबै संयन्त्र परिचालित भएको बताएका छन् । सङ्क्रमणको साङ्लो चुडाउन अस्पताल वा आइसोलेशन केन्द्रको व्यवस्था गरेर मात्रै नपुग्ने भन्दै उनले भने, ‘एक हदसम्म लकडाउन आवश्यक हुन्छ भन्ने विज्ञहरुको सल्लाह अनुसार केही अवधिको लागि निषेधाज्ञा जारी गरिएको छ ।’ ‘यसलाई थप कडाइ गरिँदैछ र प्रभावकारी ढङगले लागु गर्न पहिलेझैँ सबैबाट सहयोग हुने अपेक्षा सरकारले राखेको छ’, प्रधानमन्त्रीले सम्बोधनका क्रममा भनेका छन् । प्रधानमन्त्री ओलीले नेपाली सेनालाई प्रदेश तथा राजधानीमा शीघ्र १,००० शय्याको अस्थायी अस्पताल निर्माण गर्न निर्देशन दिइएको पनि बताएका छन् । वीर अस्पतालको नयाँ भवन र नेपाली सेनाको त्रिचन्द्र मिलिटरी अस्पताल, काठमाडौं उपत्यकाका धेरै शय्या भएका मेडिकल कलेज, ठूला सरकारी तथा निजी अस्पताललाई कोभिड अस्पतालको रूपमा सञ्चालन गरिनेछ’ उनले भने । उनका अनुसार प्रदेश सरकारले पनि आफ्ना प्रदेशमा रहेका मेडिकल कलेज तथा ठूला अस्पताललाई कोभिड अस्पतालको रूपमा र साना अस्पताललाई गैरकोभिड अस्पतालको रूपमा सञ्चालन गर्न सक्नेछन् ।