जहाज दुर्घटनामा ज्यान गुमाएका १० नेपाली र दुई कोरियलीको शव परिवारलाई हस्तान्तरण

बिहीबार, माघ ५, २०७९

काठमाडौँ । गत आइतबार पोखरामा भएको विमान दुर्घटनामा मृत्यु भएकामध्ये ४९ को शव काठमाडौँ ल्याइएकामा १२ जनाको पोष्टमार्टम गरी आज परिवारलाई बुझाइएको छ ।
गत आइतबार काठमाडौँबाट पोखरातर्फ उडेको यती एयरलाइन्सको नाइन एन–एएनसी–एटिआर–७२–५०० विमान दुर्घटनामा परेर मृत्यु भएका ७१ मध्ये २२ जनाको शव पोखरामा नै परीक्षण गरी आफन्तलाई बुझाइएको थियो । काठमाडौँस्थित त्रिभुवन शिक्षण अस्पताल महाराजगञ्जमा ल्याइएका ४९ मध्ये १२ जनाको शव परीक्षण गरी आज सम्बन्धित परिवार र नेपालस्थित कूटनीतिक नियोगमा जिम्मा लगाइएको यती एयरलाइन्सले जनाएको छ ।
जिम्मा लगाइएकामध्ये १० नेपाली र दुई शव कोरियन नागरिकको रहेको छ । पहिचान खुलेका बाँकी शव पनि परीक्षण गरेर सम्बन्धित परिवारलाई जिम्मा लगाउने तयारी भइरहेको छ । पहिचान नखुलेका शवको भने डिएनए परीक्षण गरी आफन्तलाई बुझाइने छ । चालक दलका सदस्यसहित ७२ जना सवार उक्त विमान दुर्घटनामा  ७१ जनाको शव फेला परेको  छ भने एक जनाको शवको खोजी जारी छ ।

 

प्रकाशित मिति: बिहीबार, माघ ५, २०७९  २०:३२
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार