पोखराबाट थप एक शव ल्याइयो, त्रिवि अस्पतालमा परीक्षण हुँदै

बुधबार, माघ ४, २०७९

काठमाडौँ । गत आइतबार काठमाडौँबाट पोखरातर्फ उडेको यती एयरलाइन्सको नाइन एन–एएनसी–एटिआर–७२–५०० विमान दुर्घटनामा परेर मृत्यु भएकामध्ये थप एक जनाको शव आज काठमाडौँ ल्याइएको छ । मङ्गलबार नेपाली सेनाको दुई हेलिकप्टरबाट ४८ शव काठमाडौँ ल्याइएको थियो । मङ्गलबार फेला परेको एक शव भने आज दिउँसो काठमाडौँ ल्याइएको हो । काठमाडौँ ल्याइएका शवको आज बिहानदेखि नै त्रिभुवन शिक्षण अस्पताल महाराजगञ्जमा परीक्षण भइरहेको छ ।
मङ्गलबार काठमाडौँ ल्याइएका शवमध्ये अहिलेसम्म १२ शवको परीक्षण भइसकेको छ । दुर्घटनामा मृत्यु भएकामध्ये २२ शवको परीक्षण गरेर पोखरामा नै हस्तान्तरण गरिए पनि बाँकी ४९ शव भने काठमाडौँ ल्याइएको थियो ।
काठमाडौँ ल्याइएकामध्ये पहिचान खुलेका २१ शवको परीक्षण गरेर भोलि बिहान मृतकका परिवारलाई हस्तान्तरण गरिने छ । पहिचान नखुलेका शवको भने डिएनए टेस्ट गरेर मात्र शव परीक्षण गरी मृतकका परिवारलाई बुझाइनेछ ।
चालक दलका सदस्यसहित जम्मा ७२ जना सवार उक्त विमान दुर्घटनामा ७१ जनाको मृत्यु भइसकेको छ भने बाँकी एकको खोजीकार्य जारी रहेको छ ।

विमान दुर्घटनाबारे फ्रान्सेली विज्ञ टोलीद्वारा अध्ययन सुरु
फ्रान्सदेखि आएको एटीआर विमान निर्माता कम्पनीको विज्ञ टोलीले पोखरामा भएको यती एअरलाइन्सको विमान दुर्घटनाबारे स्थलगत अध्ययन थालेको छ ।
बुधबार विमान खसेको ठाउँ सेतीखोँचमा पुगी उक्त टोलीले घटनास्थलको अवलोकन गर्नुका साथै दुर्घटनाबारे जानकारी लिएको हो ।

KD_KASKI_ACCIDENT1674055682.jpeg
टोलीलाई नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) का कर्मचारी, सुरक्षाकर्मी, स्थानीयवासीलगायतले सहजीकरण गरिरहेका छन् । ‘ड्रोन’समेत उडाएर टोलीले घटनास्थलको अवलोकन गरेको थियो ।
दुर्घटनाको अध्ययनका लागि नौ सदस्यीय टोली मङ्गलबार नै पोखरा आइपुगेको थियो । नेपालमा पहिलोपटक भएको एटीआर विमान दुर्घटनाबारे निर्माता कम्पनीले पनि चासोपूर्वक लिएको जनाइएको छ ।
कास्कीका प्रमुख जिल्ला अधिकारी टेकबहादुर केसीले विदेशी विज्ञ टोलीले अध्ययन गरिरहेकोबारे सम्बन्धित निकायबाट जानकारी पाएको भए पनि आफूलाई यो विषयमा धेरै थाहा नभएको बताए ।
“दुर्घटनापछि खोज, उद्धार, शव व्यवस्थापनलगायतमा सुरक्षा निकाय खटिन्छ, जाँच तथा छानविनको विषय हामीसँग सम्बन्धित हुँदैन”, उनले भने । विमान दुर्घटनापछि सरकार गठन गरेको जाँच आयोगलेसमेत दुर्घटनाबारे छानविन सुरु गरेको छ ।
अध्ययन सकेर केही सदस्य काठमाडौँ फर्किसकेको केही अझै पोखरामा रहेको पोखरा अन्तर्राष्ट्रिय विमानस्थलका प्रमुख विक्रम गौतमले जानकारी दिए । पूर्वसचिव नागेन्द्र घिमिरेको संयोजकत्वमा जाँच आयोग गठन भएको थियो ।
आयोग सदस्यमा हवाई विज्ञ नेपाली सेनाका अवकाश प्राप्त उपरथी दीपकप्रसाद बाँस्तोला, अवकाशप्राप्त क्याप्टेन सुनिल थापा र हवाई मर्मत विज्ञ एकराजजङ्ग थापा रहेका छन् ल । आयोगको सदस्य सचिवमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सहसचिव बुद्धिसागर लामिछाने छन् ।
यसअघि सोमबार विमानको ‘ब्ल्याक बक्स’ फेला परेको थियो । ‘ब्ल्याक बक्स’ले दुर्घटनाको कारण पत्ता लगाउन महत्वपूर्ण सहयोग पुग्ने नागरिक उड्डयन प्राधिकरणले जनाएको छ ।
६८ यात्रु र चार जना चालकदलका सदस्य लिएर गत आइतबार काठमाडौँबाट पोखराका लागि उडेको विमान सेतीँखोचमा खसेको थियो । दुर्घटनामा परेका ७१ जनाको शव फेला परिसकेको छ भने बेपत्ता एक जनाको खोजी कार्य जारी रहेको कास्कीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक अजय केसीले जानकारी दिए ।

 

प्रकाशित मिति: बुधबार, माघ ४, २०७९  २१:०८
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार