पोखरा जहाज दुर्घटनामा ज्यान गुमाएका ७१ जनाको शव भेटियो

बुधबार, माघ ४, २०७९

पोखरा । पोखराको सेती खोँचमा आइतबार भएको अकल्पनिय  जहाज दुर्घटनामा ज्यान गुमाएका ७१ जनाको शव फेला परेको छ । मंगलबार थप एक जनाको शव फेला परेसँगै यो संख्या ७१ पुगेका हो । जहाजमा सवार एकजना यात्रुको स्थिति अज्ञात रहेको छ । काठमाडौँदेखि पोखराका लागि उडेको यती एयरलाइन्सको जहाज आइतबार दुर्घटनामा परेको थियो । जहाजमा चालक दलका सदस्यसहित ७२ जना सवार थिए ।
मंगलबार दुर्घटनास्थलदेखि तीन सय मिटर तल महिलाको शव भेटिएको हो । गोताखोर परिचालन गरेर शवको खोजी कार्य गरिएको छ ।
सोमबार क्षतविक्षत अवस्थामा फेला परेका शवका टुक्रा एकै व्यक्तिको हो या होइन भन्ने यकिनका लागि डिएनए परीक्षण गर्न काठमाडौँस्थित शिक्षण अस्पताल पठाइएको छ ।
हात, करङ र टाउकाको भाग छुट्टाछुट्टै भेटिएका कारण त्यो एकै व्यक्तिको हो वा अन्यको पनि हो भन्ने एकिनका लागि डिएनए परीक्षणका लागि पठाइएको छ । डिएनए परीक्षणमा क्षविक्षत शव दुई जनाको रहेको एकिन भए ७२ जनाकै शव भेटिएको अवस्था बन्छ । एकै व्यक्तिको पुष्टि भए बेपत्ता एक जनाको खोजीकार्य जारी रहनेछ ।
दुर्घटनामा परी ज्यान गुमाएका २२ जनाको शव परीक्षण पोखरास्थित पश्चिमाञ्चल क्षेत्रीय अस्पताल भइसकेको छ । तीमध्ये १९ जनाको शव परिवारले बुझिसकेका छन् । अस्पतालमा रहेका तीनमध्ये दुई जनाको शव बुधबार र एउटालाई केही दिनपछि परिवारलाई हस्तान्तण गरिने भएको छ ।
सनाखत हुन नसकेका, विदेशी नागरिक र चालक दलका सदस्यको शव भने शव परीक्षणका लागि मङ्गलबार काठमाडौँ पठाइएको छ ।

 

प्रकाशित मिति: बुधबार, माघ ४, २०७९  ०६:४०
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार