सोमबार साँझसम्म ६९ जनाको शव प्राप्त, तीनजनाको अवस्था अज्ञात 

सोमबार, माघ २, २०७९

काठमाडौं । आइतबार पोखरामा दुर्घटनाग्रस्त यती एअरलाइन्सको जहाजमा सवार चालक दलसहित ७२ जनामध्ये सोमवार साँझसम्म ६९ जनाको शव प्राप्त भएको छ ।  सोमवार थप एक शव सेती नदिको खोँचमा उद्धारकर्ताे फेला परेका छन् । तीन जनाको अवस्था अझै अज्ञात रहेको छ । उद्धारकर्ताहरूले ‘अब कसैलाई जीवितै फेला आशा मारिसकेको’ बताएका छन् ।
२३ जनाका शव आफन्तलाई पोखरामै बुझाउन लागिएको छ । सनाखत भइसकेका १८ र सनाखत हुन बाँकी २८ जनाको शव नेपाली सेनाको हेलिकप्टरमार्फत् काठमाडौं ल्याइने नेपाल नागरिक उड्डयन प्राधिकरणले जनाएको छ।
‘काठमाडौंबाट आएका फोरेन्सिक विज्ञ टोलीका सहायताले परामर्श हुँदा २३ जनाको शव पोखरामै बुझाउन सकिने भन्ने भएको छ’, कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी अनिलकुमार शाहीले भने, ‘यस अघिसम्म हुलिया पहिचानको आधारमा पहिचान गरिएको थियो ।’

सबै एटिआर जहाजको प्राविधिक परीक्षण
नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) ले नेपालका आन्तरिक उडानमा प्रयोग भइरहेका सबै एटिआर जहाजको प्राविधिक परीक्षण गरेको छ ।
क्यानका प्रवक्ता जगन्नाथ निरौलाले पोखरा विमानस्थल नजिक भएको यती एयरलाइन्सको विमान दुर्घटनापश्चात् क्यानका सुरक्षा निरीक्षकहरूबाट नेपालमा सञ्चालित सम्पूर्ण एटिआर–४२ तथा एटिआर–७२ वायुयानको थप विस्तृत प्राविधिक परीक्षण गर्ने कार्य सम्पन्न भइसकेको जानकारी दिए ।
परीक्षणका क्रममा उपरोक्त वायुयानहरूमा कुनै प्राविधिक त्रुटि फेला नपरेको पनि क्यानले बताएकाे गरेको छ । कुनै पनि वायुयानको नियमित उडान योग्यता (एयरवर्दिनेस) का लागि दैनिक गरिने ‘डेली इन्सपेक्सन’, उडानपूर्व गरिने ‘प्री फ्लाइट इन्सपेक्सन’ जस्ता मर्मतसम्भारका कार्यहरू अन्तर्राष्ट्रिय नागरिक उड्डयन सङ्गठन (आइकाओ) को मापदण्ड तथा सिफारिस एवं वायुयान निर्माता कम्पनीका मापदण्डबमोजिम गर्ने गरिएको क्यानले विज्ञप्तिमा जनाएको छ ।
नेपालमा अब यती एअरलाइन्सका ५ र बुद्ध एअरका १४ वटा एटीआर विमान सञ्चालनमा छन् । यती एअरलाइन्ससँग हाल सबै एटीआर कम्पनीका एकै प्रकारका ७२ सीट क्षमताका जहाज छन् ।
‘उक्त कम्पनीसँग बाँकी रहेका ५ एटीआर र बुद्ध एअरका १४ गरी १९ वटाको जाँच गर्दा त्यसमा कुनै समस्या देखा परेन’ नेपाल नागरिक उड्डयन प्राधिकरणका प्रवक्ता जगन्नाथ निरौलाले भने । नेपालमा एटीआर–४२ र एटीआर–७२ विमानहरू सञ्चालनमा छन् ।
आइतबार प्रधानमन्त्री पुष्पकमल दाहालले ‘सबै हवाई जहाजहरूको प्राविधिक परीक्षण अनिवार्य गर्न’ निर्देशन दिँदै त्यसको अनुगमनको जिम्मेवारी नागरिक उड्डयन प्राधिकरणलाई दिएका थिए । 
आइतबार काठमाडौँबाट पोखराका लागि उडेको यती एयरलाइन्सको कलसाइन नाइन–एएनसी (एटिआर–७२–२१२) विमान पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट नजिकै सेती नदीको खोँचमा दुर्घटनाग्रस्त भएको थियो । दुघर्टनाग्रस्त विमानमा सवार चालकदलका सदस्यसहित ७२ सवार थिए । 
 

प्रकाशित मिति: सोमबार, माघ २, २०७९  २०:०८
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार