विशेषज्ञ टोलीले शव पोष्टमार्टमगरेपछि परिवारलाई हस्तान्तरण

२४ वटा शवको पोखरामै पोस्टमार्टम हुने, अन्य काठमाडौं पठाइने
सोमबार, माघ २, २०७९

पोखरा । आइतबार पोखराको सेतीखोँचमा भएको यती एयरलाइन्सको विमान दुर्घटनामा निधन भएका व्यक्तिहरूको शव परिवारलाई हस्तान्तरण गर्न पोष्टमार्टम सुरु गरिएको छ । पोष्टमार्टम गरेपछि मात्रै विमान दुर्घटनामा ज्यान गमाएका व्यक्तिहरुको शव सम्बन्धित परिवारलाई हस्तान्तरण गरिने छ । 
शव पहिचान र परीक्षणका लागि  काठमाडौँबाट विशेषज्ञ टोलीका दुई सदस्य पोखरा आएका छन् । काठमाडौँबाट आएका दुई विज्ञ चिकित्सकलाई पोखराका चिकित्सकले पनि सघाएका छन् ।  
दुर्घटनामा निधन भएका ६८ जनाको शव पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान (गण्डकी अस्पताल) मा राखिएको छ । एउटा शव पोष्टमार्टम गर्न आधादेखि डेढ घटासम्म समय लाग्ने अनुमान छ । 
पोष्टमार्टमपछि पोखरा र आसपासका व्यक्तिको शव आफन्तलाई बुझाइने छ भने विदेशी नागरिक, चालक दलका सदस्य र पहिचान हुन नसकेका शव काठमाडौँस्थित त्रिवि शिक्षण अस्पताल पठाइनेछ । 
शव बुझ्न दिवङ्गतका आफन्तजन अस्पताल परिसरमा जम्मा भएका छन् । पीडामा रहेका आफूहरुलाई यति एयरलाइन्ससहितका सरोकारवाला निकायहरुले आफन्तको शव हस्तान्तरणमा ढिलाइ गर्दा आफूहरूलाई थप पीडा भएको अस्पताल परिवारमा भेला भएका आफन्तजनहरुले दुखेसो गरेका छन् ।  पछिल्लो विवरण अनुसार दुर्घटनामा परेका चार जना अझै बेपत्ता छन् । बेपत्ताको खोजी कार्य चलिरहेको कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी गुरुदत्त ढकालले जानकारी दिए । 

२४ वटा शवको पोखरामै पोस्टमार्टम हुने, अन्य काठमाडौं पठाइने

विमान दुर्घटनामा ज्यान गुमाएका ६९ जनामध्ये २४ जनाको शवको मात्र पोखरामा पोस्टमार्टम हुने भएको छ । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानका एक चिकित्सकका अनुसार २४ जनाको पोखरामै पोस्टमार्टम गरेर परिवारलाई शव बुझाइनेछ ।

बाँकी ४५ जनाको शव भने काठमाडौं पठाउन लागिएको छ । काठमाडौंमा शव लैजानका लागि नेपाली सेनाको हेलिकप्टर पोखरा आइसकेको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान गण्डकी शिक्षण अस्पतालले जनाएको छ । २४ जनाको पोस्टमार्टम गरेर शव सकेसम्म आजै आफन्तलाई बुझाउने अस्पतालले जनाएको छ । काठमाडौं पठाइने मृतकको शव लिनका लागि आफन्तलाई काठमाडौंमै जान प्रशासनले आग्रह पनि गरेको छ ।

पोखरामा त्रिभुवन पौडेल, निशान आचार्य, ओममाया गुरुङ, यस्मिन गुरुङ, पुजन राना, अरुण पौडेल, प्रशिद्धी पौडेल, जीवनकला गुरुङ, पूर्णबहादुर गुरुङ, संगीता शाही, सदाकत अलि मिया, लक्ष्मी पौडेल, निरा छन्त्याल, विजयकुमार गुरुङ, लक्की गुरुङ, शालिकराम आचार्य, डा.गणेश थापा, मोहनप्रकाश श्रेष्ठ, सिता गुरुङ, जमुना शर्मा, बन्दना सुनार, सर्बिन श्रेष्ठ, अनुषा गुरुङ, शिवकुमार गुरुङको शव पोस्टमार्टम गरिने छ । 
 
 

प्रकाशित मिति: सोमबार, माघ २, २०७९  १७:५२
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार