क्यान्सर अस्पताल आउने बिरामी र कुरुवालाई पिसिआर अनिवार्य

सोमबार, वैशाख २०, २०७८

चितवन । भरतपुरस्थित विपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा आउने बिरामी र कुरुवालाई पिसिआर परीक्षण अनिवार्य गरिएको छ । अस्पतालले आज एक सूचना जारी गरी कोभिड सङ्क्रमणको जोखिमलाई न्यूनीकरण गर्न नयाँ व्यवस्था लागू गरेको हो ।
अस्पतालका कार्यकारी निर्देशक डा.देजकुमार गौतमद्वारा जारी सूचनामा अस्पतालमा अत्यावश्यक परेमा मात्र आउन अनुरोध गरिएको छ ।  सूचनामा भनिएको छ, ‘अस्पतालले केमोथेरापी र अस्पतालमा भर्ना भएर उपचार गर्नुपर्ने बिरामी र कुरुवाको समेत पिसिआर परीक्षण अनिवार्य गर्नुपर्ने छ ।’ यस्तै मेमोग्राफ, इण्डोस्कोपी सेवा लिने बिरामीले पिसिआर अनिवार्य गर्नुपर्ने जनाइएको छ । फलोअपमा आउनुपर्ने बिरामीलाई टेलिफोन वा जुममार्फत सम्पर्क गरेर मात्रै आउन पनि अनुरोध गरिएको छ । अस्पतालकोसेवा लिन आउँदासेवाग्राहीले  अनिवार्यरूपमा सामाजिक दूरी कायम गर्ने, मास्क लगाउने, स्यानिटाइजर प्रयोग गर्ने, साबुन पाानीले हात धुनेलगायतका सावधानी अपनाउन पनि अस्पतालले अनुरोध गरेको छ । बहिरङ्ग सेवाको टिकट बिदाको दिनबाहेक बिहान ७ देखि दिउँसो १ बजेसम्म खुला रहने अस्पतालले जनाएको छ ।  

सक्रिय सङ्क्रमितको सङ्ख्या हजार नाघ्यो
जिल्लामा सक्रिय कोरोना सङ्क्रमितको सङ्ख्या एक हजार नाघेको छ । स्वास्थ्य कार्यालय चितवनका अनुसार जिल्लामा एक हजार ७० सक्रिय सङ्क्रमित पुगेका छन् । कार्यालयका अनुसार सक्रिय सङ्क्रमितमध्ये ८८ जना अस्पतालको आइसोलेसनमा र ९८२ होम आइसोलेसनमा रहेका छन् । यहाँ रहेका सङ्क्रमितमध्ये सबैभन्दा धेरै भरतपुर महानगरपालिकाका छन् ।  महानगरमा ८९०, खैरहनी नगरपालिकामा ३२, माडीमा १६, रत्ननगरमा ८७, राप्तीमा २४ र कालिका नगरपालिकामा १२ सक्रिय सङ्क्रमित रहेका छन् । यस्तै एक मात्र गाउँपालिका इच्छाकामना गाउँपालिकामा नौ सक्रिय सङ्क्रमित रहेको जनस्वास्थ्य अधिकृत गीताञ्जली ढकालले जानकारी दिइन् ।
जिल्लामा अहिलेसम्म आठ हजार ४६ जनामा कोरोना सङ्क्रमण देखिएको छ । तीमध्ये ११७ को मृत्यु भइसकेको छ भने छ हजार ८५९ जना निको भएर घर फर्किइसकेका छन् । सङ्क्रमितमध्ये तीन हजार ३७० महिला र चार हजार ६७१ पुरुष रहेको उनले जानकारी दिइन् ।–रासस
 

प्रकाशित मिति: सोमबार, वैशाख २०, २०७८  १५:१५
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार