बागमती र लुम्बिनीमा सरकार गठनका लागि दावी पेश गर्न आह्वान 

बाग्मतीले दियो २५ गतेको समय, लुम्बिनीमा सरकार बनाउन २७ गतेको समयसीमा 
बिहीबार, पुस २१, २०७९

काठमाडौं । प्रदेश प्रमुखले प्रदेश सभामा प्रतिनिधित्व गरेका दलहरूलाई सरकार गठनका लागि दावी पेश गर्न आह्वान गरेका छन् । यसै सन्दर्भमा बिहीबार दुई प्रदेश प्रमुखले आफ्नो प्रदेशमा सरकार गठनका लागि दावी पेश गर्न दलहरुलाई आह्वान गरेका छन् । बागमती प्रदेश तथा लुम्बिनी प्रदेश प्रमुखले सरकार गठनका लागि दावी पेश गर्न आह्वान गरेका छन् । सरकार गठनका लागि आह्वान भएपछि कसैको पनि स्पष्ट बहुमत नभएका कारण दलहरुले बहुमतको सरकार गठनका लागि राजनीतिक भेट घाटलाईलाई तीब्रता दिएका छन् । केन्द्रमा बनेको गठबन्धन अनुसार सरकार गठन हुने भएपनि प्रदेशमा कसको नेतृत्वमा सरकार गठन हुने भन्ने अन्योल कायमै छ । केन्द्रमा एमाले र माओवादी प्रमुख सत्ता साझेदार रहेका कारण प्रदेश सरकार पनि सोही अनुसारको हुने अनुमान गरिएको छ । एमालेले ४ प्रदेश, माओवादीले दुई प्रदेश तथा जसपा–जनमत पार्टीले मधेश प्रदेशमा आलोपालो प्रदेश सरकारको नेतृत्व गर्ने मोटामोटी कुरा भए पनि अन्तिम निर्णय भइसकेको छैन ।
यसैसन्दर्भमा बागमती प्रदेशका प्रदेश प्रमुख यादवचन्द्र शर्माले दुई वा दुईभन्दा बढी दल मिलेर सरकार गठनका लागि २५ पुसभित्र मुख्यमन्त्रीमा दावी पेश गर्न आह्वान गरेका छन् । सरकार गठनको आह्वान भएसँगै सत्तारुढ दलहरु अप्ठ्यारोमा परेका छन् ।
सत्तारुढ दलहरुबीच प्रदेश सरकारको नेतृत्व र मन्त्रालय भागवण्डा भइसकेको छैन । २६ पुसमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विश्वासको मत लिने र त्यसपछि केन्द्र र प्रदेशको भागवण्डा टुंग्याउने तयारी थियो । एमाले र माओवादीका नेताहरुले बाग्मतीमा पनि त्यसअनुसार नै सरकार गठनको प्रक्रिया अघि बढोस् भन्ने चाहेका थिए ।
किनकी एमाले र माओवादी मात्र मिलेर सरकार बन्दैन । राप्रपाको समर्थन अनिवार्य छ । राप्रपाले केन्द्रमा सरकारलाई समर्थन गर्ने बताए पनि सहभागी हुने वा नहुने टुंग्याएको छैन । प्रदेशमा पनि निर्णय भएको छैन । सरकारमा सहभागी भएको अवस्थामा बाग्मती प्रदेशको मुख्यमन्त्री पाउनुपर्ने अडान लिने सम्भावना छ ।
त्यसैले सत्तारुढ दलका शीर्ष नेताहरुले प्रधानमन्त्री प्रचण्डले विश्वासको मत लिएपछि भागवण्डा टुंगो लगाउने तयारी गरेका छन् । तर प्रदेश प्रमुख शर्माले २५ पुसको अपराह्न ४ बजेसम्म मुख्यमन्त्रीमा दाबी पेश गर्न आह्वान गरेका छन् ।
माओवादी केन्द्रका एक प्रदेशसभा सदस्य भन्छन्, ‘केन्द्रमा प्रधानमन्त्रीले विश्वासको मत लिएपछि भागवण्डा मिलाएर गर्ने भन्ने थियो । अप्ठ्यारो पर्ने भयो ।’
प्रदेश प्रमुख शर्माले संविधानको धारा १६८ को उपधारा (२) बमोजिम प्रदेश सभामा प्रतिनिधित्व गर्ने दुई वा दुईभन्दा बढी दलको समर्थनमा बहुमत प्राप्त गर्नसक्ने प्रदेशसभा सदस्यलाई प्रदेशको मुख्यमन्त्री नियुक्त गर्न पाँच दिनको समय दिएका छन् । 
उनले यही पुस २५ गते सोमबार अपराह्न ४ बजेसम्म दाबी पेश गर्न आह्वान गरेका छन् । 
प्रदेश सभामा प्रतिनिधत्व रहने कूल एक सय १० सदस्यमध्ये नेपाली कांग्रेसका ३७, नेकपा (एमाले) का २७, नेकपा (माओवादी केन्द्र) का २१, राष्ट्रि«य प्रजातन्त्र पार्टीका १३, नेकपा (एस) का सात, नेपाल मजदुर किसान पार्टीका तीन र हाम्रो नेपाली पार्टीका दुई सदस्य रहेका छन् । 

लुम्बिनीमा २७ पुससम्म मुख्यमन्त्रीमा दाबी पेश गर्न आह्वान

लुम्बिनी प्रदेशका प्रदेश प्रमुख अमिक शेरचनले सरकार गठनको आह्वान गरेका छन् ।

Lumbini1668496933.jpg
उनले २७ पुससम्म उनले संविधानको धारा १६८ (२) अनुसार मुख्यमन्त्रीमा दावी पेश गर्न आह्वान गरेका हुन् ।
लुम्बिनी प्रदेशसभामा कुनै दलको बहुमत नभएकाले दुई वा दुई भन्दा बढी दलको समर्थनमा बहुमत प्राप्त प्रदेशसभा सदस्यलाई मुख्यमन्त्रीमा दावी पेश गर्न आह्वान गरेका हुन् ।

प्रकाशित मिति: बिहीबार, पुस २१, २०७९  १३:३५
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार