पोखरा अन्तर्राष्ट्रिय विमानस्थल आजदेखि औपचारिक रुपमा सुरु, प्रधानमन्त्रीद्वारा उद्घाटन

आइतबार, पुस १७, २०७९

पोखरा । प्रधानमन्त्री पुष्पकमल दहाल ‘प्रचण्ड’ले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको उद्घाटन गरेका छन् । यहाँ आज आयोजित भव्य कार्यक्रमकाबीच प्रधानमन्त्री प्रचण्डले ताम्रपत्र अनावरण गर्दै विमानस्थलको औपचारिकरुपमा उद्घाटन गरेका हुन् । 
आइतवारबाट सञ्चालनमा आएको पोखरास्थित नेपालको तेस्रो अन्तर्राष्ट्रिय विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान सुरु गर्न ‘कम्तीमा दुई महिना’ समय लाग्ने देखिएको छ ।  सुरुमा उक्त विमानस्थलमा आन्तरिक उडान हुने र त्यसका लागि आवश्यक सबै तयारी सम्पन्न भइसकेको छ । यान्त्रिक परीक्षण उडान अर्थात् ‘क्यालिब्रेशन फ्लाइट’ सम्पन्न भएसँगै आन्तरिक सेवा आरम्भ गर्नका लागि विमानस्थल तयार भएको हो ।
तर अझै केही प्राविधिक पाटा सल्टाउन बाँकी रहेका कारण अन्तर्राष्ट्रिय उडान सुरु हुन भने समय लाग्ने नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) का प्रवक्ता जगन्नाथ निरौलाले जानकारी दिए ।

कुन कुन सेवा प्रदायकको चासो छ ?
अधिकारीहरूका अनुसार पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट नेपाल बाहिरका गन्तव्यसँग जोड्नका लागि बुद्ध एअरले पहल गरिरहेको छ । बुद्ध एअरले पोखरामा आधारित रहेर नेपाल तथा नेपाल बाहिरका विभिन्न गन्तव्यमा सेवा सञ्चालन गर्न चाहेको छ ।भारतका विभिन्न सहरमा उडान भर्नका लागि उक्त कम्पनीले भारत सरकारसँग अनुमति माग गरेको र भारतबाट अनुमति प्राप्त भएको केही समयमै आफूहरू अनुमति दिनका लागि तयार रहेको क्यानले जनाएको छ ।
‘गन्तव्य मुलुकले अनुमति नदिएसम्म सेवा सुरु गर्न मिल्दैन। भारतले अनुमति दिनासाथ यताबाट दिन समस्या छैन’, उनले भने ।
बुद्ध एअरका प्रवक्ता दीपेन्द्र कर्णका अनुसार तत्काललाई उक्त कम्पनीले पोखरा–बनारस उडान सुरु गर्न चाहेको छ ।
क्रमिक रूपमा पोखरा–दिल्ली अनि पोखरा–देहरादूनसम्म उडान भर्ने योजना पनि उक्त कम्पनीले बनाएको छ । त्यसबाहेक हिमालयन एअरलाइन्स, फ्लाइ दुबई, कतार एअरवेज र नेपाल एअरलाइन्सले नेपालको तेस्रो अन्तर्राष्ट्रिय विमानस्थलबाट सेवा सञ्चालनका लागि चासो देखाएका छन् । त्यस्तै नेपाली कम्पनी श्री एअरलाइन्सले पनि अन्तर्राष्ट्रिय उडानको अनुमति लिएको र उसले पनि पोखराबाट उडान भर्ने इच्छा व्यक्त गरेको बताइएको छ ।
‘यी कम्पनीहरू आधिकारिक रूपमा आएका छैनन्। तर अनौपचारिक छलफलका क्रममा आफूहरू सेवा सुरु गर्न इच्छुक रहेको बताउने गरेका छन्’, निरौलाले भने ।

अन्तर्राष्ट्रिय उडानका लागि समस्या के छ ?
सुरुवाती चरणमा पोखरा विमानस्थलबाट भीएफआर (भिजुअल फ्लाइट रुल्स) उडान मात्रै गर्न मिल्ने क्यानले जनाएको छ । उसका अनुसार पोखरा विमानस्थलको क्यालिब्रेशन डेटा जनवरी ४ मा प्रकाशन गर्ने तयारी गरिएको छ ।  र त्यसको ५६ दिन पछि मात्रै उक्त डेटा ‘म्याचुअर’ हुने र इन्स्ट्रुमेन्ट फ्लाइट रुल्स (आईएफआर) विधिबाट सेवा सञ्चालन गर्न सकिने छ। अधिकारीहरूका अनुसार अन्तर्राष्ट्रिय उडान भीएफआर विधि प्रयोग गरेर गर्न नसकिने भने होइन । तर नयाँ विमानस्थल रहेकाले सेवा प्रदायकहरूले आईएफआरनै कुर्ने परिपाटी रहेकाले समय लाग्न सक्ने आशय निरौलाले व्यक्त गरे ।

अन्य समस्या छन् कि छैनन् ?
पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनका लागि ल्याण्डफिल साइट पुर्ने र रिठ्ठेपानी डाँडा कटान गर्ने कार्य निकै महत्त्वपूर्ण रहेको बताइएको थियो । निरौलाका अनुसार हाल ल्याण्डफिल साइट पुर्ने काम लगभग सम्पन्न भएको छ भने ४० मिटर काट्नुपर्ने डाँडा १८ – १९ मिटर काटिसकिएको छ। ‘यी विषयले विमानस्थल सञ्चालनका लागि वाधा पुग्दैन’, निरौलाले भने।
२५०० मिटर लामो धावनमार्ग रहेको अन्तर्राष्ट्रिय विमानस्थल भए पनि पोखरामा ‘न्यारो बडी’ विमान मात्रै अवतरण गर्न मिल्छ। क्यानका अनुसार त्यहाँ अवतरण हुनसक्ने सबैभन्दा ठूलो एअरबस ए ३२० हो ।
यसबाहेक बोइङ ७३७–७०० सिरिज वा बोइङ ७५७–२०० जस्ता न्यारोबडी विमानका पोखरामा उडानका लागि अनुकूल मानिएको छ । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलसँग प्रतिघण्टा झन्डै ६०० यात्रुहरू व्यवस्थापनको क्षमता रहेको अधिकारीहरू बताउँछन् ।
विमानस्थलका आयोजना प्रमुख विनेश मुनकर्मीले त्यहाँ एकपटकमा ३ वटा अन्तर्राष्ट्रिय विमान एवं ठूलासाना ४–४ वटा गरेर आठ वटा आन्तरिक सेवाका विमान रहन सक्ने बताए ।  
‘तर सबै विमानहरू लामो समय र एकै समय विमानस्थलमा नरहने भएकाले वास्तविक दैनिक क्षमता त्यसको तीन–चार गुणासम्म हुन्छ’, उनले भने । 

संशय
झन्डै सात महिनाअघि सञ्चालनमा आएको नेपालको दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल हालसम्म क्षमता अनुरूप सञ्चालनमा आउन सकेको छैन । गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट केही चार्टर उडानबाहेक साताको तीन दिन जजिरा एअरले उडान गरिरहेको छ । यस्तो अवस्थामा पोखरामा सञ्चालनमा आउन लागेको विमानस्थलको भविष्यलाई लिएर पनि कतिपयले चिन्ता व्यक्त गर्ने गरेका छन् । तर क्यानका प्रवक्ता निरौला भन्छन्,‘अन्य मुलुकमा पनि नयाँ विमानस्थल पूर्ण क्षमतामा चल्न समय लाग्ने गरेको पाइन्छ।’ उनका अनुसार कोभिड महामारीका कारण अन्य मुलुकबाट नेपालमा हुने उडान सङ्ख्या केही घटेको छ ।
‘कोभिड अघि नेपालमा चीनका ४ वटा वायुसेवा प्रदायकले ८ वटा उडान गर्ने गर्थे जुन हाल एक वा दुईमा सीमित छ,’ उनले भने ।
नेपाल आउने ५० प्रतिशत पर्यटक पोखरा जाने हुँदा नवनिर्मित विमानस्थलमा छिट्टै चाप बढ्ने अपेक्षा अधिकारीहरूको छ। ‘५–६ महिना देखि एक वर्ष समय लाग्न सक्छ,” निरौलाले भने ।
 

प्रकाशित मिति: आइतबार, पुस १७, २०७९  १४:१५
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार