पोखरा विमानस्थल भोलिबाट सञ्चालनमा आउँदै 

शनिबार, पुस १६, २०७९

पोखरा । आइतवारबाट सञ्चालनमा आउन लागेको पोखरास्थित नेपालको तेस्रो अन्तर्राष्ट्रिय विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान सुरु गर्न ‘कम्तीमा दुई महिना’ समय लाग्ने देखिएको अधिकारीहरूले बताएका छन् । सुरुमा उक्त विमानस्थलमा आन्तरिक उडान हुने र त्यसका लागि आवश्यक लगभग सबै तयारी सम्पन्न भइसकेको बताइएको छ ।
यान्त्रिक परीक्षण उडान अर्थात् ‘क्यालिब्रेशन फ्लाइट’ सम्पन्न भएसँगै आन्तरिक सेवा आरम्भ गर्नका लागि विमानस्थल तयार भएको हो । तर अझै केही प्राविधिक पाटा सल्टाउन बाँकी रहेका कारण अन्तर्राष्ट्रिय उडान सुरु हुन भने समय लाग्ने नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) का प्रवक्ता जगन्नाथ निरौलाले जानकारी दिए ।

कुन कुन सेवा प्रदायकको चासो छ ?
अधिकारीहरूका अनुसार पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट नेपाल बाहिरका गन्तव्यसँग जोड्नका लागि बुद्ध एअरले पहल गरिरहेको छ । बुद्ध एअरले पोखरामा आधारित रहेर नेपाल तथा नेपाल बाहिरका विभिन्न गन्तव्यमा सेवा सञ्चालन गर्न चाहेको छ ।
भारतका विभिन्न सहरमा उडान भर्नका लागि उक्त कम्पनीले भारत सरकारसँग अनुमति माग गरेको र भारतबाट अनुमति प्राप्त भएको केही समयमै आफूहरू अनुमति दिनका लागि तयार रहेको क्यानले जनाएको छ।
‘गन्तव्य मुलुकले अनुमति नदिएसम्म सेवा सुरु गर्न मिल्दैन। भारतले अनुमति दिनासाथ यताबाट दिन समस्या छैन’ उनले भने ।
बुद्ध एअरका प्रवक्ता दीपेन्द्र कर्णका अनुसार तत्काललाई उक्त कम्पनीले पोखरा(बनारस उडान सुरु गर्न चाहेको छ ।
क्रमिक रूपमा पोखरा–दिल्ली अनि पोखरा–देहरादूनसम्म उडान भर्ने योजना पनि उक्त कम्पनीले बनाएको छ ।
त्यसबाहेक हिमालयन एअरलाइन्स, फ्लाइ दुबई, कतार एअरवेज र नेपाल एअरलाइन्सले नेपालको तेस्रो अन्तर्राष्ट्रिय विमानस्थलबाट सेवा सञ्चालनका लागि चासो देखाएका छन् । त्यस्तै नेपाली कम्पनी श्री एअरलाइन्सले पनि अन्तर्राष्ट्रिय उडानको अनुमति लिएको र उसले पनि पोखराबाट उडान भर्ने इच्छा व्यक्त गरेको बताइएको छ ।

‘यी कम्पनीहरू आधिकारिक रूपमा आएका छैनन्। तर अनौपचारिक छलफलका क्रममा आफूहरू सेवा सुरु गर्न इच्छुक रहेको बताउने गरेका छन्’, निरौलाले भने ।

अन्तर्राष्ट्रिय उडानका लागि समस्या के छ ?
सुरुवाती चरणमा पोखरा विमानस्थलबाट भीएफआर (भिजुअल फ्लाइट रुल्स) उडान मात्रै गर्न मिल्ने क्यानले जनाएको छ । उसका अनुसार पोखरा विमानस्थलको क्यालिब्रेशन डेटा जनवरी ४ मा प्रकाशन गर्ने तयारी गरिएको छ ।  र त्यसको ५६ दिन पछि मात्रै उक्त डेटा ‘म्याचुअर’ हुने र इन्स्ट्रुमेन्ट फ्लाइट रुल्स (आईएफआर) विधिबाट सेवा सञ्चालन गर्न सकिने बताइएको छ । अधिकारीहरूका अनुसार अन्तर्राष्ट्रिय उडान भीएफआर विधि प्रयोग गरेर गर्न नसकिने भने होइन । तर नयाँ विमानस्थल रहेकाले सेवा प्रदायकहरूले आईएफआरनै कुर्ने परिपाटी रहेकाले समय लाग्न सक्ने आशय निरौलाले व्यक्त गरे ।

अन्य समस्या छन् कि छैनन् ?
पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनका लागि ल्याण्डफिल साइट पुर्ने र रिठ्ठेपानी डाँडा कटान गर्ने कार्य निकै महत्त्वपूर्ण रहेको बताइएको थियो ।
निरौलाका अनुसार हाल ल्याण्डफिल साइट पुर्ने काम लगभग सम्पन्न भएको छ भने ४० मिटर काट्नुपर्ने डाँडा १८ – १९ मिटर काटिसकिएको छ ।  ‘यी विषयले विमानस्थल सञ्चालनका लागि वाधा पुग्दैन,’ निरौलाले भने ।
२५०० मिटर लामो धावनमार्ग रहेको अन्तर्राष्ट्रिय विमानस्थल भए पनि पोखरामा ‘न्यारो बडी’ विमान मात्रै अवतरण गर्न मिल्छ । क्यानका अनुसार त्यहाँ अवतरण हुनसक्ने सबैभन्दा ठूलो एअरबस ए ३२० हो ।
यसबाहेक बोइङ ७३७–७०० सिरिज वा बोइङ ७५७–२०० जस्ता न्यारोबडी विमानका पोखरामा उडानका लागि अनुकूल मानिएको छ । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलसँग प्रतिघण्टा झन्डै ६०० यात्रुहरू व्यवस्थापनको क्षमता रहेको अधिकारीहरू बताउँछन् ।
विमानस्थलका आयोजना प्रमुख विनेश मुनकर्मीले त्यहाँ एकपटकमा ३ वटा अन्तर्राष्ट्रिय विमान एवं ठूलासाना ४–४ वटा गरेर आठ वटा आन्तरिक सेवाका विमान रहन सक्ने बताए ।   
‘तर सबै विमानहरू लामो समय र एकै समय विमानस्थलमा नरहने भएकाले वास्तविक दैनिक क्षमता त्यसको तीन–चार गुणासम्म हुन्छ’, उनले भने ।

संशय
झन्डै सात महिनाअघि सञ्चालनमा आएको नेपालको दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल हालसम्म क्षमता अनुरूप सञ्चालनमा आउन सकेको छैन । गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट केही चार्टर उडानबाहेक साताको तीन दिन जजिरा एअरले उडान गरिरहेको छ । यस्तो अवस्थामा पोखरामा सञ्चालनमा आउन लागेको विमानस्थलको भविष्यलाई लिएर पनि कतिपयले चिन्ता व्यक्त गर्ने गरेका छन् । तर क्यानका प्रवक्ता निरौला भन्छन्, ‘अन्य मुलुकमा पनि नयाँ विमानस्थल पूर्ण क्षमतामा चल्न समय लाग्ने गरेको पाइन्छ ।’
उनका अनुसार कोभिड महामारीका कारण अन्य मुलुकबाट नेपालमा हुने उडान सङ्ख्या केही घटेको छ ।
‘कोभिड अघि नेपालमा चीनका ४ वटा वायुसेवा प्रदायकले ८ वटा उडान गर्ने गर्थे जुन हाल एक वा दुईमा सीमित छ’, उनले भने ।
नेपाल आउने ५० प्रतिशत पर्यटक पोखरा जाने हुँदा नवनिर्मित विमानस्थलमा छिट्टै चाप बढ्ने अपेक्षा अधिकारीहरूको छ । ‘५–६ महिना देखि एक वर्ष समय लाग्न सक्छ’, निरौलाले भने ।

भोलि उद्घाटन
पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको भोलि आइतबार उद्घाटन हुने भएको छ । देशकै प्रमुख पर्यटकीय गन्तव्य पोखरामा निर्माण भएको विमानस्थलको देश बाहिरसमेत सन्देश दिनका लागि अङ्ग्रेजी नयाँवर्षका अवसरमा उद्घाटन गर्न लागिएको हो । विमानस्थलको प्रधानमन्त्री पुष्पकमल दाहाल‘प्रचण्ड’ले उद्घाटन गर्नेछन् । 
पोखरा महानगरपालिकाले आज आयोजना गरेको पत्रकार सम्मेलनमा विमानस्थल उद्घाटन समारोहको सम्पूर्ण तयारी सकिएको जनाएको छ । उद्घाटन समारोहमा जनसहभागिता, प्रचारप्रसार र ‘सेलिब्रेशन’को जिम्मा महानगरले लिएको छ । समारोहमा जनसहभागिता गराइने महानगर प्रमुख धनराज आचार्यले जानकारी दिए । प्रचारप्रसारका लागि सहरका विभिन्न स्थानमा स्वागत गेट राखिएका छन् ।
महानगर प्रमुख आचार्यले भने, “विमानस्थल निर्माण सम्पन्न भएर उद्घाटन समारोह पोखराका लागि उत्सव हो । पोखरेलीको साथ र सहयोगबाट लामो प्रतिक्षापछि निर्माण भएको विमानस्थलको उद्घाटन समारोहलाई भव्य बनाउने छौँ, बेलुका घरघरमा दीपावली गर्नका लागि महानगरवासीमा आग्रह गरेका छौँ ।”
पोखरा महानगरपालिकाले विमानस्थल उद्घाटनअघि पोखराको अमरसिंहचौरबाट विभिन्न जातजातिको झाँकी, मौलिक वेषभूषासहितको र्‍यालीको आयोजना गरिने जनाएको छ । त्यसैगरी विमानस्थलका परिकल्पनाकार तत्कालीन गण्डकी अञ्चलका अञ्चलाधीश शङ्करराज पाठकलाई रथारोहणसहित नागरिक अभिनन्दन गरिने महानगर प्रमुख आचार्यले बताए । 
अर्का परिकल्पनाकार इञ्जिनीयर पदमबहादुर खत्री देश बाहिर रहेकाले उपस्थित गराउन नसकेको र उनीहरुलाई महानगरकोतर्फबाट नागरिक अभिनन्दन गरिने महानगर प्रमुख आचार्यले बताए । 
पोखरा अन्तर्राष्ट्रिय विमानस्थल नागरिक उड्डयन कार्यालयका निर्देशक विक्रम गौतमले विमानस्थल उद्घाटन कार्यक्रमलाई भव्य बनाउन महानगरले अपनत्व लिएकोमा पोखरा विमानस्थलले पोखराको मात्र नभई देशकै समुन्नतिको ढोको खोल्ने बताए। 
निर्देशक गौतमका अनुसार विभिन्न वायुसेवा कम्पनीले अन्तर्राष्ट्रिय उडानका लागि चासो दिएको बताए । अन्तर्राष्ट्रिय उडानका लागि केही समय लाग्ने उनको भनाइ छ । अन्तर्राष्ट्रिय विमानस्थल दैनिक १८ घण्टासम्म सञ्चालनको लक्ष्य राखिएको उनले बताए । 
निर्देशक गौतमले भने, “कति ‘विजेनश’ प्राप्त हुन्छ त्यसका आधारमा विमानस्थल सञ्चालन गर्ने हो । हामी सन् २०२३ फेब्रुअरीदेखि दैनिक १८ घण्टासम्म सञ्चालन गर्न सकिन्छ भन्नेमा छौँ ।”
नेपालको निजी विमान सञ्चालक कम्पनी बुद्ध एयरले विमानस्थल उद्घाटनका दिनमा भारतको बनारससम्म उडानका लागि देशभित्र सबै प्रक्रिया पूरा गरे पनि भारतबाट अनुमति प्राप्त नभएकाले पहिलो दिन अन्तर्राष्ट्रिय उडान हुन नसकेको गौतमको भनाइ छ । 
मित्रराष्ट्र चीनको एक्जिम बैंकको २२ अर्ब रुपैयाँ सहुलियतपूर्ण ऋण र अनुदान सहयोगमा विमानस्थल निर्माण गरिएको हो । सो रकममध्ये २५ प्रतिशत रकमको ब्याज नलाग्ने र बाँकीको वार्षिक दुई प्रतिशतले ब्याज रकम भुक्तानी गनुपर्ने पोखरा अन्तर्राष्ट्रिय विमानस्थल प्राधिकरणले जनाएको छ ।  विसं २०३२ मा विमानस्थलका लागि भनेर पहिलोपटक तीन हजार १०० रोपनी जमिन अधिग्रहण गरिएको थियो । जमिन अधिग्रहणको चार दशक पछि निर्माण प्रक्रिया सुरु भएको हो ।

प्रकाशित मिति: शनिबार, पुस १६, २०७९  १७:३३
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार